समाचार

तेस्रो अध्यक्षमा माधव नेपालको अस्वीकार

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपीशर्मा ओलीले प्रस्ताव राखेको तेस्रो वरियताको अध्यक्ष पद नेता माधवकुमार नेपालले अस्वीकार गर्ने भएका छन्।वरिष्ठ नेता नेपालले आफू निकटका स्थायी कमिटी सदस्यहरुलाई आफूले पदभन्दा पनि विधि र प्रक्रिया खोजेको भन्दै यस्ता प्रस्तावले पार्टीलाई हित नगर्ने समेत बताएका छन्।

बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले नेता नेपाललाई अध्यक्ष र उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेका थिए।

‘माधव नेपालले तेस्रो वरियताको अध्यक्ष अस्वीकार गर्छु भन्नुभएको छ, उहाँले मेरो लडाइँ पार्टीलाई विधि विधान, पद्दति र अनुशासनमा लैजाने हो भनेर समेत भन्नुभएको छ’ नेकपा स्थायी समिति सदस्य रघुजी पन्तले सेतोपाटीसँग भने, ‘पार्टी नीति तथा कार्यक्रम अनुसार चलाउनुपर्छ। को अध्यक्ष, को प्रधानमन्त्री बन्ने भन्ने गौण हो। यो झारा टार्न र अलमल्याउन ल्याएको प्रस्ताव हो। म यसको पक्षमा छैन भनेर उहाँले मसँग भन्नुभएको छ।’

स्थायी समिति सदस्य पन्तले चलाखीपूर्ण तरिकाले प्रधानमन्त्रीले क्षेप्यास्त्र फ्याँकेको भन्दै सो योजनाले काम गर्नेमा आफू विश्वस्त नरहेको समेत बताए।उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राम्रो भए पनि कार्यान्वयन गर्न धेरै कठिन रहेको उनको बुझाई छ।

‘उहाँलाई प्रधानमन्त्री कहिले बनाउने हो। लकडाउनपछि हो कि, कोरोना नियन्त्रणपछि हो, अनि कोरोना कहिले नियन्त्रण हुन्छ’ उनले भने, ‘निर्वाचन क्षेत्र खाली गराउनेदेखि उपनिर्वाचन गराउँदासम्म कति समय लाग्छ। अनि जित्ने ज्ञारेन्टी के छ? त्यसैले डेढ दुई वर्ष टार्छ भनेरै यो प्रस्ताव आएको हो।’अर्का स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले प्रधानमन्त्रीको प्रस्तावको कुनै अर्थ नरहेको बताएका छन्।

Related Articles

Back to top button
Close