समाचार

बाँकेको नरैनापुर क्षेत्र ‘हटस्पट’ घोषणा : आवतजावत बन्द, चारै नाका सिल

नेपालगञ्ज, ५ जेठ । सोमबार बाँकेको नरैनापुर गाउँपालिकाका ४७ जनामा एकैदिन कोरोना पोजिटिभ भेटिएपछि नरैनापुर क्षेत्रलाई ‘हटस्पट’ घोषणा गरिएको छ ।

बाँकेमा कुल कोरोना संक्रमित संख्या ८१ जना पुगेका छन्, जसमध्ये नरैनापुर क्षेत्रका मात्र ५५ जना रहेका छन् । आइतबार २५ बर्षीय एक युवकको कोरोनाबाट मृत्यु भएको थियो ।मृतक युवासहित भारतबाट नेपाल प्रवेश गरेका व्यक्तिको पीसीआर परीक्षण गर्दा यसअघि यहाँका आठ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ती मध्ये तीन जना दीपेन्द्र प्राथमिक विद्यालयकै क्वारेन्टाइनमा थिए ।

बाँकी ८ जना दाङ जिल्लाको आइसोलेसनमा राखिएको छ । नरैनापुरको क्वारेन्टाइनमा अहिले ३८ जनालाई राखिएको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिनुभयो ।उनीहरु पनि दीपेन्द्र प्रथामिक विद्यालयबाट अन्यत्र राखिएको अध्यक्ष शाहले बताउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेमा सोमबार ४७ जना नागरिकमा थप संक्रमण पुष्टि भएको जनाएको छ ।

नरैनापुर क्षेत्रका २ सय ७३ को स्वाब संकलन गरी भेरी अस्पतालमा ल्याइएको थियो । जसमध्ये १ सय ९२ को परीक्षण गर्दा ४६ पुरूष र एक महिलामा कोरोना पोजिटिभ पाइएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताउनुभयो ।

सोमबारसम्मको रेकर्डअनुसार प्रदेश ५ मा १ सय ५९ जनामा कोरोना संक्रमण भैसकेको छ । जसमा बाँकेको नरैनापुरमा एक जनाको आईतबार मृत्यु भैसकेको छ ।कोरोनाबाट निधन भएको युवकको सम्पर्कमा आएका र थप अन्य कोरोना संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिको स्वाब संकलन गरी परीक्षण भएका मध्ये आज थप ४७ जनामा कोरोना देखिएको हो ।

एक व्यक्तिको निधनसँगै कोरोना संक्रमितहरुको संख्या बढ्दै जाँदा नरैनापुरलाई ‘हटस्पट’ घोषणा गरिएको नरैनापुर गाउँपालिकाकाका स्वास्थ्य संयोजक मोइन खाँँ बताउनु हुन्छ । जम्मा परीक्षण गरिएकामध्ये बाँकी ८१ जनाको स्वाब रिर्पोट आउँन बाँकी रहेको भेरी अस्पताल बताउँछ ।

नरैनापुर क्षेत्रमा बाँके प्रशासन र सुरक्षा निकायले उच्च सतर्कता अपनाइ नेपाल प्रहरी र सशस्त्र प्रहरी सो क्षेत्रमा व्यापक मात्रामा परिचालन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताउनुभयो ।

नरैनापुर क्षेत्रलाई चारैतिरबाट आवतजावत बन्द गरी संक्रमण न्यूनीकरणका लागि उच्च सुरक्षा सतर्कता अपनाइएको प्रजिअ खड्काले बताउनुभयो । यसअघि पनि नरैनापुरका आठ जना कोरोना संक्रमितलाई दाङको बेलझुण्डीस्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा लगिएको थियो ।नेपालमा अहिले कोरोना संक्रमितको संख्या ३ सय ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटा बताउनुभयो ।

Related Articles

Back to top button
Close