समाचार

ललितपुरकी कञ्चनलाई बेलायतमा शाही सम्मान

ललितपुर जावलाखेल घर भई हाल अमेरिकामा बस्दै आएकी नेपाली चेली कञ्चन अमात्यले बेलायतको शाही सम्मानका साथ मानवता सेवा पुरस्कार प्राप्त गरेकी छन् । उनले मानव सेवामा गरेको कामको मूल्याङ्कन गर्दै बेलायती शाही परिवारले उक्त पुरस्कार दिएको हो ।

यो सम्मान पाउने उनी सम्भवत: पहिलो नेपाली युवती हुन् । गत वर्ष २०१९ मा अमात्य डायना अवार्ड रोल अफ अनरबाट सम्मानित भएकी थिइन् । उक्त पुरस्कार अमात्यसहित अन्य १९ वटा देशका व्यक्तिहरूलाई पनि दिइएको छ । जसमा बेलायत, क्यानडा, मलेसिया, नाइजेरिया, तान्जानिया र भारतलगायत छन् ।

उक्त पुरस्कार ड्युक अफ क्याम्ब्रिज प्रिन्स विलियम र डायनाका भाइ लर्ड एर्ल स्पेन्सरले वितरण गरेका थिए । अमात्य शीर्ष २० उत्कृष्ट युवाहरूको सूचीमा छनौटमा परेकी थिइन् । उनीहरूले समुदायको सेवाका लागि नयाँ पुस्तालाई प्रेरणा र परिचालन गर्ने आफ्नो क्षमता प्रदर्शन गरेका थिए ।

उक्त पुरस्कार कञ्चनकी आमा कृष्ण अमात्यले ग्रहण गरिन् । पुरस्कार ग्रहण गरेपछि आमा कृष्ण अमात्यले भनिन्, ‘एक आमाको रूपमा एउटा बच्चा (कञ्चन) पाएकोमा अत्यन्त गर्व गर्छु ।’

कञ्चनले भनिन्, ‘अन्तर्राष्ट्रिय आमा दिवसको अवसरमा पाएको यो पुरस्कार म विश्वभरिका सबै आमाहरूलाई र विशेषगरी मेरी आमालाई समर्पण गर्दछु जो मेरो जीवनको ज्योति हुन् र जसले सबै कठिनाइहरूको बाबजुद पनि मेरो उत्तम पालनपोषण गरिन् ।’

Related Articles

Back to top button
Close