अन्तर्राष्ट्रिय समाचार

अमेरिकामा एकैदिन २३ सय बढीको मृत्यु, मृतकको संख्या ५० हजार नजिक

अमेरिकामा पछिल्लो २४ घण्टामा २३ सय बढीको मृत्यु भएसँगै मृततको संख्या ५० हजारको हाराहारीमा पुगेको छ ।वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २३ सय २२ जनाको मृत्यु भएपछि मृतकको संख्या कूल ४९ हजार ८ सय ४२ पुगेको छ ।

साथै, अमेरिकामा एकैदिन ३१ हजार ४ सय १९ नयाँ संक्रमित थपिएका छन् । हालसम्म संक्रमितको संख्या ८ लाख ८० हजार १ सय ३६ पुगेको छ । संक्रमितमध्ये १४ हजार ९ सय ९७ को अवस्था गम्भीर छ भने ८५ हजार ९ सय २२ जना निको भइसकेका छन् ।

बेलायतमा कोरोना भाइरस (कोभीड १९) बाट थप ३ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेमध्ये ३२ वर्षीय नाछिरिंग राई सबैभन्दा कम उमेरकी नेपाली युवती हुन् ।उनको बेलायतको नानिटनस्थित जर्ज इलियट अस्पतालमा उपचारको क्रममा कोरोनाका संक्रमणका कारण मृत्यु भएको हो ।लामो समयदेखि मृगौला सम्बन्धी रोगबाट पीडित राईलाई श्वासप्रश्वासमा समस्या देखिएपछि एकहप्ता अघि अस्पताल भर्ना गरिएको थियो ।

खोटाङ जिल्लाको ऐसेलुखर्क पुर्ख्यौली घर भएकी राई पछील्लो समय धरान १७ मा बस्दै आएकी थिइन् । गतवर्ष मात्र बेलायत आएकी मृतक राई बेलायतको नानिटनमा आफ्ना आमाबाबा र बहिनीका साथमा बस्दै आएकी थिइन् । पूर्व गोर्खा डाकबहादुर राईकी छोरी मृतक राई अविवाहित नै थिइन् ।

कोरोना संक्रमणकै कारण अर्का एकजना नेपालीको पनि मृत्यु भएको छ । सन् २००६ देखि बेलायतको रेडिंगमा बस्दै आएका झापा जिल्लाको खुदुनाबारी निवासी ६५ वर्षीय हंसराज लिग्देलको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको बताइएको छ । मृतक लिंग्देल झापाको जनता माध्यामिक विद्यालय खुदुनावारीका पूर्व प्रधान अध्यापक हुन् ।

तेस्तै बेलायतको व्ह्वाइटसिटीमा बस्दै आएका पूर्व गोर्खा सैनिक एवं साहित्यकार ७२ वर्षीय गोपाल शाहीको पनि बुधबार कोरोनाको संक्रमणबाट मृत्यु भएको छ ।

Related Articles

Back to top button
Close