समाचार

‘अपहरणबाट यसरी उम्किन सफल भएँ’

वैशाख ०७७ (गत मंगलबार) बेलुका अन्दाजी ६/७ बजे पूर्वआइजिपी सर्वेन्द्र खनालले मलाई फोन गरी म प्रधानमन्त्रीनिवास बालुवाटारमा छु, प्रधानमन्त्रीज्यूले तपाईंलाई भेट्न खोज्नुभएको छ, तपाईं आउनुपर्‍यो भन्दा म अहिले गाउँमा छु, आउन सक्दिनँ, लकडाउन समाप्त भएपछि काठमाडौं आउँछु साथै सामान्य जवाफ दिएँ।

२. बुधबार बिहान अन्दाजी साढे ८ बजे सर्वेन्द्र खनालले म तपाईंको गाउँमा आएको छु, भेट्न खोज्दै छु। म तपाईंको घरमा आउँदै छु भनी ९ बजे अप्रत्याशित रूपमा घरमा आइपुग्नुभयो। उहाँको साथमा प्रतिनिधिसभाका माननीय सदस्यज्यूहरू महेश बस्नेत र कृष्णकुमार (किसन) श्रेष्ठलाई देख्दा आश्चर्य लाग्यो। घरमा आएपछि लोकाचार निर्वाह गरेँ। सर्वेन्द्र खनालले एकदमै जरुरी काम परेकोले सँगै जानुपर्‍यो भने र जनकपुर आइसकेपश्चात् विपक्षीहरूले १७३८ नं. को मेरो अस्पतालको गाडी छोड्न र निजहरू चढी आएको गाडीमा जनकपुरबाट प्रतिवादीहरूले मलाई बर्दिबास ल्याए।

३. बर्दिबासमा निजहरूले ल्याएको अर्को सेतो टोयटागाडीमा नै जानुपर्ने गरी हठ लिए, मलाई नियन्त्रणमा लिई पटकपटक तनहुँका सांसद कृष्णकुमार श्रेष्ठ (किसन)ले म प्रधानमन्त्री तथा निजको निजी सहायकको सम्पर्कमा छु, दायाँबायाँ गरे जे पनि हुन सक्छ, तपाईंलाई लिएर आजै काठमाडौं जानु छ भनी धम्की दिँदै बर्दिबास–सिन्धुली हुँदै आउँदा बाटोमा निजले प्रधानमन्त्री केपी ओलीलाई फोन गरी डाक्टरलाई काठमाडौं ल्याइपुर्‍याउन लागेको सूचना गरेका थिए। बाटोमा महेश बस्नेत र कृष्णकुमार श्रेष्ठले खनालजी अख्तियारको आयुक्त नियुक्त हुने भएकोले उहाँले तपाईंलाई सहयोग गर्नु हुन्छ, तपाईंले समाजवादी पार्टी फुटाउन हामीलाई मद्दत गर्नुपर्‍यो, अन्यथा ठीक हुन्न भनी त्रास देखाएपछि आफूलाई यी विपक्षीहरूले अपहरण गरी बन्धक बनाएको यकिन भयो।

४. काठमाडौं आउने क्रममा प्रधानमन्त्रीसँग कुरा गराउँदा ‘तपाईं तत्काल आउनुस् मैले भनेबमोजिम काम गर्नुस्, म भोलि बिहानै भेट्छु’ भनी म आबद्ध रहेको दललाई विभाजन गर्ने मनसायबाट मलाई धाकधम्की, डरत्रासमा पारी मेरो ज्यान नै जानसक्ने गरी मलाई करकाप गरी विभिन्न प्रलोभन तथा धम्कीको आडमा राति नै होटेल मेरियट काठमाडौं नक्सालमा ल्याई विपक्षीहरूले आफ्नो योजनाबमोजिम बुक गरेको होटलको कोठामा थुनी मलाई पटकपटक ढोका ढकढकाई मानसिक त्रासमा पारेको अवस्थामा म निवेदक सुतेको जस्तो गरी केही समय उक्त होटेलको कोठा नं. ७०३ मा थिएँ। केही समयपश्चात म मास्क लगाई उक्त कोठाको ढोका खोली मौका छोपी लिफ्टबाट तल ओर्ली मैले मूल गेटबाहिर निस्की त्यहाँबाट सुरक्षित स्थानमा भागी उम्की जान सफल भएँ।

५.हाल पनि म मानसिक रूपमा यी अन्यायी प्रतिवादीहरूको डरत्रासमा रहिआएको छु। मेरो घरपरिवारलगायतको सबै आफन्तहरू हाल त्रासमा बाँच्न बाध्य छन्। कुनै पनि वेला निजहरूले आफ्नो ओहोदा र शक्तिको आडमा मेरो ज्यान समेत लिन सक्ने अवस्था विद्यमान रहेको छ। यी प्रतिवादीहरूले मलाई खोजीनिती गर्दै रहेको भन्ने डर त्रासमा बाँचिरहेकाले शरीर बन्धक लिई अपहरण गर्ने यी अन्यायीहरूलाई तत्काल पक्राउ गरी मेरो जिउज्यानको सुरक्षा गरी मेरो घर परिवारको समेत सुरक्षा गरिपाऊँ। विपक्षीहरूद्वारा मलाई तथा मेरो परिवारको ज्यान धनलाई केही भइहालेको अवस्थामा यसैलाई जाहेरीलाई आधार मानी प्रतिवादीहरू तथा यस कार्यमा प्रत्यक्ष–अप्रत्यक्ष योजना बनाउने अपराधका अन्य मतियारलाई समेत तत्काल पक्राउ गरी कानुनबमोजिम कारबाही गरिपाऊँ।अन्‍नपूर्ण बाट

Related Articles

Back to top button
Close