मनोरंजन

बुवासँगै बेल्जियमबाट फर्किएकी भए मलाई कोरोना संक्रमण हुने थिएन कि!’

जहाज कतारको दोहाको लागि उड्यो। रातको समय थियो, बाहिर खास केही देखिन्थेन। निदाउँदै, ब्युझँदै समय बित्यो। जहाज दोहा अवतरण गर्‍यो।नेपाल आउन त्यहाँबाट अर्को जहाज चढ्नु पर्थ्यो। तीन घन्टा दोहामा ट्रान्जिट थियो। त्यतिञ्जेल म एकैठाउँमा मोबाइल चलाएर बसिरहें। यताउता, भीडभाडमा कतै गइनँ।

हामी चैत ४ गते बिहान कतार एअरको क्युआर ६५२ फ्लाइटमा नेपाल आउन उड्यौं। बिहान साढे १० बजे जहाज काठमाडौं अवतरण गर्‍यो। हामीलाई लिन हजुरआमाको ज्वाइँ एयरपोर्ट आउनुभएको थियो। सुरूमा माइक्रो बसबाट घर जाने कि भन्ने पनि कुरा भयो, हजुरआमाले पोखरासम्म प्लेनमै जाने भन्नुभयो। त्यसपछि यती एअरको जहाजबाट पोखरा आयौं। त्यसपछि जीप चढेर बाग्लुङ।घर पुग्दा हजुरआमा, हजुरबुवा र बुवा सबैसँगै हुनुहुन्थ्यो। बुवा तीन हप्ताअघि मात्र म उतै हुँदा बेल्जियमबाट नेपाल आउनु भएको थियो। हजुरआमा-बुवा भेटेर मन फेरि फुरूंग भयो। म सानै हुँदा बुवाआमा बेल्जियम जानु भएको हो। म हजुरआमा हजुरबुवासँगै हुर्किएँ। मलाई अझै पनि उहाँहरूको काख प्यारो लाग्छ।

बेल्जियमबाट आएको रात म चाँडै खाना खाएर सुतें। भोलिपल्ट बिहानै उठेर कपडा धोएँ। त्यसपछि खाना खाएर छिमेककी साथीलाई भेट्न गएँ। उसलाई मेकअप सामग्री र टिसर्ट ल्याइदिएकी थिएँ।ऊ मेरी सानैदेखिकी साथी हो। मेरा कलेजका साथीभन्दा यही साथी प्यारी लाग्छे। दोस्ती उसैसँग बलियो छ। अहिले पनि अस्पतालमा मन खिन्न भए उसैलाई फोन गर्छु। निको भएपछि घर गएर त्यसको पसलमा धेरै चटपटे खाने मन छ!

बेल्जियमबाट आएको भोलिपल्ट उसलाई भेट्न जाउन्जेल मलाई ठीकै थियो। स्वास्थ्यमा कुनै समस्या थिएन। न कोरोना संक्रमणको कुनै लक्षण थियो, न मनमा कुनै आशंका।उसको घरबाट फर्किएको केहीबेरपछि भने गडबडी सुरू भयो- थोरै ज्वरो र खोकी सुरू भयो। एकाबिहानै चिसो पानीमा धेरै कपडा धोएकाले चिसो लाग्यो होला भन्ठानें। खासै वास्ता गरिनँ।त्यो रातभरि मलाई ज्वरो आयो। बिहान बाग्लुङ बजारबाट औषधि लगेर खाएँ। केहीबेर सन्चोजस्तो भयो। पछि फेरि ज्वरोले च्याप्न थाल्यो।

चैत १० गते मैले एउटा समाचार सुनें। मनै खङरंग भयो। चैत ४ गते कतारबाट हामीसँगै क्युआर-६५२ जहाजमा आएकी एकजना युवतीमा कोरोना संक्रमण देखिएको समाचार थियो त्यो। तुरून्तै मैले परिवारलाई सुनाएँ। बुवाले अस्पताललाई फोन गर्नुभयो।अस्पतालले मलाई छुट्टै बस्न सल्लाह दियो। मेरो ‘आइसोलेसन’ त्यहीँबाट सुरू भयो। भोलिपल्ट स्वास्थ्यकर्मीको टोली घरमै आएर मेरो स्वाब झिकेर परीक्षण गर्न काठमाडौं पठाए।नतिजा नआउन्जेल चिकित्सकले ‘सेल्फ क्वारेन्टाइन’मै बस्न सुझाए। मेरो मनमा छटपटी र बेचैनी सुरू भयो। त्यो रात म सुत्नै सकिनँ। डरमात्र लागिरह्यो- नतिजा पोजेटिभ आयो भने के गर्ने होला? म आत्तिएँ।त्यसको केही दिनमा बुवालाई अस्पतालबाट फोन आयो। म बुवाको नजिकै थिएँ। बुवा घरपछाडि गएर बोल्न थाल्नुभयो। मेरो मनमा चिसो पस्यो। तर म चुपचाप त्यहीँ बसिरहें।

केहीबेरमा बुवा म भए ठाउँ आउनुभयो। म झनै डराएँ। त्यसपछि मैले सुन्न नचाहेको खबर आयो‍- मेरो स्वाब परीक्षणको नतिजा ‘पोजेटिभ’ आएको थियो। अर्थात् म कोरोना भाइरसबाट संक्रमित थिएँ। म भक्कानिएर रून थालें। बुवा पनि के थामिन सक्नुहुन्थ्यो। घरमा एकैछिन रूवाबासी चल्यो। हजुरआमा र हजुरबुवाको आँखा पनि आँसुले भरिए। छिनभरमै बेल्जियमबाट आमाको फोन आयो। हामीले केही कुरा गर्न सकेनौं। मेरा आँखाबाट आँसु अविच्छिन्न बग्ने थाले। सात समुन्द्रपारि जोडिएको फोनको अर्कोपट्टि आमाको पनि सायद त्यही हाल थियो! बरू यहाँबाट नगएको भए त्यस्तो हुँदैनथ्यो होला भनेर आमा एक्कासि भक्कानिनु भयो। मैले पनि आफूलाई थाम्न सकिनँ।

अस्पतालबाट केहीबेरमै बिरामीलाई भोलि बिहान भर्ना गर्न ल्याउनु भन्ने खबर आयो। अब भने म झनै आत्तिएँ।बाबा, हजुरआमा र अरू आफन्तले आँट दिएपछि सुत्न गएँ। सायद मन थाकेको थियो, केहीबेरमै निदाएछु। केहीबेरमा बुवाले फेरि उठाउनु भयो। त्यहीबेला अस्पताल जाने कुरा गर्नुभयो। बाबाले त्यसो भनेपछि मलाई गाह्रो भयो।

म फेरि भक्कानिएँ। डराएँ। सबैले सम्झाउनु भयो। म त्यही रात गाडी चढेर अस्पताल पुगें।अस्पतालको दोस्रो तलामा रहेको आइसोलेसन बेडमा मलाई भर्ना गरियो। केही अप्ठ्यारो परे फोन गर्न भनेर डाक्टरहरू बिदा भए। अब भने सुनसान कोठामा म साँच्चै एक्ली भएँ। वरपर न कुनै बिरामी, न कसैको आवतजावत। ड्युटीमा रहेका नर्सहरू पनि पहिलो तलामा थिए।त्यो रात म खुब डराएँ। डरले रातभरि सुत्नै सकिनँ। धेरैचोटि निदाउन लाग्दा झस्किँदै ब्युझिएँ। बुवासँग रातभरिनै बोल्न पाए हुन्थ्यो भन्ने लागिरह्यो। त्यो रात त बिहान पनि ढिलोगरि मात्र भयो। मैले जीवनमा त्यो रात जति घडी कहिल्यै हेरेको छैन।

एक रात, दुई रात गर्दै बिस्तारै सजिलो हुन थाल्यो।अहिले म सम्हालिन थालेकी छु। रात काट्न सजिलो हुन थालेको छ।दिनभरि झ्यालमै बस्छु। बोल्ने कोही मान्छे हुँदैन। झ्यालबाट बाहिर हेर्छु, कहिले निस्केर त्यहाँ जान पाइएला भन्ने हुन्छ। अहिले रातभन्दा दिन पट्यारलाग्दो हुन थालेको छ।यसरी रात र दिन एक्लै झेलेको साता दिन भयो। सकभर बिहान ६ बजे उठिसक्छु। एकैछिन मोबाइल चलाउँछु। कोठामै पानी तताउने भाँडो छ। आफैं तताएर खान्छु। त्यसपछि बिहान एक राउन्ड डाक्टर आएर स्वास्थ्यबारे जानकारी लिन्छन्। सामान्य प्रेसर जाँच गर्छन्। अब सबै रूटिन सामान्य हुन थालेको छ। बिहान १० बजे खाना आउँछ। खानामा साधारण दाल, भात तरकारी दिने गरेको छ। साझँ फेरि चिकित्सकको राउण्ड, अनि खाना। बेलुकाको खाना खाएर साढे नौ बजेतिर सुत्छु।

घरको याद आइरहन्छ, बुवा, हजुरबुबा-आमाको याद आउँछ। अनि याद आउँछ हजुरआमाले बनाएको खानाको। अहिले पनि हजुरआमाले बनाएको आलु र बन्दाको तरकारी याद आउँछ। घर गएर त्यही खान मन छ। अनि साथीको पसलमा गएर चटपटे खाने मन छ।गएको बिहीबारमात्र मेरो स्वाबको दोस्रो परीक्षणको नतिजा आयो। त्यो पनि पोजेटिभ नै। यसपालि डर लागेन। निको भएर घर जान्छु नै। तर अस्पतालको बसाइँ लम्बिएको छ। नेगेटिभ आउला र चाँडै घर जान पाइएला भन्ने कत्रो आशा थियो! डाक्टरले पनि मलाई चाँडै निको हुन्छ भनेका छन्। त्यही ‘नेगेटिभ’ नतिजा कुरेर बसेकी छु।

बिहीबारनै मसँगै बेल्जियमबाट आएकी हजुरआमालाई पनि कोरोनाको संक्रमण भएपछि म बसेकै अस्पतालमा भर्ना गरिएको छ। हामी ओल्लोपल्लो कोठामा छौं। तर हाम्रो कुरा भएको छैन। हजुरआमाले फोनमा गुनगुन गरेको सुन्छु।मलाई कहाँ संक्रमण भयो होला भनेर म सोच्छु। हामी दुबैलाई बेल्जियम विमानस्थलमै संक्रमण सरेको हो कि भन्ने लागेको छ। त्यहाँ धेरै भीडभाड थियो। त्यही बेलामा कसैसँग ‘टच’ भएर हामीलाई सर्‍यो कि!

म बेल्जियम हुँदै बुवा फागुन १२ गते नेपाल आउनु भएको थियो। मलाई पनि सँगै जाऔं भन्नुभएको थियो। पहिलो पटक बेल्जियम गएकी मलाई भने त्यहाँ बस्न पुगेकै थिएन। आमा भाइ-बहिनीसँग बसेर धित् मरेकै थिएन।त्यसैले थप तीन हप्ता म उहीँ बसें। अहिले अस्पतालमा बस्दा घरिघरि सोच्छु- बुवासँगै फागुन १२ गते फर्किएकी भए मलाई संक्रमण हुने थिएन कि!

Related Articles

Back to top button
Close