समाचार

डा.पाण्डे भन्छन्ः र्‍यापिड टेस्ट पोजेटिभ आउनु भनेकाे झन् काेरोना निको भएको प्रमाण हो

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले कोरोना आशंकामा र्‍यापिड टेस्ट (आरडीटी) गर्दा रिपोर्ट पोजेटिभ आउनु भनेकाे झन् रोगसँग लड्ने क्षमता बढेको संकेत भएको बताएका छन्।त्यसकारण आरडीटी रिपोर्ट पोजेटिभ आउँदा नआत्तिन उनकाे आग्रह छ।

र्यापिड टेस्ट मानिसको रोगसँग लड्ने क्षमताको जाँच गर्ने विधि भएको उल्लेख गर्दै डा. पाण्डेले त्यो रिपोर्ट पोजेटिभ आउनु भनेको व्यक्तिको भाइरससँग लड्ने प्रतिरोधात्मक क्षमता बढेको प्रमाण भएको बताएका हुन्।

‘आरडीटी पोजेटिभ आउनु भनेको रोगसँग लड्ने क्षमता वृद्धि भएको प्रमाण हो। ४० दिनपछि पनि आरडीटी पोजेटिभ आएको छ,’ बुधबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डा. पाण्डेले भने, ‘यो भनेको त्यस व्यक्तिलाई कुनै समय कोभिड-१९ भएको हो तर ऊ अहिले रोग सार्ने अवस्थामा छैन भन्ने संकेत हो।’

उनका अनुसार तैपनि त्यस मानिसमा अहिले भाइरस छ कि छैन भनेर पीसीआर गरी निश्चित गरिन्छ।‘१४ दिनदेखि २१ दिनसम्म आरडीटी गर्छौं। तर केही दिन पछाडिसम्म पनि गर्न सकिन्छ। २१ दिनपछि आरडीटी पोजेटिभ आयो भने त्यो बिरामीमा रोग सार्ने शक्ति हुँदैन। बरु रोगबाट बच्ने क्षमता बढेको हो,’ उनले भने, ‘त्यस हिसाबले आरडीटी पोजेटिभ आउनेबित्तिकै हामी आत्तिनुपर्ने, भयभीत हुनुपर्ने होइन।’

Related Articles

Back to top button
Close