समाचार

भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडक खोल्यो, लकडाउनकै बीच उद्घाटन

२६ वैशाख । यतिखेर सबैको ध्यान कोरोना भाइरस महामारीतिर गइरहेको वेला भारतले भने नेपाली भूमि लिपुलेक हुँदै मानसरोबर जाने सडकको उद्घाटन गरेको छ ।

नेपालको दार्चुला जिल्लामा पर्ने चीन, भारत र नेपाल जोड्ने त्रिदेशीय विन्दू लिपुलेकबाट भारतले एकलौटी ढंगले सडक खुलाएको हो । यतिखेर नेपाल र भारतमा लकडाउन जारी छ । यसैबीच लिपुलेक हुँदै चीनको तिब्बतस्थित धार्मिकस्थल मानसरोवर र कैलाश जाने सडक मार्गको आज (शुक्रबार) भारतीय रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरेका छन् । उनले दिल्लीबाटै भिडियो कन्फरेन्समार्फत सो मार्गको उद्घाटन गरेकाे बताएका छन् ।

लिपुलेक हुँदै मानसराेबर जाने मार्गकाे उद्घाटन गर्दै भारतीय रक्षामन्त्री सिंह
सडक उद्घाटनपछि रक्षामन्त्री सिंहले आफ्नो ट्विटरमा उक्त उद्घाटनका तस्वीर राखेका छन् । सिंहले उक्त सडक निर्माण गरेर राम्रो काम गरेको भन्दै भारतको बोर्डर रोड अर्गनाइजेसन (बीआरओ) लाई धन्यवादसमेत दिएका छन् ।

उनले ट्वीटमा भनेका छन्, ‘आज मानसरोवर यात्राको लिंक रोडको उद्घाटन गर्न पाउँदा खुशी लागेको छ । बीआरओले धारचुलादेखि लिपुलेख (चीनको सीमा) सम्म कैलाश-मानसरोवर यात्रा मार्गको रूपमा चिनिने सडक सम्पन्न गर्नु एक उपलब्धी हो ।’उनले भिडियो कन्फेरेन्समार्फत नै चीनको उत्तराखण्डस्थित पिथौरागढ़बाट धारचुला हुँदै गुन्जीसम्मको सवारी अवलोकन समेत गरेको बताएका छन् । गुन्जी क्षेत्र नेपालको दार्चुलामा पर्दछ । त्रिदेशीय सीमाविन्दू लिपुलेक हुँदै उक्त मार्ग तिब्बतको मानसरोबरसँगा जोडिएको छ । उद्घाटनमा भारतीय सेना प्रमुख लगायत उच्चाधिकारी उपस्थित रहेका थिए ।

यसअघि भारतले गत नोभेम्बरमा नयाँ राजनीतिक नक्सा जारी गर्दै नेपाली भूमि लिम्पियाधुरासहित कालापानी क्षेत्र आफ्नो नक्सामा राखेको थियो । उक्त विवादको समाधान नहुँदै फेरि एकलाैटी ढंगले विवादित भूमिमा सडक निर्माण गरेको हो ।

लिपुलेक सम्बन्धी विवाद विगतमा पनि उठेका थिए । यसअघि २०७२ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा जाँदा मोदी र चीनका राष्ट्रपति सी चिनफिङबीच लिपुलेकलाई भारत–चीनबीचकाे ‘व्यापारिक नाका’ बनाउने सहमति भएको थियो । त्यसवेला पनि नेपाललाई यसबारे सोधिएन । पछि नेपाली पक्षले विरोध जनाए पनि त्यत्तिकै रह्यो ।

नेपालका सीमाविद्हरुले लिपुलेक पूरै नेपाली भूमिमै पर्ने बताउँदै आएका छन् । यो भूमि भारतले आफ्नो नक्सामा समेटेको लिम्पियाधुराभन्दा पनि निकै वर रहेको र पूरै नेपालकै भूमि रहेको सीमाविद् बुद्धिनारायण श्रेष्ठ बताउछन् । यसबारे नेपाल सरकारले भने हाल कुनै प्रतिक्रिया जनाएको छैन ।

Related Articles

Back to top button
Close