समाचार

जो ६८ घण्टा हिँडेर घर फर्किए

धादिङ नेत्रावती ४ सेल्लेका २२ वर्षीय वीरेन्द्र लामा तामाङ केही साताअघिसम्म भारतको गोरखपुर मौवास्थित आफ्नै दाइको होटलमा काम गर्थे । ६ महिनाअघि खोलेको रेस्टुरेन्टमा कमाई राम्रै भइरहेको थियो । तर अकस्मात कोरोना भाइरस महामारीले प्रभाव पार्‍यो । तामाङ युवाहलाई चिनियाँजस्तो देखेपछि भारतीयहरुले नजिक पर्न दिएनन् । दैनिक उपभोग्य वस्तु किन्‍न समस्या पर्‍यो ।

समस्या बढ्दै गएपछि धादिङका ५ र चितवनका ५ जनाबीच घर फर्कने सल्लाह बन्यो, लकडाउनले यातायात सेवा ठप्प थियो । दुइटा एम्बुलेन्सलाई सय किलोमिटर दूरीको ३० हजार भारु दिएर गोरखपुर आइपुगे तर होटलमा बास पाएनन् । भारतीय प्रहरीले एउटा होटलमा ४ दिन राखे ।

अनि नेपाल आउने १० वटा ट्रकमा १० जना खलासीका रुपमा सुनौली वोर्डर काटेर नेपाल आए । यता पनि लकडाउन, यातायात ठप्प । त्यसबखत घरबाट तारन्तार फोन आइरहन्थे उनीहरुलाई । ‘सुनौलीबाट भैरहवा पुग्यौं, भैरहवाबाट बुटवल जानुको साटो स्थानीयहरुले सुनवलतिर पुग्ने बाटो देखाई दिए’, तामाङले भने, ‘सुनवल पुगेर नेपाली होटलहरुमा खान र पानी पनि दिएनन् । स्थानीय खोलाखोल्सीको पानी पियौं, दाउन्ने पुग्नेबेला बाटोमा खाद्यान्‍न बोकेको ट्रक फेला पर्‍यो । ५ किमि जति यात्रा गर्दा ट्रक बिग्रियो । हामी रातदिन हिँडेर आउँदै थियौं । गर्मी चढी सकेछ । राति पनि जाडो थिएन ।’

उनले सनाए, कतिपय साथीका मोबाइल चार्ज नभएर बन्द भइसकेका थिए । थकाई लागे सडक छेउका रुखमुनि आराम गर्थ्यौ । नारायणगढ पुगेर ५ जना साथी घरतिर लाग्नु भयो, भोकप्यासको पर्वाह थिएन । अन्तत: ६८ घण्टापछि चैत ११ गते राति १० बजे धादिङ पुगेपछि गस्तीमा रहेको प्रहरीले समातेर क्‍वारेन्टाइनमा भोकै राख्यो । बाटोमा मोबाइलमा समाचार र फेसबुक हेर्ने गरेको थिएँ । भारत वा विदेशबाट फर्केकाले क्‍वारेन्टाइनमा अनिवार्य बस्नु पर्ने । तामाङले भने, ‘भारतबाट हिँडेर नेपाल आएको जोड्दा १६ दिन नाघेको छ । हामी कसैलाई केही स्वास्थ्य समस्या छैन । अब त जान दिन पर्ने, भारतबाट आएकाहरु गाउँमा मज्जाले घुम्छन्, हामीमात्रै बन्दी जस्तै भएर बस्नु पर्‍यो ।’

Related Articles

Back to top button
Close