समाचार

राहतमा रोइलो : डाक्टर-इन्जिनियर परिवारले पनि छाडेनन् १५ केजी चामल ।

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका ४ का नित्यानन्दप्रसाद सिंह पिता पुर्खाकै समयदेखि बस्तीका समपन्‍न व्यक्ति हुन् । साविकको कोईलाडी गाविसका अध्यक्ष पनि भइसकेका छन् उनी ।

उनका दुई छोरामध्ये एक डाक्टर र अर्का ईन्जिनियर छन् । गाउँमा उनको विशाल घर छ । सदरमुकाम राजविराजमा उनका २ वटा घर छन् । सप्तरीको कंचनरुप नगरपालिकाको बलुवामा घर र खेतीका लागि कामत छ उनको । तलब दिएर उनले घरमा काम गर्ने मानिसहरु राखेका छन् ।

सम्पन्‍न व्यक्ति उनी वडा कार्यालयद्वारा अति विपन्‍न र दैनिक ज्यालादारीको मजदुरका लागि वितरण गरिएको १५ किलो चामलसहितको राहत बुझेका छन् । उनको नामको राहत भाई गिरिश सिंहले वडा कार्यालयमा भरपाई गरी लगेका छन् ।‘म झूठो बोल्दिँन । हो, मैले राहत लिएँ’ सिंहले भने,‘मैले राहत नलिएको भए उनीहरु खाइहाल्थे । त्यही भएर मेरो नोकर गएर राहत ल्याएँ, म गएको थिइन्ँ ।’

‘मेरो नाम किन राख्यो सूचीमा,’ प्रशन गर्दे उनले भने । तिलाठी कोईलाडी ४ का वडाध्यक्ष गोपी मण्डलले भने,‘उनले(नित्यानन्द सिंहले) ५० रुपैयाँ भएपनि लिन्छु भने अनि नाम राख्नुपर्यो,आफू आउनु भएन नोकरलाई पठाउनुभयो,उहाँको भाईले छाप लगाएर नोकरले राहत लिएर गयो ।’नित्यानन्दप्रसादकी आमा कुन्तीदेवी सिंहको पनि राहत सूचीमा नाम छ । उनको नामको राहत उनकै घरमा काम गर्ने झबी मण्डलले बुझेर लगेको वडा कार्यालयको भरपाईमा देखिन्छ ।

राजपाका युवा नेता सुरजितकुमार सिंहको राहत उनकै घरमा काम गर्ने हरिनारायण मण्डलले बुझेर गएका छन् । ‘म गएको होइन्,मेरो नामको राहत मेरो घरमा काम गर्नेलाई जिम्मा लगाइदियो ल्याइसकेपछि मैले वडाकै एक बिकलाङ परिवारलाई गएर दिए,’ सुरजितले भने ।अति विपन्न र दैनिक ज्यालादारीका मजदुरहरुले पाउने राहतको सूचीमा तिलाठी कोईलाडी ४ मा अन्य समपन्‍न व्यक्तिहरु पनि परेका छन् । तिलाठी कोईलाडी गाउँपालिका-४ स्थित कोईलाडी बस्तीमा राहत लिनेहरुको सूचीमा अधिकांश सम्पन्‍न व्यक्तिहरुको नाम छ ।

अति विपन्न,विपन्‍न र सुविधा समपन्‍न परिवारहरुको बसोबास रहेको यो बस्तीमा केही परिवार अझैपनि धन सम्पत्तिका नाममा जिल्लामै कहलिएका व्यक्तिहरु हुन् । तर ती व्यक्तिहरु अति विपन्‍न र दैनिक ज्यालादारीका व्यक्तिहरुले पाउने राहत सूचीमा आफ्नो नाम लेखाउँदै १५ किलो चामल राहत बुझेका हुन् ।

कोबिड–१९ को संक्रमणलाई रोक्न लकडाउन गरिएपछि स्थानीय तहमाथि राहत वितरणको दबाब बढेको थियो । प्रदेश सरकार र स्थानीय तहको लगानीमा अति विपन्‍न र दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुलाई राहत दिने गरी टेण्डरहरु भए । सप्तरी जिल्लाका १८ स्थानीय तह मध्ये अधिकांशले अहिले राहत वितरण गरिरहेका छन् ।

तर राहत निर्देशिका विपरीत केही स्थानीय तहमा समपन्‍न परिवारहरुलाई पनि राहत दिइएको पाइएको हो । सम्पन्‍न व्यक्तिहरुलाई राहत दिएर स्थानीय तहले अति विपन्‍नको अधिकार मात्र खोसेका छैनन् राहत सम्बन्धी निर्देशिकाको समेत खिल्ली उडाउने काम गरेका छन् ।राहत वितरणलाई प्रभावकारी बनाउन सरकारले हरेक वडामा वडा अध्यक्षको संयोजकत्वमा राजनीतिक दलसुरक्षाकर्मी सम्मलित समिति बनाउन निर्देशन दिएको थियो । उक्त समितिले निर्णय गरेको व्यक्तिलाई राहत दिने निर्देशिकामा उल्लेख छ ।

यसैगरी राहत नपाउनुपर्ने व्यक्तिको नाम सिफारिस गरिए सिफारिस गर्ने व्यक्ति कारबाहीको भागिदार हुने समेत सरकारले स्पष्ट पारिसक्दा तिलाठी कोईलाडी ४ मा बस्तीलाई नै महिनौसम्म गुजारा चलाउन सक्ने करोडपतिहरु लाई राहत दिइएको छ ।

‘धेरैजनाको राहत नोकरले बुझेर लगेका छन्,’ तिलाठी कोईलाडी गाउँपालिका-४ का वडाध्यक्ष गोपी मण्डलले भने,‘समपन्‍न व्यक्तिहरु पनि राहतका लागि झगडा गर्न थालेपछि समितिले उनीहरुको नाम पनि सिफारिस गर्यो,हामीले राहत दियौ ।’वडामा १ हजार ४ सय ४६ परिवारलाई राहत दिइएको छ ।

‘सम्पन्‍न व्यक्तिहरुलाई राहत दिइएको हो भने त्यो अनियमितता हो,’ सहायक प्रमुख जिल्ला अधिकारी आनन्द ठाकुरले भने । जिल्ला समन्वय समिति सप्तरीका संयोजक प्रभाकर यादवले समपन्न व्यक्तिहरुलाई राहत दिनु अनियमितता भएको बताए ।कोईलाडीमा मात्र होइन्,अन्य स्थानीय तहहरुमा पनि मतदाता र आफ्ना पक्षका मान्छे भन्दै समपन्‍न व्यक्तिहरुलाई राहत दिने कार्य बढेको छ । कुनैपनि अनुगमन नभएको मौकमा स्थानीय तहका जनप्रतिनिधि राहत आफूखुसी वितरण गरिरहेका छन् ।

समितिमा रहेका दलका प्रतिनिधीहरु पनि आफ्नो कोटा भन्दै आफू निकटमा मानिसहरुलाई निर्देशिका विपरीत राहतको सूचीमा नाम लेखाउने गरेका छन् ।कान्तिपुर बाट

Related Articles

Back to top button
Close