मनोरंजन

फोर्ब्सको सूचीमा परेकी गल्फ खेलाडी भन्छिन्, ‘जिन्दगीको सबै भन्दा खुसीको दिन, तर कोरोनाले खुशी साट्नै पाइन’

दुई दिनयता प्रतिमा शेर्पाको मन उकुसमुकुस भइरहेको छ । उनी घरी सामाजिक सञ्जाल नियाल्छिन त घरी विश्वभरिका समाचारलाई पछयाइरहन्छिन् । उनको मन बसमा छैन । कल्पनामा डुबिरहन्छिन् प्रतिमा । कोरोना भाइरसका कारण अल्यासतल्यास भएकी छिन् । उनको शरीर अमेरिकामा त मन नपालमै छ । अमेरिकामा दिनप्रदिन बढ्दै गएको कोरोना भाइरसको सङ्क्रमणका कारण प्रतिमा कहीँकतै निस्कन मिल्ने अवस्था छैन ।

हाल अमेरिकाको क्यालिफोर्नियामा स्नातक तहमा अध्ययनरत प्रतिमा बिहीबार फोर्ब्स पत्रिकाले सार्वजनिक गरेको सन् २०२० को एशियाका ३० वर्षमुनिका ३० युवा प्रतिभाशाली व्यक्तिको सूचीमा परेकी एक मात्र नेपाली खेलाडी हुन् । उनी नेपालको एक नम्बरकी महिला गल्फ खेलाडी हुन् । फोर्ब्सले सार्वजनिक गरेको ३०० जनाको सूचीमा नेपालका छ युवा परेका छन् । उनीसँगै सूचीमा परेका निकिता आचार्य, किरण तिम्सिना, शुभाङ्गी राणा, जेसलिना राणा र रोहित तिवारी भने उद्यमी हुन् । बीस वर्षीया प्रतिमा मनोरञ्जन र खेलकूद विधामा २४औँ स्थानमा पर्न सफल भएकी छिन । फोर्ब्सले यो सूचीमा भविष्य परिवर्तन गर्न सक्ने क्षमता राख्ने व्यक्तिलाई समावेश गरेको छ ।

उक्त सूची तीन हजार ५०० जनाबाट छानिएको हो । फोर्ब्सले यस्ता व्यक्ति छान्नका लागि समिति बनाउँछ । बिहीबार राति फोर्ब्सको सूचीमा परेपछि नेपालमा रहेका उनका साथीले प्रतिमाले उक्त खबर सुनाएका थिए । त्यसयता उनको मन फुरुङ्ग भएको छ ।

“चाँडोभन्दा चाँडो नेपाल फर्कन पाए हुन्थ्यो जस्तो भएको छ”, अमेरिकाको क्यालिफोर्नियाबाट फोनमा कुरा गर्दै उनले भनिन्, “कोरोना भाइरसका कारण साथीभाइ र आफन्तलाई खुशी साँट्नै पाइनँ ।” कोरोना भाइरसका कारण उनी नेपाल आउन सकिरहेकी छैनन् । प्रतिमा बस्दै आएको क्षेत्रमा १२० कोरोनाबाट सङ्क्रमित छन् भने एक जनाको ज्यान गएको छ ।

यसले उनको मन झन् त्रसित छ । “यस्तो अवस्थामा नेपाल फर्कन पाए हुन्थ्यो, बाबुआमा र आफन्तका साथमा बस्न पाए मन हलुका हुन्थ्यो ।” घर बाहिर ननिस्के खासै समस्या नहुने प्रतिमा बताउँछिन् । अमेरिकामा रहेका नेपालीसित सामाजिक सञ्जालमा खबर आदान–प्रदानका माध्यमबाट मन बहलाउने गरेको उनले बताइन् । “नेपालमा अमेरिकाको भन्दा कोरोनाको त्रास कम रहेछ”, उनले साथीभाइबाट पाएको खबर सुनाइन् ।

प्रतिमाको घर सोलुखुम्बुको नाम्चे हो । उनको जन्म काठमाडौँमै भएको हो । “एकपटक मात्र जन्मथलो गएकी छु”, उनले सुनाइन्, “टाढा छ पटक–पटक जान सकिन्नँ ।” पिङ्गलास्थानस्थित बाबा बाटिका विद्यालयबाट १० कक्षा उत्तीर्ण गरेकी उनी ४ कक्षा पढ्दादेखि नै गल्फ खेल्न थालेकी हुन् । उनको परिवार गौचरनस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छेउमै रहेको रोयल नेपाल गल्फ क्लबको कोर्ष (मैदान) सँगैको छाप्रोमा बस्दै आएको छ । उनका बुबा पासाङ सो मैदानका सुरक्षागार्ड हुन् भने आमा त्यहीँ मैदानको रेखदेख गर्छिन् ।

मैदानभित्रै बसाइँ भएका कारण प्रतिमाको मन गल्फतर्फ आकर्षित भएको हो । “राम्रोसित होश नफिर्दा नै काठको स्टिक खेल्न थालँे, नबुझेरै गल्फमा मन बस्यो”, उनले बिगत सुनाइन् । हाल पढाइ र गल्फ प्रशिक्षणका लागि अमेरिकामा रहेकी उनी नेपालकी पहिलो एम्च्योर महिला गल्फर हुन् । प्रतिमा नेपालका लागि पहिलो व्यावसायिक गल्फर बन्न चाहन्छिन् । होश नफिर्दै गल्फमा रमाएकी उनी सानो छँदा रमाइलोका लागि खेल्थिन् । यसरी बालसखासित रमाइलो गर्दागर्दै गल्फ खेलाडी बनेको पत्तै भएन । “रमाइलोका लागि खेल्थे, खेलाडी नै बन्छु भनेर कहिल्यै कल्पना गरिनँ”, अमेरिकाको क्यालिफोर्नियाबाट प्रतिमाले खुशी हुँदै भनिन्, “अब यसमै भविष्य बनाउँछु ।”

Related Articles

Back to top button
Close