मनोरंजन

बाग्लुङकी कोरोना संक्रमित: मोबाइलमा चुट्के सुन्छिन्, झ्यालबाट डाँडा हेरेर दिन कटाउँछिन्

अहिले उनी धौलागिरि अञ्चल अस्पतालको तेस्रो तलामा रहेको आइसोलेसन वार्डमा छिन्। उनी हुन् बाग्लुङकी कोरोना संक्रमित ६५ वर्षीया महिला। जो आफूलाई ‘बाग्लुङकी आमा’ भनेर सम्बोधन गरियोस् भन्ने चाहन्छिन्।कोरोना संक्रमणपछिको एकान्तवासमा गीतसंगीत उनको साथी भएको छ।‘एउटा फुन छ, त्यसमा मेमोरी राखेर नातिले थुप्रै गीत राखिदिएको छ,’ उनले भनिन्, ‘बिहानदेखि बेलुकैसम्म त्यसैमा भजन, लोकगीत, चुट्के गीत सुनेर दिन कटाउँछु।’

कहिलेकाहीँ आइसोलेसन वार्डको झ्यालबाट बाहिर डाँडाकाँडा हेरेर पनि समय बिताउने उनको भनाइ छ।‘मलाई राखेको कोठबाट डाँडा देखिन्छ। पाङ, नाङ्लीवन र बनौ जस्ता ठूला पहाड छन्, हिमाल पनि देखिन्थ्यो अहिले कुहिरो लागेको छ, देखिएन,’ बाग्लुङकी आमाले आफ्नो दिनचर्याबारे बताइन्।

मोबाइलमा भएको ‘बाग्लुङ कालिका मलाई जुराइदेऊ दिलको मलिका’ भन्ने गीत पनि उनी दोहोर्‍याएर सुन्छिन्।‘आफ्नै गाउँ ठाउँको गीत बढी मनपर्छन्, दोहोरीमा अचेल केटाकेटीका माया, पिरतीसम्बन्धी गीत पनि सुन्छु,’ उनले हाँस्दै भनिन्, ‘दिन काट्न धौ हुन्छ, जेलमा बसेको जस्तो भा’छ, अनि गीत नसुनेर के गर्नु!’चैत २० गते कोरोना पोजिटिभ देखिएपछि उनलाई सो अस्पतालमा ल्याएर राखिएको हो।

कोहीसँग भेट्न, बोल्न नपाइने हुनाले दिक्क नलागोस् भनेर भोलिपल्ट उनलाई त्यो मोबाइल दिइएको हो। मंगलबार मात्रै उनले ३० वटा भन्दा बढी गीत सुनिसकेको बताइन्।बाग्लुङकी आमा दम र रक्तचापको रोगी हुन्। त्यसैले चिसो नलाग्ने कोठामा उनलाई राखिएको छ। पानी उनी आफैँ तताएर पिउँछिन्। सुन्तलाको केस्रा पनि उमालेर मात्रै खाने गरेकी छिन्।

अस्पतालमा उनी सामान्य खाना खाइरहेकी छन्।‘बिहान बिस्कुट र चिया, त्यसपछि दाल, भात तरकारी खान्छु,’ उनले भनिन्, ‘दिउँसो फलफूल खान्छु। तर, सबैजसो उमालेर मात्रै खानुपर्छ, चिसो खानै हुँदैन।’दुई छोरा र दुई छोरीकी आमा हुन् उनी। श्रीमान् बितेको दुईवर्ष भयो। जेठी छोरी बाग्लुङमै छिन्, कान्छी छोरी बेल्जियममा। जेठा छोरा बाग्लुङमै छन्, कान्छा छोरा रोजगारीको सिलसिलामा विदेशमा छन्।

उनीसँग कान्छो छोराको परिवार बस्छ। फागुन १३ गते बेल्जियम बस्ने कान्छी छोरीले किनेको घर हेर्न भनेर उनी बाग्लुङबाट हिँडिन्।१४ गते मध्यान्ह उनी बेल्जियमका लागि उडिन्। राति १२ बजे उनी छोरीकोमा पुगिन्। छोरीको घरमा पुगेको केही दिनमै महामारीको चर्चा हुन थाल्यो। जसका कारण उनले घुमफिरको मौका समेत पाइनन्।तीन वर्षअघि माघ, फागुनतिरै उनी पति सहित बेल्जियम गएकी थिइन्।

‘त्यो बेला धेरै घुमिएको थियो। तर, यो पटक रोग आयो, घुम्न पाइएन,’ उनले भनिन्।एक महिनाको भिजिट भिसामा बेल्जियम गएकी उनी भ्रमण अवधि छोट्याएर १९ दिनमै चैत ३ गते कतार एयरवेजको विमानबाट काठमाडौं फर्किन्।कतारको दोहामा ट्रान्जिट परेको थियो। चैत ४ गते उनी चढेको विमान काठमाडौं अवतरण गर्‍यो।

सोही विमानमा फ्रान्सबाट आएकी एक युवतीमा चैत १० गते कोरोना संक्रमणको पुष्टि भयो।त्यो खबर सुन्नेबित्तिकै उनी आफ्नो घरमा छोरा, नाति र बुहारीबाट छुट्टै बस्न थालिन्।त्यसअघि उनले केही बालबालिकालाई चकलेट बाँडेकी थिइन्। तर, घरबाट टाढा कतै गएकी थिइनन्।चैत १७ मा उनको पनि नमुना संकलन गरेर बाग्लुङबाट पोखरा हुँदै काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइयो। त्यसको ३ दिनपछि नतिजा आयो।

‘मलाई कोरोना लागेको रहेछ,’ उनले भनिन्।उनलाई तनाव भयो। तनावकै कारण रक्तचाप ह्वात्तै बढ्यो। त्यसपछि उनलाई एकैपटक अस्पतालको वार्डमा पुगेको मात्रै सम्झना छ।यो कस्तो खालको रोग हो भन्ने पनि उनलाई थाहा छैन। दमको रोगी, रक्तचापको औषधि खाइरेकी उनलाई कोरोना देखिएको भन्नेबित्तिकै घरमा डरको माहौल छायो। कोरोनाले वृद्ध र अन्य रोगीहरुमा गम्भीर समस्या निम्त्याउँछ भन्ने सुनेका उनीहरु भयभीत हुने नै भए।

परिवारका सबैको कोरोना भाइरस परीक्षण गरियो। दुई दिनसम्म रिपोर्ट आएन, उनलाई सहिनसक्नु छटपटी भयो। रक्तचाप बढ्यो।‘दुई ट्याम औषधि खानुपर्‍यो नि, धेरै टेन्सनमा थिएँ,‘ उनले भनिन्, ‘पछि रिपोर्ट आयो सबैको कोरोना नेगेटिभ, अनि म ढुक्क भएँ। अहिले त त्यही दबाइ दिनको एक ट्याम खान्छु।’

उनी १६ वर्षदेखि दमको औषधि सेवन गरिरहेकी छिन्। प्रेसर बढ्यो भने दम बढ्छ, त्यही भएर मनमा कुनै पिर नलिन, ठूलो स्वरले नबोल्न र धेरैजनासँग फोनमा कुरा नगर्न डाक्टरले उनलाई सल्लाह दिएका छन्।‘मेरो दिनमै कति फोन आउँछ कति, अस्ति राति १० बजेसम्म अमेरिकामा रहेका देबर–देउरानीले फोन गरे, हिजो काठमाडौंमा रहेका आफन्तले पनि फोन गरे, बेल्जियम रहेकी छोरीले दैनिकजसो फोन गर्छे,’ उनले थपिन्, ‘मेरो बारेमा सबैले थाहा पाएपछि चिन्ता लागेको होला।’

नेपालमा संक्रमितमध्ये सबैभन्दा पाको उमेरकी हुन् उनी। तर, बाग्लुङकी आमालाई अहिलेसम्म कुनै लक्षण देखिएको छैन।‘कुनै समस्या देखिएको छैन, ज्वरो पनि आएको छैन, डाक्टरले डराउनु पर्दैन भन्नुभएको छ, म पनि आत्तिएकी छैन’, उनले भनिन्, ‘मेरो आत्मबल उच्च छ, हरेस खान्नँ।’एकान्तवासमा बस्दा बस्दा कहिले त्यहाँबाट निस्कौँ भएको छ उनलाई।‘तर, १४ दिन बस्नुपर्छ भनेका छन्, बस्छु,’ उनले भनिन्।यतिञ्जेल उनले एउटा प्रश्नको जवाफ भने पाएकी छैनन्।‘मलाई कोरोना कहाँ र कोबाट सर्‍यो थाहा पाएकी छैन,’ उनी भन्छिन्।

Related Articles

Back to top button
Close