समाचार

त्रिवि शिक्षण अस्पतालले कोरोना लागेको छ भनेर अस्पतालमा छिर्नै दिइएन, जबर्जस्ती छिरे पनि डाक्टरले छुनै मानेनन्

त्रिवि शिक्षण अस्पतालको गेटमा थिए, सीताराम आलेमगर । उनी फोनबाट अस्पतालबाट फर्किने गाडिको खोजी गरिरहेका थिए । घुँडामा पानी जमेर हिँड्न नमिल्ने भएपछि मकावानपुरको थाहा नगरपालिका टिस्टुङ्गबाट आफ्ना दाजु रामशरण आलेमगरलाई अस्पताल ल्याएका थिए । ५५ सय भाडा तिरेर बिहान आएको एम्बुलेन्स फर्किसकेको थियो । उनी कलङ्कीको एक निजी अस्पताल जानका लागि सडकमा ट्याक्सी पाइन्छ कि भनेर बसेका थिए ।

लठ्ठी टेकेर अस्पताल हातामा रामशरण उभिएका थिए । अहिले घुडाँको उपचार नहुने डाक्टरले भनेको उनले बताए । अस्पतालमा एक्स रेको काम नहुने भएपछि गाडी पाएमा कलंकीमा गएर निजी अस्पतालमा देखाउने बिचार गरेको उनले बताए ।निजी अस्पतालमा उपचार खर्च महँगो हुने भएपछि दाजुभाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज आएका थिए । जटिल स्वास्थ्य समस्या नभएपनि उपचार नभई फर्किनुपरेको उनले सुनाए ।

अस्पाताल परिसरको एउटा कुनामा आमाछोरा बसेका थिए । उत्तम गुरुङ र मनमाया गुरुङ । उनलाई २ महिना अगाडि देखि नै बेलोबला ज्वरो आउने गरेको थियो । आफूलाई हरेक दिन १ सय डिग्रीको ज्वरो आइरहने गरेको उनले सुनाए । चितवनको कुरिनटारबाट मंगलबार एम्बुलेन्सलाई साढे ८ हजार तिरेर उनीहरु काठमाडौं आएका थिए । सुरुमा उनीहरुले स्वयम्भुको मनमोहन अस्पतालमा देखाए । मनमोहन अस्पतालले आइसोलेशन नभएको र सरकारले सबै सुविधा त्रिवि शिक्षण अस्पतालाई दिएको छ भन्दै उनलाई फिर्ता पठायो ।

राति साढे ९ बजे शिक्षण अस्पताल आइपुगेका थिए । ज्वरो १ सय २ डिग्री थियो । सुरुमा त ज्वरो आएको छ भनेपछि अस्पतालको गेटबाटै छिर्न नदिएको उनले गुनासो गरे । रातिको साढे ९ बजे कहाँ जाने भनेर जर्वरजस्ती इमर्जेन्सीको खाली बेडमा बसे । आमा मनमाया रातभरी अस्पताल बाहिरको कुर्सीमा बसिन् । उनले भनिन्, ‘चिसो भयो रातभरी निन्द्रा लागेन ।’ज्वरो नाप्न पनि डाक्टरले थर्मोमिटर किन्न लगाएको र आफैले नापेपछि टाढाबाट हेरेको उनले सुनाए । अस्पतामा उपचार नपाएपछि उनी घर फर्किने बिचारमा थिए । एम्बुलेन्सले ९ देखि १० हजार भनिरहेको र त्यो पनि सहजै नपाएको बताए । उनीहरु कलंकीसम्म पुग्न पाए एम्बुलेन्स पाइने तर कलंकीसम्म कसरी जाने भनेर बसिरहेका थिए ।

नुवाकोट त्रिसुलीका एकजना व्यक्ति बेहोस भएपछि आफन्त परिवारले उपचारका लागि अस्पताल ल्याइयो । उनलाई अस्पतालको इर्मजेन्सीमा भर्ना गरिएको छ । नाम भन्न नचाहने तर भिडियोमा बोल्न तयार भएका बिरामीका आफन्त एक महिलाले अस्पतालमा राम्रोसँग उपचार नभएको गुनासो गरिन् । बिरामी बेडबाट लड्न लागेपनि डाक्टर नर्स छुनसमेत नगएको उनले बताइन् ।

उनले भनिन्, उनीहरुलाई सबै सुविधा दिएको छ, समाउन पनि डर माने जस्तो गरे । अलिकति त हेर्नुपर्छ नि । डाक्टरले छुनै नजाने भन्ने नि हुन्छ र ? त्यस्तो हो भने किन अस्पताल आउनु हैन र ? बिरामीको कस्तो अवस्था छ बुझ्नै नचाहने, बिरामीसँग बोल्नै नचाहने गैरजिम्मेवार व्यवहार छ ।उनले डाक्टर र नर्स अस्पतालको काउन्टरमा बसेर हाँसेर गफ गरेर बस्ने तर बिरामीको वरीपरी पनि नजाने गरेको गुनासो गरिन् । डाक्टर र नर्स विरामीको अगाडि नै नपर्ने हो भने अस्पताल बन्द गर्नुपर्ने उनको गुनासो थियो ।

Related Articles

Back to top button
Close