समाचार

सागको भाउमा कुखुरा बेच्दै किसान

लकडाउनो कारण दाना अभावले गर्दा सप्तरी जिल्लामा सञ्चालित पोल्ट्री फर्महरू धरासायी बन्न थालेका छन् । सवारी साधन नचलेका कारण दाना आपुर्ति हुन नसक्दा कुखुरा दुब्लाउँदै मर्न थालेका छन् । लाखौंको लगानीमा सञ्चालित फर्महरूमा विगत दुई साता यता दाना आएको छैन । दाना नै नपाएपछि कुखुरा तथा चल्लालाई गहुँ तथा चामल खुवाएर जेनतेन ज्यान जोगाउने गरेको रुपनी गाउँपालिका–४ का कुखुरापालक कृषक दिपेन्द्रप्रसाद यादवले बताए ।

दाना अभावले कुखुराको वजन बढ्नुको साटो घट्दै गएकोले तरकारीको भाउमा बेच्न थालिएको छ । ऋण लिएर कुखुरा व्यवसाय सुरु गरेका उनी लकडाउनले गर्दा लगानी समेत डुब्ने अवस्था आएको दुःखेसो गर्छन् । कुखुरा तथा चल्लाका लागि दाना ढुवानीको वैकल्पिक व्यवस्था मिलाइए कुखुरा तथा चल्लालाई राहत हुने उनको भनाइ छ ।‘उत्साहका साथ कुखुरापालन सुरु गरेको थिएँ, लामो लकडाउनले सबै वर्वाद भएको छ’, कुखुरापालक दिपेन्द्रले भने, ‘अहिले दानाको अभावमा कुखुराहरुको ज्यान जोगाउन मुस्किल छ, गहुँ र पानी खुवाएर कुखुरा सहज रुपमा बाँच्ने अवस्था छैन ।’
सरकारले कुखुरापालनमा लागेकालाई प्रोत्साहनस्वरूप राहतको व्यवस्थापन गरिदिए केही सहज हुने उनले बताए ।

यस्तै पीडा विष्णुपुर गाउँपालिका वडा नम्वर–१ का कुखुराव्यवसायी मनोज कुमार यादवको पनि छ । ‘एक त कुखुराको वजन दाना अभावले बढिरहेको छैन भने अर्कोतर्फ बिक्रीका लागि तयारी अवस्थामा रहेका कुखुरा दुब्लाउँदै छन्’, उनले थपे, ‘कोरोना भाइरसको त्रासका कारण कुखुराको खाने घटेकोले सागकै भाउमा बिक्री गर्नुपर्ने अवस्था छ ।’

सप्तरी जिल्लामा चार सयभन्दा बढी पोल्ट्री फार्म सञ्चालनमा छन् । कुखुरापालक कृषकको समस्याप्रति सम्वन्धित निकायले ध्यान नदिए कुखुरापालन धरासायी हुने निश्चत रहेकोले सरोकारवालालाई गम्भीरतापूर्वक लिन व्यवसायीको आग्रह छ ।

Related Articles

Back to top button
Close