समाचार

र्‍यापिड टेष्ट गरेर घर पठाएकी महिलामा कोरोना संक्रमण

र्‍यापिड टेष्टमा नेगेटिभ आएपछि घर पठाइएकी कैलाली, लम्किचुहाकी एक महिलामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । ६५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।उनी वीरगञ्ज नाकामा चिया बेच्थिन् । उनीसहित १७ जना चैत ९ मा मात्र कैलालीको लम्की पुगेका थिए ।

स्थानीय जनप्रतिनिधिले सबैलाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखेका थिए । ‘हामी नेपालबाटै आएका हौं, घरमै बस्छौं भनेका थिए । हामीले हुँदैन भनेर क्वारेन्टाइनमा राखेका थियौं,’ लम्किचुहाका मेयर महादेव बजगाईंले भनेका छन् ।

क्वारेन्टाइनमा बसेकाहरुको र्‍यापिड टेष्ट किटबाट परीक्षण गरिएको थियो । रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई २८ चैतमा घर पठाइयो । उनी पनि भुरूवास्थित आफन्त कहाँ गएकी थिइन् ।तर पीसीआर बिधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

अब उनीहरु सबैलाई फेरि क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको छ ।कोरोना संक्रमण देखिएन भनेर घर पठाइएको व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको कैलालीको यो दोस्रो घटना हो ।यसअघि चौथो संक्रमितको आफन्तलाई पनि सुरुमा क्वारेन्टाइनमा राखेर कोरोनाको लक्षण नदेखिएको भन्दै घर पठाइएको थियो । तर पछि परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Related Articles

Back to top button
Close