समाचार

मन्त्रिपरिषद्‍ले ल्याएका दुवै अध्यादेश राष्ट्रपतिद्वारा जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा दुईवटा अध्यादेश जारी गरेकी छिन् ।

 

मन्त्रिपरिषद् बैठकले निर्णय गरेर सिफारिस गरेकाे केही घण्टामै राष्ट्रपतिले सोमबार अध्यादेश जारी गरेकी हुन् राष्ट्रपतिले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ लाई प्रमाणीकरण गरेकी हुन् ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले सोमबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ ।

सोमबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले दुई अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राजनीतिक दल सम्बन्धी अध्यादेश र संवैधानिक परिषद सम्बन्धी पहिलो संशोधन अध्यादेश सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

यद्यपि राजनीतिक दल सम्बन्धी संशोधन अध्यादेशलाई लिएर नेकपाभित्रै विवाद उठ्न थालेको छ । यस्तै संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा पनि प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

उक्त अध्यादेश अनुसार पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा ४० प्रतिशत मत पुर्याएमा पार्टी विभाजन गर्न सकिने व्यवस्था गरिएको छ । संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा प्रमुख प्रतिपक्षी दलका नेताविनै संवैधानिक परिषद बैठक बस्न र निर्णय गर्न सकिने व्यवस्था छ ।

Related Articles

Back to top button
Close