स्वास्थ्य/ जिबनशैली

तीन औषधीको संमिश्रणले कोभिड–१९ का बिरामीलाई चार दिनमा नै निको बनाउने शोधकर्ताहरुको दाबी

तीनवटा एन्टीभाइरल औषधी र एउटा इम्युन सिस्टम बुस्टर (प्रतिरोधात्मक शक्ति बढाउने) को संमिश्रणले कोरोनाभाइरसका संक्रमितहरुलाई चाँडो निको हुन सहयोग गर्ने हङकङका डाक्टरहरुले बताएका छन् । उनीहरुले यसलाई थप परीक्षण गर्न आवश्यक रहेको बताए पनि यो कोभिड–१९ का बिरामीका लागि उपचारको नयाँ सम्भावना हुनसक्ने उनीहरुको भनाइ छ ।

हाल अमेरिकाले प्रयोगात्मक एन्टीभाइरल औषधी रेम्डेसिभिरलाई मात्र उपचारका लागि मान्यता दिएको छ । यसले पनि बिरामीको निको हुने समयलाई घटाउँछ तर यसको उपलब्धता निकै कम रहेको छ ।हङकङ विश्वविद्यालयका डा. क्वोक युङ युएनका अनुसार उनी र उनको सहकर्मीहरुले एचआईभीको औषधी रिटोनाभिर र लोपानिभिरसँगै सामान्य एन्टीभाइरल औषधी रिबाभिरिन र मल्टिपल स्क्लेरोसिसको औषधी बेटा इन्टरफेरोनको संमिश्रणलाई प्रयोग गरेका थिए ।

प्रयोगमा भाग लिएका बिरामीहरुमा भाइरसको मध्यम लक्षणहरु देखिएका थिए भने उनीहरुलाई संक्रमण पुष्टि भएको सात दिनभित्र उपचार सुरु गरिएको थियोसंक्रमणको सुरुवाती चरणमा नै उपचार गर्दा चाँडो निको हुनसक्ने डाक्टरहरु बताउँछन् ।युएनको टोलीले केही बिरामीहरुलाई ‘कालेट्रा’ ब्रान्डको एचआईभी रोगको औषधी मात्र दिएका थिए । अरुलाई रिटोनाभिर–लोपानिभिर र एन्टीभाइरल औषधी रिबाभिरिन र मल्टिपल स्क्लेरोसिसको औषधी बेटा इन्टरफेरोनको इन्जेक्सनको संमिश्रण दिइएको थियो ।

औषधीको संमिश्रण दिइएका बिरामीहरु औसतमा सात दिनपछि निको भएका थिए । एचआईभीको मात्र औषधी दिइएका बिरामीहरु औसतमा १२ दिनपछि निको भएको लान्सेट मेडिकल जर्नलमा प्रकाशित छ ।

साइड इफेक्ट कमऔषधीको संमिश्रण दिइएका बिरामीहरुले चार दिनमा नै स्वस्थ अनुभव गर्न थालेको अध्ययनमा भनिएको छ । ‘एचआईभीको औषधीमात्र दिइएका भन्दा तीन औषधीको संमिश्रण दिइएका न्यून र मध्यम लक्षण भएका बिरामीहरुको लक्षणहरु चाँडै हटेको थियो भने उनीहरुको अस्पताल बसाईको अवधि पनि कम भएको थियो,’ शोधकर्ताहरुले लेखेका छन् ।

यसको साइड इफेक्ट पनि कम रहेको उनीहरुको दाबी छ ।क्यालिफोर्निया विश्वविद्यालयमा कोरोनाभाइरसको उपचारमा संलग्न रहेका डा. पिटर चिन होङ यो अध्ययनले महामारीमा नयाँ आशा दिएको टिप्पणी गर्छन् । ‘यो अध्ययन निकै आशालाग्दो छ किनभने यसले रेम्डेसिभिर मात्र होइन उपचारका लागि अन्य विकल्प पनि छन् भनेर देखाउँछ,’ उनी भन्छन् ।

‘यी औषधीहरुको ट्रयाक रेकर्ड पनि सुरक्षित रहेको छ,’ उनी भन्छन्, ‘यो सहजरुपमा उपलब्ध पनि छ ।’अमेरिका डाक्टर तथा फार्मासिस्टहरु अझै फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसनले अनुमति दिएको रेम्डेसिभिर कहिले उपलब्ध हुन्छ भन्नेमा अन्यौलमा रहेका छन् ।

चिन होङले लान्सेन्टको अध्ययनले कोभिड–१९ को उपचारका लागि अन्य सम्भावनाहरु पनि रहेको देखाएको जिकिर गरे । ‘अचुक हतियार नफेला परेसम्म हामीले यसलाई प्रयोग गर्न सक्छौँ,’ उनले भने । यतिबेला डाक्टरहरुले विभिन्न औषधीका संमिश्रणलाई कोभिड–१९ को उपचारमा प्रयोग गरिरहेका छन् ।

: सीएनएन

Related Articles

Back to top button
Close