समाचार

लकडाउन थप ७ देखि १० दिन लम्ब्याउने तयारी

कोरोना भाइरस रोकथामका लागि सरकारले वैशाख ३ गतेपछि पनि लकडाउन थप्ने तयारी गरेको छ। कति दिन थप्ने भनेर मंगलबार बस्ने मन्त्रिपरिषद बैठकमा छलफल हुने एक मन्त्रीले जानकारी दिए।

‘कम्तिमा ७ देखि १० दिन थप हुनसक्छ,’ उनले सेतोपाटीसँग भने, ‘पछिल्लो अवस्था हेर्दा लकडाउन अझै कडाइ गर्नुपर्ने देखिन्छ। मंगलबार ११ बजे बस्ने मन्त्रिपरिषद बैठकले यसबारे निर्णय गर्न सक्छ।’यसअघि गत मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा अझै केही साता कष्टपूर्ण हुन सक्ने बताएका थिए। उनले कम्तिमा वैशाख दोश्रो सातासम्म लकडाउन हुन सक्ने संकेत दिएका थिए।

प्रधानमन्त्रीले शनिबार सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडिओ कन्फरेन्स गरेका थिए। त्यस क्रममा सातै प्रदेशका मुख्यमन्त्रीले लकडाउन अझै कडा पारी समय बढाउनुपर्ने सुझाव दिएका थिए। उनीहरूले भारतीय सीमानामा कडाइ गर्नुपर्ने मागसमेत राखेका थिए।भारतमा पनि तीन साताका लागि गरिएको लकडाउन अवधि मंगलबार सकिँदैछ। भारतका मुख्यमन्त्रीहरूले प्रधानमन्त्री नरेन्द्र मोदीलाई लकडाउन अवधि थप्नुपर्ने सुझाव दिएका छन्।

भारतमा कोरोनाबाट सबभन्दा धेरै प्रभावित महाराष्ट्र राज्यले अप्रिल ३० सम्म लकडाउन बढाउने घोषणा गरिसकेको छ। प्रधानमन्त्री मोदीले मंगलबार बिहान १० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने र त्यही सम्बोधनमार्फत् लकडाउन लम्ब्याउने घोषणा गर्ने भारतीय सञ्चार माध्यमले जनाएका छन्।

भारतले लकडाउन धेरै दिन लम्ब्याए नेपालमा पनि त्यसको प्रभाव पर्ने ती मन्त्रीले बताए। भारतसँग खुला सीमाना रहेकाले नेपालका लागि त्यहाँ कोरोना भाइरसको संक्रमण बढिरहेका बेला सीमा बन्द गर्नुको विकल्प नरहेको विज्ञहरूले जनाएका छन्।भारतमा पछिल्लोपटक दैनिक हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित बनेका छन्। अहिलेसम्म ९ हजारभन्दा धेरै संक्रमित छन् भने झन्डै साढे तीन सयको ज्यान गएको छ।

Related Articles

Back to top button
Close