अन्तर्राष्ट्रिय समाचार

इटलीमा १५ हजार बढीको मृत्युपछि आशाको पहिलो किरण

संसारभरी कोरोनाभाइरसको कहर बढ्दो छ तर यो महामारीका कारण सबैभन्दा धेरै मृत्यु इटलीमा भएको छ ।इटलीका अधिकारीका अनुसार शनिबार पनि यो भाइरसका कारण ६ सय ८१ जनाको मृत्य भएको छ जसका कारण मृतकको कूल आँकडा १५ हजार ३ सय ६२ पुगेको छ ।

तर शनिबार लामो समयपछि इटलीमा आशाको पहिलो किरण देख्न पाइएको छ ।इटलीमा सर्वसाधारणको सुरक्षा गर्ने सभिल प्रोटेक्सन डिभिजनका अनुसार देशमा पहिलो पटक इन्टेन्सिभ केयर युनिटमा उपचार भइरहेका बिरामीको संख्यामा कमी देखियो ।इटलीको सिभिल प्रोटेक्सन डिभिजनका प्रमुख एन्जेलो बोर्रेलीले मिडियासँगको कुराकानीमा शुक्रबार इटलीको अस्पतालमा गम्भीर रुपमा बिरामीको संख्या ४ हजार ६८ थियो जुन शनिबार कम भएर ३ हजार ९ सय ९४ भएको जानकारी दिए ।

एन्जेलो बोर्रेलीले भने, ‘यो हाम्रो लागि असाध्यै महत्वपूर्ण आँकडा हो किनभने गम्भीर रुपमा बिरामीको संख्या कम भएको यो पहिलो घटना हो । यो यसकारण पनि महत्वपूर्ण छ किनभने हाम्रा अस्पतालले थोरै राहत पाउनेछन् । उनीहरुले सास फेर्ने मौका पाउनेछन् । जबदेखि हामीले आपतकालीन स्थिती देखेका छौं तबदेखि पहिलो पटक क्रिटिकल बिरामीको संख्यामा कमी आएको छ ।’

इटालियन सरकारको साइन्टिफिक काउन्सिलका प्रमुख फ्रान्को लोकतेलीले क्रिटिकल बिरामीको संख्यामा कमी एउटा महत्वपूर्ण संकत भएको बताएका छन् । यद्यपि, उनले इटलीले क्रिटिकल स्टेज पार गरेको भनेर अनुमान गर्नु गलत भएको पनि स्पष्ट पारे ।उनले भने, ‘यसमार्फत् यो पुष्टि हुन्छ कि हामीले जुन तौर तरिका अपनाइरहेका छौं, त्यो सफल साबित भइरहेको छ ।’

सफल भए उपायःइटलीमा नयाँ संक्रमितको संख्यामा पनि कमी आइरहेको देख्न सकिन्छ । शनिबार इटलीमा २ हजार ८ सय ८६ कोरोना भाइरसको नयाँ संक्रमित भेटिए । हालसम्म इटलीमा कोरोनाभाइरसका ८८ हजार २ सय ७४ एक्टिभ संक्रमित छन् ।

यसका साथै २० हजार ९ सय ९६ बिरामीको उपचारपछि निको भइसकेका छन् ।लोम्बार्डीको उत्तरी क्षेत्र यो भाइरसले सबैभन्दा बढी प्रभावित छ । देशभरीको संक्रमितमध्ये ८५ प्रतिशत बिरामी यसै क्षेत्रका छन् र जति मृत्यु इटलीमा भएको छ तीमध्ये धेरै यही इलाकाका छन् ।यो इलाकाका जनतालाई घरबाट बाहिर निस्कँदा सुरक्षाका लागि अनिवार्य मास्क लगाउन भनिएको छ । यो नयाँ प्रावधान ५ अप्रिलदेखि १३ अप्रिलसम्म जारी रहनेछ ।

यतिमात्रै होइन इटलीको उत्तरी हिस्साको अर्को शहर वेनेतो र आल्टो एडिगेमा पनि मानिसहरुलाई बजार वा सपिङ सेन्टरमा किनमेलका लागि जाँदा मास्क लगाउन अनिवार्य गरिएको छ ।

Related Articles

Back to top button
Close