अन्तर्राष्ट्रिय समाचार

जर्मनी लैजाँदै गरिएको मास्क बीच बाटोमै अमेरिकाद्वारा ‘कब्जा’

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जर्मनी लैजान लागिएका मास्क अमेरिकामा निर्मित हुन् । बर्लिनस्थित एक स्थानीय सरकारले मगाएका ‘एफएफपी–२’ मास्क बैंककमा जफत गरिएको हो । ती मास्क बर्लिनको प्रहरीका निम्ति मगाइएको बताइएको छ ।

चीनका वुहानबाट फैलिएको भाइरसबाट युरोपेली देश र अमेरिका अति प्रभावित भएको देखिएको छ । बर्लिनका आन्तरिक मामिलामन्त्री आन्द्रियास गिजेलले ती मास्क अमेरिकातर्फ लगिएको दाबी गरेका छन् ।कोरियाली युद्धताका निर्मित कानुनको उपयोग गर्दै राष्ट्रपति ट्रम्पले आफ्नो देशका उत्पादन अन्य देशमा निर्यात गर्न प्रतिबन्ध लगाएपछि मास्क निर्माता अमेरिकी कम्पनी थ्री एम उक्त कदम चाल्न बाध्य भएको जनाइएको छ ।

ट्रम्पले ‘डिफेन्स प्रोडक्सन एक्ट’ नामक कानुन लागू गर्दै मेडिकल सामग्रीको उत्पादन तथा आपूर्ति गर्ने अमेरिकी कम्पनीलाई घरेलु माग धान्न बाध्य पारेका थिए । ‘ती सामान घरेलु प्रयोगका लागि तत्काल हामीलाई चाहिन्छ । ती हामीसँगै हुनैपर्छ,’ कारोना भाइरससम्बन्धी दैनिक ब्रिफिङका क्रममा ट्रम्पले भने ।ट्रम्पले करिब २ लाख ‘एन–९५’ मास्क, १ लाख ३० हजार सर्जिकल मास्क तथा ६ लाख पन्जा अमेरिकी अधिकारीहरूले जफत गरेका बताए । यद्यपि, राष्ट्रपति ट्रम्पले ती कहाँ र कसरी जफत गरिएका हुन् भन्ने खुलाएनन् ।

जर्मनमन्त्री गिजेलले त्यसरी बर्लिन ल्याउन लागिएका मास्क अन्यत्र लगिनु ‘आधुनिक डकैती’ भएको बताउँदै ट्रम्प प्रशासनलाई व्यापारका नियम मान्न सुझाव दिएका छन् । ‘एटलान्टिक पारिका आफ्ना साझेदारहरूसँग व्यवहार गर्ने यो उपयुक्त शैली होइन । विश्वव्यापी संकटकै बेला यस्ता जबरजस्ती गरिनु झन् उचित होइन,’ उनले भने ।युरोपेली देशका अन्य नेताहरूले पनि मास्क तथा मेडिकल सामग्री खरिदमा आफूलाई धोका भएको बताएका छन् । फ्रान्सको ले–दे–फ्रान्स क्षेत्रका सभापति भेलेरी पेक्रेसेंले पनि आफूहरूलाई मास्क खरिदका क्रममा अमेरिकी कम्पनीले बेइमानी गरेको बताएका छन् ।

‘मैले मास्कको मौज्दात भेटें र किन्न खोजें,’ उनले भने, ‘तर अमेरिकीहरूले तीन पटकसम्म फरक–फरक मूल्य प्रस्ताव गरे र बढी तिर्न बाध्य पारे ।’ उनले युरोपमा महामारी फैलिएसँगै मास्क तथा अत्यावश्यक मेडिकल सामग्रीको भाउ बढाइएको बताए ।त्यसैगरी, चीनबाट डेनमार्क लग्न लागिएका ४ लाख मेडिकल मास्क तथा कोभिड–१९ परीक्षण किट बीचबाटै अन्यत्र पुर्‍याइएको थियो । धेरै मूल्य पाएपछि ती सामान अर्को देशलाई बेचिएको डेनमार्कको आरोप छ । कोभिड–१९ को संक्रमण फैलिएसँगै इटाली र स्पेन यसअघि चीनसँग अर्डर गरेका मेडिकल सामग्री आफ्नो देशमा पुगेका भए पनि कम गुणस्तरका भएपछि फिर्ता गरेका थिए ।

Related Articles

Back to top button
Close