समाचार

बाहिर निस्किए १ सय जरिवाना, पसल खोले १ हजार

चन्द्रागिरि नगरपालिका–८, मातातिर्थकी माया भण्डारीलाई चैत २७ गते प्रहरीले नियन्त्रणमा लियो । लकडाउनमा चियापसल खोलेको आरोपमा पक्राउ परेकी भण्डारीले नगरपालिकालाई १ हजार रुपैयाँ जरिवाना तिरेर छुटिन् ।

लकडाउनमा निस्किएका पैदलयात्रुलाइ डोरीले घेरा हालेर राखिदै । उनीहरूलाई जनही १ सय रूपैयाँ जरिवाना र कोरोना संक्रमणबारे सचेतना कक्षा लिएर छाडिएको छ । तस्बिर सौजन्‍यः नेपाल प्रहरी

वडानम्बर ३ का राजेन्द्र भट्टराई पनि कारबाहीमा परे। भट्टराई स्टोरका उनी १ हजार रुपैयाँ तिरेर छुटे।सोही नगरपालिकाको वडा नम्बर १२ बलम्बुबाट मदिरा पसल सञ्चालक कान्छी गुरुङलाई पनि प्रहरीले नियन्त्रणमा लिएर नगरपालिकाको जिम्मा लगायो। गुरुङले पनि १ हजार जरिवाना तिरेर छुटिन्। लकडाउनमा गाडीबाट मदिरा ओसारपसार गर्ने मनसरी पुन पनि १ हजार जरिवानामा परिन्।

त्यतिमात्र होइन, महानगरीय प्रहरी वृत्त थानकोट र नगरपालिकाको संयुक्त टोलीले लकडाउनमा सडकमा निस्किएका सर्वसाधारणलाई पनि जनही १ सयका दरले जरिवाना असुल्न थालेको छ। चैत २८ गतेदेखि प्रहरी र नगरपालिकाको संयुक्त संयन्त्रलाई लकडाउन उल्लंघन गर्ने विरुद्ध कारबाही गर्न परिचालन गरिएको छ।

महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठले लकडाउन कार्यान्वयनका लागि पैदलयात्रुलाई समेत नियन्त्रणमा लिएर जनही १ सय रुपैयाँ र पसल खोले १ हजार जरिवाना हुने गरी नियम लगाइएको बताए।

‘संक्रामक रोग नियन्त्रण ऐन २०२० र नगरपालिकाको आर्थिक ऐन अनुसार लकडाउन उल्लंघन गर्ने पैदलयात्रुलाई १ सय र पसल सञ्चालकलाई १ हजार जरिवाना गराइएको हो,’ उनले भने, ‘अनुमति बिना हिँड्ने पैदलयात्रु र चालकलाई नियन्त्रणमा लिएर ३ घण्टा सम्म अनुशिक्षण दिएर छाड्ने गरिएको छ।’

खाद्यान्नलगायत अत्यावश्यक तथा किराना पसल बिहान ६ देखि १० बजेसम्म खोल्न दिइएको र दिउँसो सबै घरभित्र बस्नुपर्ने नियम लगाइएको उनले बताए। थानकोट वृत्तले २५ स्थानमा चेकप्वाइन्ट खडा गरेर लकडाउन कार्यान्वनमा संयन्त्र परिचालन गरेको छ भने नगरपालिकाका ८ जना कर्मचारी लकडाउन उल्लंघन गर्नेसँग जरिवाना असुल्न बिलसहित खटिएका छन्।

Related Articles

Back to top button
Close