सुत्केरी हुन नसकेपछि बाग्लुङकी भिमाको हेलिकप्टरमै गयो ज्यान। समाचार
सुत्केरी हुन नसकेपछि बागलुङको ढोरपाटन नगरपालिका–१ की ३३ वर्षीया भीमा भुसाल पाण्डेको आज दिउँसो हेलिकप्टरबाट उद्धार गरिएको थियो । प्रदेश नम्बर ४ को सामाजिक विकास मन्त्री नरदेवी पुनको पहलमा पोखराबाट प्रभुको हेलिकोप्टर मगाइयो । तर दैवको लिला नै भन्नुपर्छ भिमाले हेलिकप्टरमै प्राण त्याग गरिन् ।
बुटवल घर भएकी ३३ वर्षीया भीमा भुसाल पाण्डे बाग्लुङको ढोरपाटन नगरपालिका १ रहेको माइत गएकी थिइन् ।उनको सुत्केरी हुने दिन नजिकिँदै गयो, लकडाउन लम्बिँदै गयो ।सुत्केरी ब्यथाले चापेपछि उनलाई आफन्तहरूले सोमबार ढोरपाटन नगरपालिकास्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पुर्याए ।
‘भिमाको पाठेघरभन्दा बाहिर नलीमा बच्चा बसेको थियो। बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले भने,नली फुटेरभित्रै रक्तस्राब भयो,तुरून्त अपरेसन गरेर पेट सिलाउनुपर्ने अवस्था आयो।
हेलिकप्टरबाट भिमालाई पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगियो।
अस्पताल पुर्याउने बित्तिक्कै भिमालाई चिकित्सक टोलीले मृत घोषणा गरिदियो। चिकित्सकका अनुसार उनको निधन हेलिकप्टरमै भएको थियो।
अस्पतालमा भिमाका श्रीमान् र भाइ पनि साथै गएका थिए। १ छोरा र १ छोरीकी आमा भिमाले तेस्रो सन्तान जन्माउन जाने क्रममा हेलिकप्टरमै निधन भएको डा.मल्लले बताए ।