समाचार

नेपाली विष्णु रिजाल‘१० दिन अचेत भएर लडेँ, कोरोनालाई जितेर घर फर्किएँ’

बार्सिलोना । ‘म अहिले ठीक छु । सबैको कुशलताको कामना गर्दै सजग रहन अनुरोध गर्दछु । जीवनको जन्मपश्चात मृत्यु साश्वस्त सत्य हो । तर, त्यो सत्यको विरोधमा हामी संघर्षशील रहिरहन्छौं । सायद यही नै जीवनप्रतिको मोह हो ।’

कोरोना संक्रमण भएपछि दुईहप्ताको कष्टकर अस्पताल बसाइबाट शनिबार घर फर्किएका स्पेन निवासी नेपाली विष्णु रिजालले सामाजिक सञ्जालमा लेखेका वाक्यहरु हुन् यी ।

स्पेनको बार्सिलोनामा एक दशकभन्दा लामो समयदेखि परिवारसहित बस्दै आएका रिजालको मूल घर नेपालको अर्घाखाँची हो । उनलाई १० दिनसम्म सघन कक्षमा राखेर उपचार गरियो । उनको होस गुम्यो । डाक्टरहरुले पनि बचाउन गाह्रो हुन्छ कि भन्ने ठाने । अन्ततः विष्णुले कोरोनाविरुद्धको लडाइँलाई जितेरै छाडे । र, समुदायकै मनोबल उच्च पार्ने गरी आशाको दियो बालेर झुल्किए ।

अहिले बार्सिलोनास्थित आफ्नै घरको आइसोलेसनमा रहेका रिजालले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘डाक्टहरुले भनेअनुसार मेरो उच्च मनोबलले नै म बाँचेको हुँ । नयाँ जीवन यसैको प्रतिफल हो ।’ अस्पतालबाट डिस्चार्ज भएपछि उनै विष्णु रिजालसँग अनलाइनखबरले टेलिफोनमा गरेको कुराकानी–

अहिले तपाईंको स्वास्थ्य कस्तो छ ?औषधि खाइरहेको छु । अक्सिजन लिनुपरेको छैन । बोल्दा धड्कन बढेर असजिलो हुन्छ । तर, समाजका लागि सन्देश पुगोस् भनेर नै म कुराकानी गर्न तयार भएँ । दश दिनसम्म अत्तोपत्तो नहुँदा नेपाली समुदायले आशा मारिसकेका थिए । तर, म अहिले ठीक छु । डाक्टरहरुले पनि होटलको क्वारेन्टाइन बस्नुभन्दा घरमै गएर आराम गर्न सुझाव दिएपछि म घरमै आएँ ।

अहिले तपाईंको रेखदेख गर्ने को–को हुनुहुन्छ ?श्रीमती, एक छोरा र एक छोरी छन् । म बिरामी भएँ । लामो समय अस्पताल बस्नुपर्यो, तर मेरो परिवारका अरु सबै सदस्यहरु ठीक छन् सुरुमा कस्तो लक्षण देखिएको थियो ?

मैले औषधि खाइरहेको थिएँ । मौसम परिवर्तन हुँदा त्यो सबैले खाइराखेको नै हो । तीन दिन औषधि खाएपछि मलाई सञ्चो भएजस्तो भयो । चौथो दिनको राति सामान्य खोकी लाग्यो । लगातार खोकी लागेपछि सास फेर्न गाह्रो भयो । अक्सिजन नपुगेको जस्तो भान भयो । त्यसपछि मार्च २२, आइतबारका दिन छोरालाई लिएर अस्पताल पुगें ।

अनि त्यसपछि ?डाक्टरहरुले दिसा–पिसाव लगायत सबै जाँच गरे । सामान्य औषधि सुरु भयो । गर्दागर्दै मलाई स्लाइन चढाउन सुरु गरे । राति ३ बजे अर्को अस्पतालमा लगियो । अर्को दिनको साँझ मात्रै मलाई डाक्टरले सोधे– तलाईं के भएको छ, थाहा छ ? मैले थाहा छैन भनेँ । खासै कोरोनाको संक्रमण नदेखिए पनि निमोनिया देखिएको छ, भन्यो । त्यहाँबाट फेरि अर्को अस्पतालमा लगियो । त्यसपछि के–के भयो मलाई केही थाहा छैन । अर्को अस्पताल गएको पनि थाहा छैन, आएको पनि थाहा छैन । हिसाब गर्दा त १४ दिनपछि पो घरमा फर्किएको रहेछु ।

Related Articles

Back to top button
Close