समाचार

प्रत्यक्ष सम्पर्कमा नरहेकी भाउजुसँग कोरोना संक्रमणपछि परिवार अलमलमा

कुनै त्यस्तो लक्षणबिना नै स्थानीय एक महिलाबाट लिइएको स्वाबको परीक्षणले कोरोना ‘पोजेटिभ‘को नतिजा देखिएपछि उहाँको परिवारका कतिपय सदस्य अलमलमा परेका छन् ।

ज्वरो, रुघाखोकी, श्वास फेर्न गाह्रो हुने त्यस्तो कुनै लक्षण नदेखिएको र सङ्क्रमितसँग त्यस्तो उठबस पनि नभएको अवस्थामा पनि महिलामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएपछि कुन माध्यमबाट कसरी उनमा सङ्क्रमण भयो भन्नेमा परिवारका सदस्यहरु अलमलमा परेका हुन् ।

“त्यस्तो कुनै लक्षण नदेखिएको अवस्थामा सेती प्रादेशिक अस्पतालवाट आएको टोलीले घरमा बस्नुभएकी उहाँलाई लगेर जाँदा रोग कसरी सर्यो होला भनेर अलमलमा पर्यौँ”, सङ्क्रमित महिलाकी जेठानीले भनिन्, “विदेशवाट आइपुगेका देवर (सङ्क्रमित युवक)लाई भान्सामा उहाँले खाना खुवाउनुबाहेक अरु समयमा उठबस भएन, तर देवरको प्रत्यक्ष सम्पर्कमा रहेका परिवारका सदस्यमा रोग नसरेको देख्दा विचित्रको कुरा भएको छ ।”

कोरोना सङ्क्रमित युवककी श्रीमती र बच्चासहित घरपरिवारका अन्य सात जनाको नतिजा नेगेटिभ आएको छ । युवककी भाउजूमा नतिजा पोजेटिभ देखिएको हो ।

सङ्क्रमित व्यक्तिबाट परिवारकै अर्को सदस्यमा रोगको सङ्क्रमण भएको यस्तो घटनापछि कोरोना दोस्रो चरणमा प्रवेश गरेको घोषणा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही दिन अघि नै गरेको थियो । योसँगै रोकको रोकथाममा चुनौती पनि थपिदिएको छ ।

सङ्क्रमित युवक उनकी भाउजूसहित थप दुई पुरुषलाई सेती प्रादेशिक अस्पताल धनगढीमा राखेर उपचार भइरहेको छ । सङ्क्रमितको उपचारमा संलग्न अस्पतालका फिजिसियन डा शेरबहादुर कमरले कोरोना भाइरस शरीरमा गएपनि सबैलाई यो रोगको सङ्क्रमण नहुन पनि सक्ने बताउछन् ।

“सङ्क्रमित युवकलाई सङ्क्रमित महिलाले ज्वरो आएको भनेर खाना पानी दिनुभयो होला, नजानिँदो ढङ्गले भाइरसको सङ्क्रमण भएको हुनसक्छ”, उनले भने ।

Related Articles

Back to top button
Close