स्वास्थ्य/ जिबनशैली

संक्रमितका श्रीमान-श्रीमतीलाई किन सरेन कोरोना ?

नेपालमा फेला परेका नौ संक्रमितमध्ये एकजनामा मात्रै स्थानीय स्तरमा कोरोना सरेको देखिन्छ । विदेशबाट आएका पुरुष संक्रमितको परिवारकै सदस्य ३४ वर्षीया महिलामा २२ चैतमा संक्रमण पुष्टि भएको थियो ।

संक्रमित पुरुषकी श्रीमती, बच्चा र परिवारका अन्य सदस्यको रिर्पोट भने नेगेटिभ आएको छ । संक्रमितका श्रीमान वा श्रीमती संक्रमणबाट बच्न सम्भव रहेछ भन्ने उदाहरण हो, यो ।

नेपालबाहिर पनि यस्ता घटना थुप्रै छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन, बेलायतका राजकुमार चार्ल्स, क्यानडाका प्रधामन्त्री जस्टिन द्रुडोकी श्रीमती सोफी जर्जियो, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजकी श्रीमती बगोना गोमेजमा कोरोना देखियो । तर, उनीहरूका श्रीमान वा श्रीमतीमा भने अहिलेसम्म संक्रमण पुष्टि भएको छैन ।

संक्रमितले हाच्छ्युँ गर्दा, खोक्दा, उसले प्रयोग गरेको शौचालय, छोएका वस्तुहरूबाट समेत भाइरस सर्छ भनिएको छ । तर, संक्रमितसँगै उठबस गरेकालाई पनि कोरोना नसर्ने सम्भावना हुँदो रहेनछ भन्ने माथिका उदाहरणबाट थाहा हुन्छ ।

नेपालकै सन्दर्भमा हेर्दा आठ जना संक्रमितका परिवारका सदस्यमा सौभाग्यले कोरोना देखिएको छैन । अहिलेसम्म नौमध्ये एउटा परिवारमा मात्रै दुईजना संक्रमित भेटिएका छन् ।

त्यसो भए तीन महिनामा १७ लाखभन्दा बढीमा देखिएको कोरोनाबाट संक्रमितका निकटस्थहरू कसरी जोगिए त ? संक्रमितकै परिवारका सदस्यहरू कोरोनाबाट सुरक्षित बस्न सम्भव छ त ?

‘सँगै उठबस गरेका सबैलाई सर्छ नै भन्ने होइन । सर्ने सम्भावना बढी हुन्छ मात्रै भनिएको हो’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन भन्छन् ।

नसर्ने तीन कारणविश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ज्येष्ठ नागरिक, पहिलेदेखि नै दम, मधुमेह, मुटुको रोग जस्ता स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई कोरोना भाइरसले गम्भीर बिरामी बनाउन सक्ने जनाएको छ । डब्लुएचओका अनुसार यसले कुनै पनि उमेर समूहका व्यक्तिलाई संक्रमित बनाउन भने सक्छ ।

विज्ञहरुका अनुसार संक्रमितसँग उठबस गर्दा पनि कोरोनाको प्रभाव नदेखिने तीन सम्भावित कारण यस्ता छन् ।

पहिलो, रोग प्रतिरोधात्मक क्षमता । कोरोना संक्रमित बिरामीको उपचारमा संलग्न डा. पुन कोरोना भाइरस प्रवेश गरिहाले पनि रोग प्रतिरोधात्मक क्षमता बलियो भएको व्यक्तिमा यसले असर नगर्न सक्ने बताउँछन् ।

‘अर्थात्, भाइरस सरिहाले पनि अस्पताल जानुपर्ने तहको लक्षण नदेखिन सक्छ’ उनी भन्छन्, ‘त्यही भएरै हो यस्तो बेलामा ज्येष्ठ नागरिक, बिरामी वा इम्युनिटी पावर कमजोर भएकालाई विशेष ख्याल राख्नु भनिएको ।’

दोस्रो, भाइरल लोड । संक्रमित व्यक्तिको थुक वा र्‍यालमा भाइरसको मात्रा (भाइरल लोड) समान हुन्छ भन्ने छैन । डा. पुनका अनुसार नयाँ व्यक्तिलाई संक्रमित गर्न निश्चित संख्याको भाइरस आवश्यक पर्छ । उनी भन्छन्, ‘खोक्दा वा हाँच्छ्यु गर्दा न्यून संख्यामा भाइरस फालिरहेको छ अर्को व्यक्तिमा संक्रमण नहुन सक्छ ।’

तेस्रो, व्यवहारजन्य संयोग । संक्रमितसँग एकपटक मात्रै भेट भएको वा भेटै नभई उसले प्रयोग गरेको वस्तुमा छोएकै आधारमा भाइरस सर्छ भन्ने पुष्टि भइसकेको छ । तर, सँगै उठबस गर्दा नसर्ने सम्भावना पनि उत्तिकै हुन्छ ।

डब्लुएचओका अनुसार कोभिड-१९ संक्रमित व्यक्तिले हाच्छ्युँ गर्दा र खोक्दा निस्कने थुक, सिँगान, र्‍यालको माध्यमबाट अर्को व्यक्तिमा सर्नसक्छ । डब्लुएचओले यसलाई श्वासप्रश्वासबाट सर्ने भाइरस पनि भनेको छ ।

तर, संक्रमितको थुक, र्‍याल वा अन्य माध्यमबाट आएको भाइरस नयाँ व्यक्तिको अनुहारमा पुगेको छैन भने नसर्न सक्छ । ‘मानौं, तपाईंको हातमा भाइरस आईंहाल्यो तर नाक, मुख, आँखामा पुग्नुभन्दा पहिला नै साबुन पानीले हात धुनुभयो भने सर्दैन’, डा. पुन भन्छन् ।

Related Articles

Back to top button
Close