अन्तर्राष्ट्रिय समाचार

अमेरिकामा ५०० नेपालीमा कोरोनाको सङ्क्रमण

अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन् । अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाइएको छ तर यसको स्वतन्त्ररूपमा पुष्टि हुन सकेको छैन ।

अमेरिकामा रहेका नेपाली कति सङ्क्रमित भएका छन् भन्नेबारे आधिकारिकरूपमा बताउन कसैले पनि सकेका छैनन् ।
अमेरिकामा रहेको नेपाली दूतावासले नेपालीलाई कुनै समस्या परेको खण्डमा सम्पर्क गर्न भन्दै विभिन्न टेलिफोन नम्बर दिएको छ भने दूतावासको वेबसाइटमा एउटा फर्मसमेत राखिएको छ ।

रासससँगको कुराकानीका क्रममा अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुन कार्कीले अमेरिकामा पर्यटन वा अन्य प्रयोजनका लागि भ्रमणमा आएका नेपालीलाई विषम परिस्थितिमा उत्पन्न समस्या र भिसालगायतको विषयमा सम्बोधनका लागि अमेरिकी सरकारसमक्ष आवश्यक प्रक्रियाका लागि कूटनीतिक पत्राचार गरेको बताउनुभएको छ । अमेरिका भ्रमणमा रहेका कतिपय नेपालीको भिसाको म्याद सकिएको र उनीहरुमा ‘ओभरस्टे’ हुने हो कि भन्ने आशङ्का रहेको छ ।

अमेरिकाको राज्यसभाको विधायकमा निर्वाचित ह्यारी भण्डारीले नेपालीभाषी अमेरिकीको सहयोगका लागि आफ्नो कार्यालयले विभिन्न कार्यक्रम गरेको बताए ।भण्डारीले आफ्नो विभिन्न माध्यम तथा स्थानीय नेपाली समुदायसँगको परामर्शका आधारमा दैनिकरूपमा नेपालीभाषीहरु कोरोनाबाट सङ्क्रमित भएको रिपोर्ट आएको बताउँछन् । भण्डारीको कार्यालयले नेपालीभाषीका लागि बेरोजगार घोषणा गर्ने फर्म तथा व्यवसायमा आधारित कर्जा तथा कतिपय व्यक्तिको सङ्क्रमण परीक्षणका लागि सहयोग गरेको बताउँछन् ।

सङ्घीय जनप्रतिनिधिसँग समेत सहकार्य गरेर नागरिकका विभिन्न समस्याको सहजीकरणका लागि काम गरिरहेको उनले बताए । भण्डारीले मेरिल्याण्ड जनरल एसेम्बलीमा हेल्थ एण्ड गभर्नमेन्ट अपरेशन कमिटीको सदस्यका रूपमा समेत काम गरिरहेका छन् । यसपटक मेरिल्याण्डको जनरल एसेम्बली १५८ वर्षमा पहिलोपटक तोकिएको समयभन्दा अगावै कोरोना भाइरसका कारणले अन्त्य गरिएको थियो ।

Related Articles

Back to top button
Close