अन्तर्राष्ट्रिय समाचार

अस्ट्रेलियामा कोरोना भाइरसबाट संक्रमित सबै नेपाली निको भए

क्यानबेरास्थित नेपाली दूतावासका अनुसार दुई साता पहिले संक्रमण देखिएपछि घरैमा सेल्फ आइसोलेसनमा बसिरहेका उनीहरुको अन्तिम रिपोर्ट नेगेटिभ आएको हो। ‘यो अत्यन्तै खुसीको कुरा हो, कोरोना भाइरस देखिएका सबै नेपालीहरु निको भएर आफ्नो दैनिकीमा फर्किसक्नुभएको छ,’ अस्ट्रेलियास्थित नेपाली राजदूत महेशराज दहालले कान्तिपुरलाई भने।
यसपहिले तास्मानियामा एक नेपाली बिद्यार्थीमा भाइरसको संक्रमण देखिएको भए पनि उनी निको भएर घर फर्किसकेका छन्। करिब १ लाख २० हजार नेपाली बसोबास गर्ने अस्ट्रेलियामा कुनै पनि नेपाली संक्रमणमा नपर्नु खुसीको खबर भएको दूतावासको भनाइ छ।
दूतावासका अधिकारीले यहाँ रहेका नेपालीले सरकारले लागू गरेको सबै नियमलाई पालना गरेका कारणसमेत संक्रमण नभएको दाबी गरेको छ। राजदूत दहालले आफूले भाइरसको संक्रमण भएका नेपालीका बारेमा सम्बन्धित अवैतनिक दूतावास, एनआरएनलगायतका संस्थासँग समन्वय गरेर दैनिक रूपमा जानकारी लिने गरेको दाबी गरे।

‘अस्ट्रेलियाले भाइरस संक्रमण नियन्त्रणका लागि चालेका कदम प्रभावकारी भइरहेकाले समेत भविष्यमा संक्रमण हुने सम्भावना कम छ,’ उनले भने, ‘तर सबै नेपालीले सरकारले जारी गरेका नियम तथा सुझावलाई पालना गर्न आवश्यक छ।’
यसैबीच, दूतावासले अस्ट्रेलियामा रहेका नेपाली पत्रकारसँग समस्यामा रहेका विद्यार्थीलाई केकस्ता सहयोग गर्न सकिन्छ भन्नेबारे छलफल गरेको छ। भिडियोमार्फत गरिएको छलफलमा विद्यार्थीका समस्यालाई दीर्घकालीन समाधानको उपाय निकाल्नुपर्ने निष्कर्ष निकालिएको छ।

यहाँ अध्ययनरत करिब ५४ हजार नेपाली विद्यार्थी सबै समस्यामा नरहेको बताउँदै प्राथमिकताका आधारमा समस्यामा रहेका विद्यार्थीलाई सहयोग गर्नुपर्नेमा जोड दिइएको थियो। पत्रकारको संस्था एन्जाका अध्यक्ष हेमन्त काफ्लेले दूतावासले सही सूचना समयमै उपलब्ध गराउनुपर्ने र विद्यार्थीहरुको शुल्क, घरभाडालगायतका समस्यालाई कूटनैतिक रूपमा दीर्घकालीन रूपमा सम्बोधन गर्नुपर्ने सुझाव दिएका थिए।

अस्ट्रेलियामा अहिलेसम्म यस भाइरसका कारण ५४ जनाले ज्यान गुमाइसकेका छन् भने ६ हजार २ सयभन्दा बढी संक्रमित छन्। नयाँ संक्रमितको संख्या तुलनात्मक रूपमा कम हुँदै गएको भए पनि संक्रमणका कारण मृत्यु हुनेको संख्या भने बढिरहेको छ। शुक्रबार मात्र यहाँ कोभिड–१९ का कारण ३ जनाको मृत्यु भएको छ।

Related Articles

Back to top button
Close