समाचार

उपभोक्ता लुट्न तौलमा ठगी गर्ने सहारा र बाबा ग्याँस

विषम परिस्थितिमा पनि उपभोक्ता ठग्न पल्किएका उद्योगी एवं व्यापारीहरुमाथि सरकार कडाई साथ उत्रन थालेको छ ।अभावमा उपभोक्तालाई तनाव थप्ने ग्याँस व्यवसायीहरु कारवाहीको दायरामा तानिएपछि उपभोक्ताहरुले भने राहतको महसुस गरेका छन् ।सरकारले कोरोना संक्रमणको समयमा लकडाउन गर्दा ग्याँस आयातमा असहज हुने र सर्वसाधारणलाई खाना पकाउने ग्याँस पुगोस् भन्दै ग्याँस उद्योगलाई आधा सिलिण्डर ग्याँस बजार पठाउन निर्देशन दिएको थियो ।सामान्यतया प्रत्येक सिलिडरमा १४.२ किलो ग्याँस हुने गरेकोमा लकडाउनको अवधिका लागि मात्रै ७.२ किलोका दरले गत चैत्र ११ गतेदेखि बजारमा उद्योगहरुले ग्याँस पठाएका थिए ।

तर मकवानपुरमा चितवनको बाबा ग्याँस र मकवानपुरकै सहारा ग्याँस सिलिण्डरमा तोकिए बमोजिम तौल नभएको भेटिएको थियो ।बजारमा बिक्रीका लागि बाबा ग्याँस उद्योगले पठाएको आधा सिलिण्डर ग्याँसमा ७ दशमलब १ किलो हुनुपर्नेमा ६ किलो २ सय ७० ग्राम (८ सय ३० ग्राम) घटी फेला परेको थियो भने सहारा ग्याँस उद्योगले पठाएको ग्याँसमा १ सय ९५ ग्रामसम्म घटी फेला परेको छ ।यसरी बजारमा आईपुगेका ग्यासको तौलमा घटी हुनु कालाबजारी भएको भन्दै उपभोक्ता हित संरक्षण मञ्चले मकवानपुर जिल्ला प्रशासन कार्यालयमा ठगी मुद्दा दायर गरेको छ ।

मञ्चले मुलुकी आचार संहिता २०७४ को परिच्छेद २१ को दफा २४९ र उपभोक्ता संरक्षण ऐन २०७५ को परिच्छेद ४ दफा १६.२ क विपरितको कसूर गरेको भन्दै ठगी मुद्दा दायर गरेको छ ।यस सम्बन्धमा उपभोक्ता हित संरक्षण मञ्चले बजारमा उपभोक्ताहरु ठग्ने उद्योगहरुलाई कारवाही हुनु पर्ने माग राख्दै आएको छ । कैफियत गर्ने उद्योगलाई कालो बजारी अन्तर्गत कारवाही गर्ने प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले प्रतिबद्धता जनाउनु भएको छ ।जिल्ला प्रशासन कार्यालय, मकवानपुरले घटी तौल रहेका ग्याँस सिलिण्डरहरुको विक्री केन्द्रमा नै पुगी सरोकारवालाहरुको रोहबरमा मुचुल्का तयार गरी ग्यास सिलिण्डरहरु नियन्त्रणमा लिएको छ ।

Related Articles

Back to top button
Close