समाचार

मस्जिदमा भीड नगर्न अनुरोध गर्न गएका असईमाथि हातपात,

रौतहटस्थित एक मस्जिदमा लकडाउनको अवधिमा भीडभाड नगर्न अनुरोध गर्न गएका एकजना नेपाल प्रहरीका असईमाथि हातपात भएको छ ।

मुस्लिम धर्मावलम्बीहरुको पर्व सबे बारातको पूर्वसन्ध्यामा बिहीवार साँझ रौतहटको परोहा नगरपालिकाअन्तरगत तेजापाकड मस्जिदमा भीडभाड नगर्न सम्झाउन गएका असई उपर हातपात भएको हो ।

तेजापाकड स्थित मस्दिजमा एकैठाँउमा सैयौँको संख्यामा मुस्लिमहरु जम्मा भएर नमाज पढिरहेको बेला सम्झाउन गएका नेपाल प्रहरीका असई मुनमुन सिंहमाथि मुस्लिम युवाहरुले हात पात गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस को संक्रमण नियन्त्रण गर्न सरकारले अगामी वैशाख ३ गते सम्मको लागि लकडाउनको घोषणा गरेको छ । तर यसै अवधिमा गत राति ७ बजे मुस्लिम धर्मावलम्बीहरुको एक पर्वको अवसर भन्दै तेजापाकडस्थित एउटा मस्जिदमा एकैठाँउमा दुुईसय बढी भेला भएका थिए ।

विशेष सूचनाको आधारमा प्रहरीचौकी लौकाहाका असई मुनमुन सिंह मस्जिदमा गएर त्यसो नगर्न एकठाँउमा ठूलो संख्यामा मानिस जम्मा नहुन आग्रह गएका थिए । असई सिंहले लकडाउन उल्लंघन नगर्न भीडले कोरोनाभाइरसको संक्रमण बढ्नसक्ने कुरो सम्झाई रहँदा केही युवाहरुले उनीमाथि हातपात गरेका थिए ।घटनालगतै जिल्ला प्रहरी कार्यालय गौर, आसपासबाट नेपाल प्रहरी सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालनपछि तेजापाकडको अवस्था साम्य भएको प्रहरीले जानकारी दिएको छ ।

असई सिंहमाथि हातपात गरेको अभियोगमा मस्जिद बाट प्रहरीले ३ जना युवालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा परोहा नपा–३ २६ वर्षीय कलाम अन्सारी, सोही ठाँउका १७ वर्षीय साजिद अन्सारी र १६ वर्षीय लालुु अन्सारी रहेको रौतहट प्रहरी प्रमुख एसपी रबीराज खडकाले बताएका छन् ।

पक्राउ परेका तिनैजना जिल्ला प्रहरी कार्यालय गौरको नियन्त्रणमा रहेको र घटनाको प्रकृयाअनुसार मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Related Articles

Back to top button
Close