स्वास्थ्य/ जिबनशैली

टेकुका १६ स्वास्थ्यकर्मी क्‍वारेन्टाइनमा

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी गरी १६ जना अस्पतालकै क्वारेन्टाइनमा बसिरहेका छन् । प्रत्यक्ष रूपमा कोरोना भाइरस (कोभिड–१९) का बिरामीको उपचार र हेरचाह गर्ने स्वास्थ्यकर्मी एक सातादेखि क्वारेन्टाइनमा बसेका हुन् ।कोभिड–१९ का बिरामी हेर्ने स्वास्थ्यकर्मी संक्रमित हुने र परिवारमा सार्ने सम्भावना रहने भएकाले उनीहरूलाई क्वारेन्टाइनमा राखिएको अस्पतालका निर्देशक डा.सागरकुमार राजभण्डारीले बताए।

‘केही स्वास्थ्यकर्मीका घरमा मधुमेह, मिर्गौलाजस्ता दीर्घरोगी, बालबच्चा र वृद्धवृद्धा भएकाले घर नगएका हुन्,’ उनले भने, ‘केहीलाई घरबेटी र समुदायले राम्रो व्यवहार गरेनन्।’कोभिडका बिरामी अस्पतालमा भर्ना भएसम्म ती स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनको व्यवस्था गरिने उनले बताए। घरमा जोखिम सदस्य नभएका चिकित्सक भने ड्युटी सकेर घरै फर्किरहेका छन्।

उनका अनुसार कोभिड संक्रमित बिरामी उपचार गर्नेलाई क्वारेन्टाइनमा राखिने अन्तर्राष्ट्रिय अभ्यास हो। ‘आइसोलेसन वार्ड छिर्ने स्वास्थ्यकर्मीलाई सक्दो जोगाएका छौं, अनिवार्य रूपमा पीपीई लगाउँछन्,’ उनले भने, ‘यसो गर्दा बिरामीबाट संक्रमण सर्ने सम्भावना न्यून हुन्छ, तैपनि समुदाय त्रासमा नहोस् भनेर क्वारेन्टाइनमा राखेका छौं।’ स्वास्थ्यकर्मी नै बढी जोखिममा भएकाले सकभर सबैलाई आइसोलेसनमा नखटाइएको उनले बताए।

स्वास्थ्यकर्मी बस्नका लागि टेकुकै राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा व्यवस्था गरिएको छ। तालिम लिने सबै कर्मचारी घर फर्केपछि केन्द्रको भवन पूरै क्वारेन्टाइन प्रायोजनका लागि तयार पारिएको छ। अस्पतालमा कोभिड पोजेटिभ बिरामी फेला परेपछि खानाको ठेक्का लिएको चमेना गृहका सञ्चालकसमेत भागेको डा. राजभण्डारीले बताए। ‘स्वास्थ्यकर्मीका लागि खाना समस्या भएपछि स्वास्थ्य मन्त्रालयले खुवाउने वाचा गरे पनि पूरा गरेन,’ उनले भने, ‘लकडाउनले गर्दा कतै बाहिरबाट खाना ल्याउन पनि सम्भव भएन, अनि अस्पतालमै खानाखाजा पकाइरहेका छौं।’

भोलि महामारी फैलिएर सबै स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राख्नुपर्ने स्थिति आयो भने अस्पतालमा ठाउँ नभएको र खुवाउनका लागि आर्थिक क्षमता पनि नभएकाले मन्त्रालयले सघाउनुपर्ने उनले बताए। आईसीयूमा खटिने एनेस्थिसिया विशेषज्ञ, श्वासप्रश्वास विशेषज्ञ र नर्सिङ कर्मचारी अभाव भएको उनको भनाइ छ।

Related Articles

Back to top button
Close