रोचक

राहत लिएर जाँदा उल्टै राहत दिने घोषणा

गत साता झापाको कनकाई नगरपालिका—४ मा बस्ने एकल बृद्ध महिलाको नाम वडा कार्यालयको राहत पाउने नाममा दर्ता भयो। अर्को दिन वडाअध्यक्षलगायतको टोली राहत लिएर ती महिलाको घर पुगे। ती महिलाले राहत लिइनन्, बरु उल्टै राहत दिने बताएपछि टोली अचम्मित हुँदै पर्‍यो। उनी थिइन् कनकाई कञ्चन टोलकी ७४ वर्षीया रणमाया गजुरेल।

नौ वर्षको उमेरमा बिहे भएको थियो उनको। बिहे गरेको दुई वर्षमै श्रीमानको निधन भयो। यति लामो जीवन एक्लै गुजारेकी गजुरेलको एउटा झुप्रो घर छ। घरभित्र छिर्दा न बस्ने ठाउँ भेटिन्छ न त खाने ठाउँ देखिन्छ। घरभित्र धिपधिप बलेको चुलोमा कालो कराईमा दुध बसाइराखेको छ। एउटा सानो काठको दराज त्यो पनि बिना ताला चाबीको। भित्र एउटा खाट पनि सँगै देखिन्छ।

त्यही खाटमा उनी सुत्ने गर्छिन्। उमेरले परिवारको रेखदेखमा आराम गरेर बस्नुपर्ने बेलामा उनी भने दूध दिने तीनवटा गाई पालेर एक्लो जीवन गुजारा गरेर बसेकी छन्। घर वरीपरि ८ कट्ठा जग्गा छ। उक्त जग्गामा पनि उनी आफैं खेतीपाती लगाउँछिन्।

‘मेरो जग्गाबाट एक जना मजाले पाल्न सक्छु। दुहुना गाई छन्। सके नसकी पनि मकै धान लगाउँछु।’ बृद्ध महिला भन्छिन्, ‘एक्लो ज्यान त चामलमा नुन हालेर खाएर नि बाँच्न सक्छन्। दैनिक मजदुरी गर्ने मान्छेले साना–साना छोराछोरीलाई भोकै रुवाएर बस्नुपरेको छ। त्यस्ता मान्छेलाई हो राहत दिने भन्ने लागेर मैले आफूले राहत नलिई राहत दिन मन गरेकी हुँ।’ उनी भन्छिन्, ‘आफूलाई पुग्नेछ भने मौकामा अरुलाई बाँडेर खान सक्नुपर्छ। धन थुपारेर के गर्नु मनमा दयाको भावना थुपार्न सक्नुपर्छ।’

कञ्चनटोलका संयोजक रत्न प्रधान भन्छन्, ‘जब समाजमा विपद् आउँछ। तब गजुरेलनी आमा आफुसँग भएको केही न केही दिएर सहयोग गर्न खोज्नुहुन्छ।’ प्रधानका अनुसार जब टोली राहत लिएर पुग्यो, उनी छिमेकीको घरतिर कुदिन्। ‘एकछिनमा आएर बाबु, मसँग केही पैसा छ। म खान नपाएकालाई सहयोग गर्छु भने पछि राहत दिन गएको टोलि फर्कियो। वडा अध्यक्षले भोलिपल्ट मेयरलाई उक्त कुरा सुनाएपछि बृद्ध आमाले मेयरका हातमा राहत सहयोग दिनुभयो,’ प्रधानले भने।

बृद्ध आमा भन्छिन्, ‘अलिकति बृद्ध भत्ताको पैसा थियो। अलिकति सर सापट गरेर १० हजार रुपैँया खोजेरै दिएकी हुँ। मेरो ढोकामा राहत देख्दा ती एक छाक पनि जुटाउन नसक्नेलाई सम्झिएँ। अनि छिमेकमा सापट खोज्न कुदेकी हुँ।’ कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र पोख्रेल भन्छन्, ‘आमाको घरमा पुग्दा मेरो मुखबाट कुनै शब्द निस्केनन्। आमाको अवस्था हेर्दा मैले आमालाई हजुर राख्नु आफ्नै लागि खर्च गर्नु पनि भनें। तर उहाँले बाबु, यो पैसा मैले एक छाक पनि खान नपाएकामा अर्पण गरिसकें।

उनीहरुलाई जति पुग्छ त्यति चामल किनेर बाँडिदिनु भनेपछि आमाले गरेको सहयोग मैले नगरको कोषमा ल्याएर राखें।’ उक्त रकम बाट अति निम्न स्तरका मजदुरी गरेर खाने परिवारमा राहत बाढिने पोखरेलले बताए। पोखरेलले अन्नपूर्णसँग भने, ‘दुईतलासम्म घर भएका मान्छे राहत लिनका लागि धमाधम नाम लेखाइरहेको अवस्थामा समाजमा अझैपनि मानवीयता छ भन्ने देखिन्छ।’अन्नपूर्ण बाट

Related Articles

Back to top button
Close