समाचार

प्रहरीलाई नेविसंघको चेतावनी : काँग्रेस सरकारमा आएको दिन फुली खोस्छौं

नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले शुक्रबार राजधानीमा आफूविरुद्ध प्रहरी प्रशासनबाट भएको धरपकडको विरोधमा प्रदर्शन गरेको छ ।

निर्वतमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई कानुनी कारबाहीको माग गर्दै काठमाडौंस्थित प्रदर्शनीमार्गमा भएको आन्दोलनमा प्रहरीको धरपकडबाट नेविसंघ अध्यक्ष र चार जना महामन्त्रीसहित दजनौँ नेता कार्यकर्ता घाइते भएका थिए ।

त्यसको विरुद्धमा नेविसंघले शुक्रबार प्रदर्शनीमार्गमा गरेको बृहत् विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेविसंघ अध्यक्ष राजीव ढुंगानाले शान्तिपूर्ण प्रदर्शनमा दमन गर्ने प्रहरी अधिकृतको फुली खोस्ने चेतावनी दिए ।

‘फुली थपिने आशामा छात्रामाथि पुरुष सुरक्षाकर्मी लगाएर लाठीचार्ज, कति बहादुर डीएसपी । ओली सत्ताबाट गएको दिन, काँग्रेस सरकारमा आएको दिन तपाईंको फुली खोस्छौं,’ अध्यक्ष ढुंगानाले भने ।

जनताको तिरोबाट तलब खाने प्रहरीले जनतामाथि नै ज्यादति नगर्न अध्यक्ष ढुंगानाले सचेत गराए ।

‘प्रहरीले खाने तलब ओलीले झापाबाट धान बेचेर ल्याएको पैसा होइन, जनताको तिरो हो । जनताको तिरो खाएर जनताको टाउको फुटाउन उद्दत नहुनुस्,’ उनको भनाइ थियो ।

यस्तै महामन्त्री दीपक भट्टराईले नेविसंघलाई नजिस्क्याउन प्रहरीलाई चेतावनी दिए । उनले भने, ‘नेविसंघलाई जिस्क्याउँदा सरकार र सुरक्षाकर्मीले हेक्का राख्दा हुन्छ, के हुन्छ भनेर । त्यसको ठूलो मूल्य चुकाउनुपर्छ ।’

बाँस्कोटाले राजीनामा दिँदैमा उन्मुक्ति नमिल्ने भन्दै कानुनी कारबाही अगाडि नबढाउँदासम्म नेविसंघले आन्दोलन जारी राख्ने भटराईले चेतावनी दिए ।

Related Articles

Back to top button
Close