समाचार

गौरीफन्टामा हजार बढी मानिस सँगै थिए कोरोना संक्रमित युवा, घर पुगेरमात्र आएका थिए क्वारेन्टाइनमा

कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ९ प्रतापपुरका २१ वर्षीय युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।भारतबाट गत चैत ११ गते धनगढीस्थित गौरीफन्टा नाकामा हजार बढी मानिससँग सँगै भएको खुलेको छ।सरकारले लक डाउन जारी गरिसकेपछि भारतका विभिन्न ठाउँबाट आएका नेपालीहरू गौरीफन्टा नाकामा अलपत्र परेका थिए। त्यहाँ हजार जनाभन्दा बढी नेपाली भेला भएका थिए। उनीहरूले आफ्नो देशमा प्रवेश गर्न पाउनु पर्ने भन्दै नाराबाजी गरेपछि स्थानीय प्रशासनले नेपाल प्रवेश गर्न दिएको थियो।

उनीहरूलाई गाडीमा राखेर सम्बन्धित पालिकाहरूमा पठाइएको थियो। प्रतापपुरका यी युवा पनि तिनै गाडीमध्ये एक गाडीमा चढेर घर पुगेका थिए। घर आएर उनी केही समय दाइको घरमा बसेको प्रहरीले जनाएको छ।लम्कीचुहा नगरपालिकाका एक कर्मचारीले सेतोपाटीलाई दिएको जानकारीअनुसार उनलाई चैत १२ गतेदेखि क्वारेन्टाइनमा ल्याइएको थियो।

‘घरमा दुई घन्टाजति बिताएका थिए होलान् त्यसपछि हामीले सामूहिक क्वारेन्टाइनमा ल्यायौं,’ ती कर्मचारीले सेतोपाटीसँग भने, ‘उनी भारतको मुम्बई सहरको एक होटलमा काम गर्ने रहेछन्।’ती युवकसहित क्वारेन्टाइनमा रहेका ४४ जनाको स्वाब परीक्षणका लागि तीन दिनअघि केन्द्रीय प्रयोगशाला काठमाडौं पठाइएको थियो।ती युवकमा कोरोनाभाइरस संक्रमण रहेको शनिबार पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा पठाइएको उनले जानकारी दिए।

‘स्वाब परीक्षण गर्दा कोरोना देखिएपछि क्वारेन्टाइनबाट उनलाई एम्बुलेन्समा राखेर सेती प्रादेशिक अस्पताल लगेका छौं,’ ती कर्मचारीले भने।४४ जनाकै स्वाब परीक्षणका लागि पठाइएकोमा २१ वर्षीय एक युवकमा मात्रै पोजेटिभ देखिएको हो।भारतबाट आएकाहरूलाई १४ दिन क्वारेन्टाइनमा राखिने पनि उनले जानकारी दिए।

Related Articles

Back to top button
Close