समाचार

७ महिनाको बच्चालाई हावाहुरीले उडाएर मकैबारीमा पुर्‍याएपछि…

बिहीबार चलेको हावाहुरीले एक बच्चा उडायो । घरको आँगनमा सुतिरहेका बालकलाई हावाहुरीले उडाएको हो । जिल्लाको त्रियुगा नगरपालिका -७ सितलपुरका एक ७ महिने बालकलाई हावाहुरीले उडाएर नजिकैको मकैबारी पुर्‍याएको हो ।स्थानीय रामविकास नेपालीका ७ महिनाका छोरा विपिन्द्र नेपालीलाई हावाले उडाएर ५० मिटर भन्दा परकाे बारीमा खसाले पनि उनलाई केही नभएको बाबु रामविकासले बताए । ‘हेर्दाहेर्दै बाँसको कोरामा सारीको झोलुङ्गोमा सुतिरहेको बच्चासहित टिनको छानो हावामा आकाशमै उडिरहेको देखियो ।

घरको छानोको एक पाखा २० मिटरको दुरीमा खस्यो र बच्चा भएको पाखो ५० मिटरको दुरीमा हावामै उडिरहेको देखियो’, ‘फिल्मी शैलीमा टिनले छाएको घरसहित छोरा हावामा उडेपछि बच्चा भएकोले हामी कुदेर गयौं, टिनको छानो एक ठाउँमा ठप्प रोकिएपछि बच्चा उछिट्टिएर मकैबारीमा पुग्दा दुर्घटना हुनबाट जोगियो’ नेपालीले भने ।आमाबुबा घरको अन्य काममा व्यस्त रहेका बेला आएको हावाहुरीले टिनको छानोसहित बालक उडाएको थियो । टिनले छाएको घरको कोरामा बाँधिएको साडीको झोलुङ्गोमा सुतिरहेको बच्चा हावाहुरीले उडाएको त्रियुगा नगरपालिका -७ का वडाध्यक्ष भिमबहादुर पुलामी मगरले पुष्टी गर्नुभयो ।

हावाले उडाएका बालकको आँखा, नाक र कानमा सामान्य चोट लागेको छ, वडाध्यक्ष मगर बताउनुभयो । उहाँका अनुसार हावाहुरीले घर उडाउँदा एक लाख बढीको क्षति भएको पाइएको छ ।यस्तै हावाहुरीले त्रियुगा, कटारी र चौदण्डीगढी नगरपालिकाका करिब तीन दर्जन बढी घरका टिनको छानो उडाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हावाहुरीका कारण १५ लाख बढीको क्षति भएको छ । त्यस्तै, चौदण्डीगढी नगरपालिका -४ बसाहका गणेश बहादुर घिमिरेको घर नजिकैको सिमलको रुख ढलेर गोठमा खस्दा एक गाई समेत मरेको छ ।

Related Articles

Back to top button
Close