खेलकुद

बेलन डि’अरले इनिएस्टासँग किन माग्यो माफी

बार्सिलोना — आन्द्रेस इनिस्टा लजालु गाउँले केटा थिए, जसलाई आफ्ना आमाबुबा सधैं नजिक चाहिन्थ्यो । तर यिनै खेलाडी विश्व फुटबलका एक सफल र महान् खेलाडी बने । जतिबेला उनले खेल्न थाले, त्यतिबेला उनको खेल हेरेर अहिलेको स्थिति आत्मसात् गर्नेछ भन्नेमा कुनै शंका थिएन ।

सोमबार मात्रै उनी ३६ वर्षका भए । उनले बार्सिलोनाका लागि १६ वर्ष खेले । उनले खेलेको समयलाई बार्सिलोनाको इतिहासमै सबैभन्दा सफल मानिन्छ ।त्यसक्रममा बार्सिलोनाले नौपल्ट स्पेनी लिग उपाधि मात्र जितेन, चारपल्ट युरोपेली च्याम्पियन्स लिग पनि हात पारेको थियो । किशोर इनिस्टाले खेलेको पहिलोपल्ट देख्दा पेप ग्वार्डिओला पनि चकित परे र भनिहाले, ‘यो केटोले हामी सबैलाई संन्यास लिन बाध्य पार्नेछ ।’ स्पेनी टिमका प्रशिक्षक रहेका लुइस इनरिके भने मध्यपंक्तिका यी जादुयी खेलाडी इनिस्टालाई ह्यारी पोटरको तुलना गर्दै उनको खुबै प्रशंसा गर्थे ।

स्पेनका लागि पनि इनिस्टाको प्रदर्शनमा कमी रहेन । सन् २०१० मा स्पेनले अतिरिक्त समयमा नेदरल्यान्ड्सलाई हराएर पहिलोपल्ट विश्वकप जितेको थियो र फुटबल विरासतका लागि धनी स्पेनले यो खेलमा जितेको पहिलो ठूलो सफलता पनि थियो । त्यसमा निर्णायक गोल गर्ने खेलाडी उनी नै थिए । दक्षिण अफ्रिकाका जोहानेसबर्ग सकर सिटी स्टेडियममा प्राप्त त्यो जितले स्पेनी फुटबल इतिहासलाई सधैंका लागि परिवर्तन गरेको थियो र उनले सबैको प्रशंसा बटुले ।

त्यसैले त जति जतिबेला बार्सिलोनाले रियल म्याड्रिड र इस्पनयोल जस्ता विरोधी टिमको मैदानमा खेल्ने गर्छ, त्यतिबेला पनि पुराना प्रतिद्वन्द्वीता बिर्सेर तिनका समर्थकले उठेर इनिस्टाको अभिवादन गर्ने गर्छन् । विश्वकप फाइनलमा गरेको त्यो गोल उनको खेलजीवनको सबैभन्दा निर्णायक मोड थियो नै, त्यो भन्दा पनि ठूलो त उनले त्यस क्रममा गोललाई समर्पण गरेको क्षण पनि थियो । इनिस्टाले त्यो गोल एक फाइनलको एक वर्षअगाडि मात्र मृत्यु भएका डानी जारक्वेप्रति समर्पित गरेका थिए ।

त्यो क्षणले कसको मात्र मन छोएन र ? जारक्वे अचानक सबैलाई स्तब्ध पार्दै मृत्युवरण गरेका थिए । इनिस्टा आफैं प्रतियोगिता अगाडि एकपछि अर्को चोटको शृंखला बोकेर मानसिक दबाबमा थिए । उनी कति धेरै मानसिक रूपमा कमजोर थिए भने आफ्नो आमाबुबालाई आफ्नो नजिक सुत्न भन्थे, जसरी आफू १० वर्ष छँदासम्म सुत्नु अगाडि तिनै आमाबुबा आफ्नो नजिक चाहिन्थ्यो । यो बानी बार्सिलोनाको एकेडेमी जानुअघिसम्म कायम नै थियो ।

आफ्ना प्रशिक्षक ग्वार्डिओला र केही साथी चिकित्सकको मद्दतले उनी यो मानसिक दबाबबाट बल्लतल्ल मुक्त हुन सफल रहे । आखिरमा तिनै इनिस्टाले प्रशिक्षकका रूपमा बार्सिलोना पहिलोपल्ट सम्हाल्दा आत्तिएका ग्वार्डिओलालाई मानसिक रूपमा दह्रो हुन सहयोग गरेका थिए । त्यो सिजन बार्सिलोनाले च्याम्पियन्स लिगको उपाधि नै जित्यो, फाइनल पुग्नु अगाडि इनिस्टाले इन्ज्युरी समयमा चेल्सीविरुद्ध निर्णायक र उत्कृष्ट गोल गरेका थिए ।

त्यो कति सनसनीपूर्ण र रोमाञ्चक क्षण थियो भने त्यसको ९ महिनापछि बार्सिलोनामा नयाँ जन्मदर अचानक ५० प्रतिशतले बढेको थियो । गत साता त्यही गोल अवसरको खुसी मनाउन उनले त्यतिबेला जन्मेका केही बच्चाहरू भेटेका थिए । सर्जियो रामोसले इनिस्टा वास्तवमै कस्ता छन् भनेर खुबै सटिक टिप्पणी गरेका छन् । उनी भन्थे, ‘प्रत्येक आमाले आफ्नी छोरीको प्रेमिका जस्तो हुनुपर्छ भनेर सोच्छिन्, इनिस्टा ठ्याक्कै त्यस्तै छन् ।’

सन् २०१८ मा बार्सिलोना र स्पेनका लागि केही अविस्मरणीय क्षण बिताएर उनी लागे जापानतिर । उनले त्यहाँ भिसेल कोबेका लागि खेले । अहिले पनि खेलिरहेका छन् । त्यहाँ उनको छवि छ, नयाँ पुस्ताका खेलाडीलाई उनकै जस्तो जीवन पछ्याउन लायक व्यक्तित्वको । इनिस्टा भन्छन्, ‘म नयाँ युवा खेलाडीसँग आफ्नो अनुभव साट्न चाहन्छु । यो मेरो जिम्मेवारी पनि हो । त्यसै त म जापान आएको पनि हो । म नियमित नयाँ खेलाडीसँग कुराकानी गरिरहेको हुन्छु ।’

इनिस्टाको यस्तो अद्वितीय खेलजीवनमा एउटा तथ्य भने अपुग छ । त्यो हो, प्रतिष्ठित बालोन डे’अर पुरस्कार । जतिबेला उनले बार्सिलोना छोड्ने निर्णय गरेका थिए, त्यति बेला बालोन डे’अर प्रदान गर्ने फ्रान्स फुटबलले पछुतो पनि मानेको थियो । यसक्रममा माफी पनि मागेको थियो । फ्रान्स फुटबललाई खासमा आफूले गल्ती गरेको अनुभव पनि थियो । त्यसैले उसले सम्पादकीयमा लेखेको थियो, ‘हामीलाई माफ गर, इनिस्टा ।’आन्द्रेस इनिस्टाको जन्म सन् १९८४ को मे ११ मा भएको थियो । जन्मदिनको अवसरमा रोयटर्सले उनको खेलजीवन एकपल्ट फेरि फर्केर हेर्ने प्रयास गरेको छ । कस्ता थिए त यी खेलाडी ?

Related Articles

Back to top button
Close