समाचार

क्वारेन्टाइनमा ४ जनालाई १ पाकेट बिस्कुट

प्रादेशिक अस्पतालमा क्वारेन्टाइनमा राखिएका सम्भावित कोरोना संक्रमितलाई चापाकलबाट पानी भरेर खुवाइने गरेको पाइएको छ। प्रादेशिक अस्पताल क्वारेन्टाइनमा राखिएको सम्भावित संक्रमितलाई धारा भएको बेला धाराको पानी अन्यथा चापाकलबाट बोतलमा भरेर ल्याइएको पानी खुवाउने गरेको रहस्य बाहिर आएको छ।

अस्पतालको क्वारेन्टाइनमा बस्ने शंकास्पद एक बिरामीले चिया र बिस्कुटमा समेत कञ्जुस्याई गरेको बताए। उनले भने, ‘चिया र बिस्कुट त दिन्छन् तर चिया चिया जस्तो लाग्दैन, न पानी हुन्छ। अझ एउटा बिस्कुटको पाकेटबाट चारजना बाँडेर खान्छौं।’ झन्डै दुई साताअघि खाडी मुलुकबाट फर्किएका शंकास्पद संक्रमित बिरामीले भने, ‘सुरु-सुरुमा मिनरल वाटर नै खुवाए, बिस्तारै धारा हुँदै अहिले कलको पानीसमेत खानुपरेको छ।’

क्वारेन्टाइन कक्षको सुरक्षार्थ खटिएका एकजना सुरक्षागार्डले नाम नबताउने शर्तमा भने, कर्मचारी नभएको बेला चिकित्सकले अह्राए, आफूले नै चापाकलको पानी भरेर दिने गरेको स्वीकारे। उनले भने, ‘हामीलाई केही थाहा छैन, डाक्टर साहवहरुले जे भन्नुहुन्छ, हामी त्यही गर्छौं।’ उनले बिरामीको सुरक्षामा खटिएको दुई साता भए पनि अस्पतालले मास्कसम्म उपलब्ध गराउन नसकेको दुःखेसो पोखे।

उनले भने, ‘बिरामीलाई त ठीकठाक छ, हामीलाई त अझ समस्या हुन्छ, दिनभरि कति आउँछन्, जान्छन्। सबैलाई रोक्नुपर्छ, सोधपुछ गर्नुपर्छ, तर हामी एउटा मास्क र सेनिटाइजरको भरमा काम गर्नुपरेको छ।’ प्रादेशिक अस्पतालस्थित आइसोलेसन कक्षमा खटिएकी नर्स सुनिता कर्णले बिरामीलाई मित्रवत व्यवहार वातावरण निर्माण आवश्यक रहे पनि चिकित्सक बिरामीलाई हेर्न जान हिच्किचाउने गरेको बताइन्। उनले भनिन्, ‘क्वारेन्टाइन, आइसोलेसनमा डाक्टर साबहरु पस्दा बिरामीलाई कारागार प्रहरीले कैदीसँग गरेको व्यवहार जस्तै गर्छन्, सामान्य शंकास्पद व्यक्तिलाई पनि छुँदैनन्, केही गर्न परे नर्सलाई गराउँछन्।’

अस्पतालमा कार्यरत नर्सहरुले चिकित्सकहरु पिपिई लगाएर पनि बिरामी नजिक जान नचाहने तर नर्सहरुलाई पठाउने गरेको पुनिता यादवले बताइन्। उनले भनिन्, ‘अस्पतालले ग्लोब्स, स्यानीटाइजर, गाउन लगायतका समान्य सामग्रीसमेत दिएको छैन, कसरी बिरामी नजिक जाने ? ’ ‘बिरामी, कुरुवा आईसीयूदेखि सबै वार्डमा पुग्छन्, बिरामीलाई मात्र नभएर कुरुवासमेत संक्रमित भएको हुनसक्छ’, नर्स यादवले भनिन्, ‘हाम्रो आफ्नै सुरक्षाको ग्यारेन्टी भएन, काम कसरी गर्नु ? ’ क्वारेन्टाइनमा बसेका शंकास्पद बिरामीलाई मच्छडका लागि झुल दिने भनिए पनि हालसम्म उपलब्ध गराउन नसकेको नर्स यादवले बताइन्।

Related Articles

Back to top button
Close