समाचार

‘एक घार मौरीबाट सुरू गरेका थियौं, अहिले मह जापान पठाउँछौं’

चितवनका धर्मराज श्रेष्ठ गत कात्तिकमा सरकारबाट सम्मानित भए। धर्मराजलाई कृषि विकास मन्त्रालयले उत्कृष्ट उद्यमी भनेर सम्मान गरेको थियो। उनी मौरीपालन गर्छन्। चितवन र धापाखेल, नागदह चोकका दुई उद्योगमा करिब चार करोड रूपैयाँ लगानीमा उनले मौरीपालन गरिरहेका छन्।

धर्मराजले यो वर्षदेखि आफ्नो उद्योगबाट उत्पादित मह जापान पनि निर्यात गर्न थालेका छन्।

‘वार्षिक २० हजार किलोको दरले मह जापान पठाउन थालेको छु, धर्मराजले उत्साहित भएर भने।

मौरीपालनलाई नै उद्यम बनाउन सफल धर्मराजको यो पुर्ख्यौली पेसा हो भन्दा हुन्छ। २०३२ सालमा जन्मेका धर्मराज परिवारका साइँला सन्तान हुन्। उनका चार दाजुभाइमध्ये तीन जना मौरीपालनमै आवद्ध छन्। यो कामको सुरूआत भने उनका बुवाले गरेका थिए।

उनका आमाबुवा सुरूमा मिल चलाउँथे। मिलले नै घर व्यवहार धानेको थियो। योबाहेक घरमा ४–५ घार मौरी थिए। २०५० सालमा सरकारले कृषकलाई मौरीपालनको कार्यक्रम ल्यायो। त्यो कार्यक्रममा उनका बुवा सहभागी भए।

कार्यक्रम अन्तर्गत सरकारले उन्नत जातको मौरी पाल्ने र घार बनाउने तालिम दियो। तालिममा सहभागीलाई ५० प्रतिशत अनुदानमा एउटा घारसहितको मौरी पनि दियो। त्यसपछि परिवारले व्यवसायिकरूपमा मौरीपालन सुरू गरेको धर्मराज बताउँछन्।

धर्मराजका अनुसार त्यतिखेर उनीहरूले २५ सय रूपैयाँ लगानी गरेका थिए। उद्योगलाई व्यवसायिकरूपमा लैजान त्यही वर्ष चितवनमा शिवशक्ति मौरीपालन उद्योग दर्ता गरे।

‘चितवनतिर मौरी पाल्नेहरू धेरै थिए। तर उन्नत जातको मौरी व्यावसायिक हिसाबमा पाल्ने हामी मात्र थियौं, उनले भने।

उनीहरूले २०५१ सालबाट मौरीका लागि चाहिने घार पनि बनाउन थाले। उद्योगमा ७–८ जना कामदारले सहयोग गर्थे।

‘एक घारबाट त्यही वर्ष दस घार बनायौं। घर बजारमै भएकाले मौरी र मह किन्न मान्छे घरै आउँथे’, उनले सुनाए, ‘घरमा मह काढेको हेर्न आउनेको पनि भिड हुन्थ्यो।’

विस्तारै सय घारसम्म मौरी भए। उद्योगबाट मौरीपालन निम्ति आवश्यक महदानी, आधारचाका (मौरी पाल्न चाहिने आधार) लगायत सम्पूर्ण सामान बनाउन थाले।

विस्तारै मह किन्ने ग्राहकको चाप बढ्दै गयो। उद्योगबाट उत्पादित महले नपुगेनप त्यहीँ वरिपरिका चेपाङ जातिलाई आवश्यक सबै सामान दिएर मौरी पाल्न लगाएको उनी बताउँछन्।

‘महको माग बढ्दै गएपछि हामीले किसानसँग मह किनेर पनि बेच्न थाल्यौं, उनले भने।

बुवालाई सघाउने क्रममा तीनै भाइले मौरीपालनको काम सिकेको धर्मराज बताउँछन्। २०५९ सालमा बुवाको मृत्युपछि उद्योग दाजुभाइको काँधमा आयो।

‘५–६ वर्ष हामी दाजुभाइले त्यहीँ काम गर्यौं। पछि यसलाई विस्तार गर्नुपर्‍यो भनेर छुट्टै अर्को उद्योग खोल्ने योजना बनाएँ’, उनले भने।

योजनाअनुसार २०६७ सालमा चितवनकै भण्डारामा ं‘माउन्टेन बी कन्सर्न’ खुल्यो। उद्योगको सुरूआती लगानी करिब ८ लाख रूपैयाँ थियो। उद्योगले मौरीपालनका साथै यसनिम्ति आवश्यक सामग्री पनि उत्पादन गर्न थाल्यो।

‘हाम्रो पुँजी देखेपछि बैंकले पनि ऋण पत्यायो र सहजै उद्योग विस्तार गर्न सकेँ, उनी सुनाउँछन्, ‘गाउँको उद्योगमा कर्मचारी राखेर चलाएको छु।’

उनका एक दाजुले दाङमा र भाइले चितवनमै बुवाको उद्योग सम्हालिरहेका छन्।

धर्मराजको व्यवसाय राम्रोसँग चलेको थियो। तर महको बजार चितवन मात्र भएकाले उनी सन्तुष्ट थिएनन्।

ठूलो बजारको सपना देखेर उनी २०७० सालमा काठमाडौं आए। उसो त उनलाई काठमाडौं नौलो थिएन। ५ कक्षापछि काठमाडौंमै पढेर एसएलसी दिई गाउँ फर्केको उनी बताउँछन्।

मह प्रचार गर्न उनले काठमाडौंका मह उद्योगी तथा व्यापारीसँग सम्बन्ध बढाए। उनीहरूसँग मिलेरै नेपाल केन्द्रीय मह व्यवसायी संघ गठन गरे। त्यही वर्ष संघकै आयोजनामा भृकुटी मण्डपमा मह मेला गरियो। मेलामा सरकारी तथा अन्य संस्थाको समेत सहयोग थियो। मेलामा मह राम्रो बिक्री भयो। त्यसपछि उनलाई अझै उत्साह बढ्यो।

उनले यहीँ उद्योग चलाउने सोचे। धापाखेल, नागदह चोकमा श्रीमती सरिता श्रेष्ठका नाममा ‘माउन्टेन बी कन्सर्न’ दर्ता गरेर काम थालेका हुन्।

सफलताको बाटो सहज हुँदैन। मौरीपालनका अनेक चुनौती हुन्छन्। तीमध्ये मुख्य हो चरनको समस्या।

‘मह काढ्न मौरीलाई फूल फुल्ने सिजनमा बाहिर लिएर जानुपर्छ। स्थानीय किसानले दिँदैनन्। सामुदायिक वनमा पनि कर लाग्छ, उनले भने, ‘फिल्डमा मह किन्न आउने भएकाले त्यहाँका किसानले रिस गर्छन्।’

मह काढ्न गाडीमा घार राखेर दाङ, रूपन्देही, सर्लाही लगायत जिल्लामा लैजाने गरेको उनी बताउँछन्। चिउरी, रूदिलो, चिलाउने, लिच्चीलगायतमा मौरी चराएर मह काढ्ने गरिएको छ।

फूल फुल्ने याम भयो भने १५ दिनमै मह काढ्न सकिने धर्मराज बताउँछन्। एक घार मौरीले ५० किलोसम्म मह दिन्छ।

थोरै लगानीमा सुरू गर्न सकिने भए पनि यो व्यवसायमा अझै आधुनिक प्रविधि भित्रिन नसकेको उनको गुनासो छ। उनी नयाँ प्रविधि ल्याउने योजनामा छन्।

‘चीन, रसियातिर गएर मेसिन हेरेका छौं। सरकारले केही अनुदान दियो भने राम्रो हो। नभए ऋण गरेरै भए पनि ल्याउँछौं’, उनले भने।

Related Articles

Back to top button
Close