अन्तर्राष्ट्रिय समाचार

अमेरिकामा कोरोना संक्रमित संख्या १२ लाख नाघ्यो, ज्यान गुमाउनेकाे संख्या ७० हजारनजिक

२३ वैशाख । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणमा उल्लेख्य कमी आउन सकेको छैन । अघिल्ला केही दिनहरुमा दैनिक नयाँ संक्रमितको संख्यामा कमी आएको भए पनि यो संख्या अझै बढी नै रहेको छ ।

सोमबार मात्र अमेरिकामा कोरोनाका २४ हजार ७१३ नयाँ संक्रिमत फेला परेका छन् । यससँगै अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या १२ लाख नाघेको छ ।यो समाचार तयार पार्दासम्म त्यहाँ कोरोना संक्रमितको कुल संख्या १२ लाख १२ हजार ८३५ पुगेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ ।

यसअघि अप्रिल २७ मा मार्च ३० यताकै सबैभन्दा कम २३ हजार १९६ नयाँ संक्रमित भेटिएका थिए । तर पछिल्ला दिनहरूमा फेरि दैनिक संक्रमित संख्यामा उतारचढाव आइरहेको छ । आइतबार त्यहाँ २७ हजार ३४८ नयाँ संक्रमित थपिएका थिए ।अमेरिकामा कोरोना संक्रमणका कारण अहिलेसम्म ६९ हजार ९२१ को ज्यान गइसकेको छ । सोमबार मात्र त्यहाँ १ हजार ३२४ को ज्यान गयो । आइतबार भने यो संख्यामा कमी आएको थियो, त्यसदिन कोरोनाका कारण अमेरिकामा १ हजार १५३ को मृत्यु भयो ।

साथै कुल संक्रमितमध्ये १ लाख ८७ हजार ५५३ जना भने पूर्ण रुपमा निको समेत भइसकेका छन् । बाँकी ९ लाख ५५ हजारभन्दा धेरै संक्रमित हाल उपचाररत छन्, जसमध्ये १६ हजारभन्दा बढी केस जटिल अवस्थाका रहेको जनाइएको छ ।सबैभन्दा बढी प्रभावित अमेरिकी राज्य न्यूयोर्कमा भने पछिल्ला केही दिनमा कोरोना संक्रमणका घटना र दैनिक मृत्युमा कमी देखिएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २९६ रहेको छ ।

न्यूयाेर्कमा साेमबार ३ हजार ४९१ नयाँ बिरामी फेला परेका छन् । यससँगै न्यूयोर्कमा मात्रै कोरोना संक्रमित संख्या ३ लाख २७ हजार ३७४ पुगेकाे छ । हालसम्म त्यहाँ २४ हजार ९४४ जनाले ज्यान गुमाइसकेका छन् ।

अर्को बढी प्रभावित राज्य न्यूजर्सीमा पनि कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७ हजार ९५१ पुगेको छ । त्यहाँ एकैदिनमा साेमबार ६५ को मृत्यु भयो भने १ हजार ९०७ नयाँ संक्रमित थपिए । याे अघिल्ला दिनहरूकाे तुलनामा कम नै हाे ।

Related Articles

Back to top button
Close