समाचार

कोरोनालाई पराजित गरेको नेपाली परिवार –

न्युयोर्कको उडसाइड ५१ स्ट्रीटमा बस्दै आएका ४४ बर्षकी निमा शेर्पा र ४७ बर्षका सोम गुरुङको परिवार मार्चको दोश्रो साता कोरोना भाइरसको चपेटामा पर्यो । तर अहिले यो परिवारले कोरोनालाई जितिसकेको छ । झण्डै २ सातासम्म कोरोनासँगको लडाईपछि निमा शेर्पाले भनिन् – ‘हामीले अन्तत कोरोना भाइरसलाई जितेरै छाड्यौं । हामीले जित्यौं, कोरोनाले हार्यो ।’

उच्च मनोवल, घरेलु औषधी र स्वास्थ्य जीवनशैलीले आफूले कोरोनालाई पराजित गर्न सफल भएको निमा शेर्पाले बताइन् । उनले भनिन् – ‘मनोवल कमजोर बनायो भने र जिउ छाडेर पल्टियो भने कोरोनाले हामीलाई जित्छ, मनोवल उच्च बनायो भने र निरन्तर लडाई जारी राखेमा हामीले जित्न सक्छौं ।’

माउन्ट साईनाई अस्पतालमा कार्यरत नर्स निमालाई मार्च ९ मा पेटमा गढबढी भयो । उनलाई पेट ढुस्स भएजस्तो अनुभव भयो । उनले आफूलाई कोरोना संक्रमण भयो कि भनेर आंशका गरिन् । त्यसैले उनी काममा पनि गइनन् । तर मार्च १० मा उनी काममा गइन् र साथीहरुलाई पनि यो कुरा बताइन् । तर खोकी नलागेको र स्वास फेर्न गाह्रो नभएकाले यो कोरोनाको लक्षण नभएको बताए उनका साथीहरुले ।

मार्च १० र ११ मा काममा गइरहेकै बखत उनको घाँटीमा पनि खसखस भयो । पहिलेदेखि नै साइनसको समस्या भएकाले उनले त्यही नै होला भनेर ठानिन् । स्थीति सामान्य नै होला भन्ठानेर उनले खासै वास्ता गरिनन् । तर कोरोना भाइरसका सन्दर्भमा विश्वब्यापी रुपमा महामारी तीब्र बन्दै गइरहेकाले आफूलाई कतै संक्रमण त भएन भनेर उनलाई भित्रभित्रै भने लागिरहेको थियो ।

उनी अस्पतालमा फ्रन्टलाइनमा नै बिरामीसँग भेटेर काम गर्नुपर्ने भएकाले उनले आफूलाई संक्रमणको जोखिम भएको पहिलेदेखि नै अनुभव गरेकी थिइन् । बिरामीलाई यात्रा गरे नगरेको समेत अनौपचारिक रुपमा सोध्ने गर्थिन् उनले । कसैले चीनबाट आएको भन्थे, कसैले हङकङबाट आएको भन्थे । उनीहरुसँगको संसर्गमा आएका कारण आफू कोरोना भाइरसको जोखिममा रहेको उनलाई अनुभव भइरहन्थ्यो ।

सुरुमा पेट दुख्दा र घाँटी खसखस गर्दासम्म त उनले खासै वास्ता गरेकी थिइनन् । तर उनलाई अचानक ज्वरो आयो । ज्वरो नाप्दा ९९ दशमलव ९ डिग्री फरेनहाइट थियो । सुरुमा त आफै अत्तिएर र नर्भस भएर ज्वरो आएको हो कि भन्ठानिन् । उनी भन्छिन् – ‘ज्वरो नै आइसकेपछि भने मलाई कोरोना संक्रमण भयो भन्ने कुरामा म बढी ढुक्क भएँ । किनभने मलाई १० बर्ष अगाडि कान्छोछोरा जन्मिने बेलादेखि यता ज्वरो आएको थिएन ।’

ज्वरो आइसकेपछि उनी माउन्ट साइनाई अस्पतालकै इम्प्लोई हेल्थमा गइन् । डाक्टरले कोरोना संक्रमणको आंशका गरेनन् । कोरोना टेस्ट गर्न मानेनन् । बरु फ्लु टेस्ट गर्ने बताए । त्यसपछि निमा घरमा आइन् । घरमा आएपछि उनलाई ज्वरो बढ्दै गएको थियो । डाक्टरलाई फोन गर्दा पनि फ्लु नेगेटिभ भएको बताए । फ्लु नेगेटिभ भएपछि उनले आफूमा कोरोना संक्रमण भएको शतप्रतिशत यकिन गरिन् ।

मार्च १४ तारिख शनिबार विहान उठ्दा सँगै सुतेका श्रीमान् सोम गुरुङलाई हनहनी ज्वरो आइरहेको थियो । खोकी पनि लागिरहेको थियो । अचानक ज्वरो आएपछि निमा आत्तिइन् । त्यसपछि औषधी लिनका लागि फार्मेसीमा गइन् । मास्क लगाएर फार्मेसीमा गएकी उनले अरुलाई संक्रमण नहोस् भनेर सावधानी समेत अपनाएकी थिइन् ।

‘म फार्मेसीमा जाँदा एकजना नेपाली मधुमेहका रोगी पनि त्यहाँ थिए । मैले आफूलाई कोरोना संक्रमणको लक्षण देखिएको र आफ्नो नजिक नआउन उनीहरुलाई भनें । मधुमेहका बिरामी नेपालीलाई घरमै बस्न र औषधी चाहिए अरु कसैलाई पठाउन आग्रह गरें । किनभने मधुमेह लगायतका स्वास्थ्य अवस्था भएकाहरु कोरोनाको बढी जोखिममा हुनसक्ने भएकाले मैले घरमै बस्न सुझाव दिएकी थिएँ ।’ – निमाले भनिन् ।

फार्मेसी विभिन्न औषधी र भिटामिनहरु किन्न गएपनि त्यहाँ औषधीको अभाव भइसकेको थियो । त्यसैले खासै केही पाइएन । त्यसपछि उनी कस्ट्को स्टोरमा गइन् । त्यहाँ बल्लतल्ल केही भिटामिनहरु पाइन् । त्यसपछि ज्याक्सनहाइटको पटेल ब्रदर्समा गएर जडिबुटी , मसला र बेसार किनेर ल्याइन् । घरमा आइसकेपछि सबै जडिबुटी पकाएर श्रीमान्लाई खुवाइन् ।

त्यसपछि उनले ८ सयको फोन लाइनमा कल गरेर श्रीमान्लाई सन्चो नभएको र कोरोना संक्रमणको आंशका रहेको बताइन् । तर स्वासफेर्न गाह्रो नभएसम्म कोरोना संक्रमणको परीक्षण नगर्ने बताइयो । उनले भनिन् मैले कोरोना संक्रमणको लक्षण देखिएपछि परीक्षणका लागि कुनै प्रोटोकल होला भनेर फोन गरेकी थिएँ । तर उनीहरुको कुनै तयारी थिएन । उल्टै उनीहरुले टेस्ट नगर्ने बताए ।

त्यसपछि निमाले कसैको भर नपरेर कोरोना संक्रमणबिरुद्ध आफै जुध्ने अठोट गरिन् । उनी भन्छिन् – ‘कोरोना टेस्ट समेत नगर्ने बताएपछि सुरुमा मेरो आत्मवल निकै गिरेको थियो । म पछि लाग्यो म कोरोनाबिरुद्ध आफै लड्नुपर्छ । आफैले लडेर कोरोनालाई जित्न सकें भने सकें नत्र अरुको भर परेर नहुने रहेछ भन्ने लाग्यो । यो लडाई आफ्नै हातमा रहेछ भन्ने लाग्यो मलाई ।’

अस्पतालमा गएको खण्डमा कोरोना संक्रमण नभएको व्यक्तिलाई पनि भींडभाडका कारण कोरोना संक्रमण हुने खतरा थियो । त्यसैले उनी मार्च १७ मा कोरोना परीक्षणको आशामा अलिक टाढा रहेको सीटीएमडीमा श्रीमान्लाई गाडीमा राखेर लगिन् । उनले भनिन् – ‘भींडभाड भएको अस्पतालमा जाँदा आफूलाई भए अरु निरोगीलाई सर्ने र आफूलाई नभएपनि अरुबाट सर्ने खतरा भएकाले मैले अलिक टाढाको सीटीएमडीमा जाने निर्णय गरें ।’

सीटीएमडीमा झण्डै २० मिनेट प्रतिक्षा गरेपछि उनीहरुलाई डाक्टरलाई भेट्न पाए । डाक्टरले उनका श्रीमान्को कोरोना परीक्षण गर्न मानेनन् । डाक्टरले हाम्रो प्रोटोकल छ टेस्ट गर्न मिल्दैन भने । निमाले आफू यति टाढा टाइलोनोलका लागि नआएको, आफ्नो श्रीमान् उबर चालक र आफू नर्स भएकाले दुबैजना पहिलेदेखि नै संक्रमणको जोखिममा रहेकाले कोरोना टेस्ट गर्न भनिन् ।

अन्तत डाक्टरले फ्लुको टेस्ट गरे । अर्को ब्याक्टेरिया पनि टेस्ट गरे । दुबै टेस्ट नेगेटेभि देखिएपछि डाक्टरले पनि कोरोना संक्रमणको आशंका गरे । अस्पतालमै लगातार खोकी लागेपछि र ज्वरो आएका कारण डाक्टरले निमाका श्रीमान् सोमको कोरोना परीक्षण गर्न तयार भए । अन्तत : कोरोना परीक्षणका लागि सोमको नमुना लिइयो ।
त्यसपछि उनीहरु घर फर्के । घर फर्केपछि सोमलाई ज्वरो अझ बढ्यो । एकदमै ज्वरो आउने र खलखली पसिना आउने भयो । हुन त निमालाई पनि ज्वरो आइरहेको थियो तर उनले आफ्नो मनोबल उच्च राखिन् । उनी भन्छिन् – ‘ज्वरो मलाई पनि आएको थियो । टाउको दुख्ने र खोक्ने भइरहेको थियो । तर मैले नै हातखुट्टा छाडें भने मेरो परिवार सकिन्छ भन्ने लाग्यो । त्यसैले आफू बिरामी हुँदाहुँदै पनि औषधी खाँदै परिवारको हेरचाहमा लागें ।’

सुरुमा बच्चाहरु कोरोना संक्रमणको जोखिममा नरहेको बताइएको थियो । तर पछि कोरोना संक्रमण जो सुकैलाई पनि हुनसक्ने समाचारहरु आए । त्यसपछि बच्चाहरुलाई पनि कतै संक्रमण त भएन भनेर निमा आत्तिइन् । उनले बच्चाहरुको ज्वरो नापिन् । १६ बर्ष र १० बर्षका दुबै छोराहरुमा ज्वरो देखियो ।

‘बुढाको हेरचाहमा व्यस्त रहँदा मैले मैले बच्चाको खासै ख्याल गर्न सकेको थिइन । उनीहरु खेल्दै बसिरहेका थिए । तर उनीहरुको तापक्रम नाप्दा ज्वरो देखियो । जेठो छोरालाई ज्वरो आउने र घाँटी दुख्ने लक्षण समेत देखियो । त्यसपछि मैले सबै परिवारलाई कोरोना संक्रमण भएको अनुमान गरें ।’ – निमाले बताइन् ।

सीटीएमडीमा गएर नमुना दिएको एकसातापछि कोरोना परीक्षणको नतिजा आयो । श्रीमान् सोम गुरुङमा कोरोना पोजेटिभ देखिएको डाक्टरले बताए । तर अरुको पनि परीक्षणका लागि सोध्दा परिवारका एकजनामा पोजेटिभ देखिएपछि अरुको चेक गर्न आवश्यक नभएको बताइयो । मार्च २५ मा कोरोना संक्रमणको पुष्टी भएपछि निमाले अझ बढी सजगता अपनाइन् ।

अस्पतालमा भन्दा घरमै श्रीमान् र आफ्नो हेरचाह बढी हुनसक्ने ठानेर निमा आफू पनि घरमै बसिन् र श्रीमानलाई पनि घरमै हेरचाह गरिन् । तातोपानी र सुप पकाएर आफू पनि खाइन्, परिवारलाई पनि खुवाइन् । श्रीमान्लाई टाइलोनोल लगायतका औषधीहरु मात्रा मिलाएर खुवाइन् । भिटामिन सी र फलफुलहरु आफू पनि खाइन्, परिवारलाई पनि खुवाइन् ।

‘एकदमै गाह्रो नभएसम्म अस्पतालको इमर्जेन्सी रुममा नजानु नै उपयुक्त हुने रहेछ । घरमै बढी टेककेयर गर्न सकिन्छ । अस्पतालमा छुट्टै कोठामा राखेर बिरामीलाई परिवारका सदस्यलाई समेत भेट्न नदिने अवस्था आउँदा झन् बिरामीको मनोवल कमजोर भएर कोरोनाले जित्नसक्ने अवस्था आउने रहेछ । ‘ – निमाले आफ्नो अनुभव सुनाइन् ।

निमाले सुख्खा खोकी लाग्दा खसीको खुट्टाको सुपले राम्रो हुने कुरा बुढापाकाबाट सुनेकी थिइन् । त्यसैले उनले खसीको खुट्टा ल्याएर त्यसमा बेसार, अदुवा, टिमुर लगायतका मसला र जडिबुटी हालेर मज्जाले पकाइन् । त्यो सुप हरेक विहान आफूले खाइन् र परिवारका सबै सदस्यहरुलाई खुवाइन् । सुन्तला, स्याऊ लगायतका फलफुल खाने र ज्वरो नियन्त्रण नहुँदा टाइलोनोल लगायतका औषधीहरु खाइन् ।

‘अहिले परिवारका कुनै पनि सदस्यमा ज्वरो छैन । सबैले घरमै आराम गरिरहेका छन् । चारपाँचदिनदेखि कसैलाई पनि ज्वरो आएको छैन । हामीले स्वस्थ्य अनुभव गरिसकेका छौं ।’ – उनले हाँस्दै भनिन् – ‘हामीले जित्यौं । कोरोना भाइरसले हार्यो ।’

Related Articles

Back to top button
Close