समाचार

लम्ची सुरुङको पहिलो परीक्षण सफल : असोजभित्रै पानी आउने

मेलम्ची खानेपानी आयोजनाको मुहानस्थित मुख्य सुरुङमा पानी हालेर सोमबार सुरुङको परीक्षण गरिएको छ । आयोजनाको मुहानस्थित ‘हेड वर्क्स’बाट अम्बाथान अडिटसम्मको एक किलोमिटर सुरुङमा पानी पठाएर पहिलो परीक्षण गरिएको हो ।

खानेपानी मन्त्री बिना मगरको उपस्थितिमा आयोजनाको मुहान स्थलमा सुरुङ परीक्षण गरिएको आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले बताए । खत्रीका अनुसार मुहानमा अस्थायी बाँध बनाएर सुरुङको परीक्षण गरिएको हो । ‘सुरुङको परीक्षण सफल भएको छ’, खत्रीले भने, ‘तोकेको समयभन्दा पहिले नै आयोजनाको काम पूरा हुनेछ । स्थायी ड्याम बनाउन समय लाग्ने भएकाले हाल अस्थायी ड्यामबाटै पानी लगेर ड्यामको काम बिस्तार गर्दै जाने आयोजनाको योजना छ ।’

चिनियाँ र इटालियन कम्पनीले एकतर्फी ठेक्का तोडेर गएपछि पुनःठेक्का लगाएर असोजभित्र सक्ने गरी सुरुङको फिनिसिङ र हेडवर्क्सको काम दिइएको थियो । समय अगावै काम सकेमा पुरस्कारको समेत व्यवस्था गरेको आयोजनाले जनाएको छ । यही रफ्तारमा काम भएमा असोज अगावै मेलम्चीको पानी काठमाडौं पुग्ने कार्यकारी निर्देशक खत्रीको दाबी छ ।

आयोजनाको सुरुङको फिनिसिङको काम अन्तिम चरणमा पुगेको खत्रीले जानकारी दिए । सुरुङमा गेट र भेन्टिलेशन राख्ने काम बाँकी रहेको उनले बताए । गेट र भेन्टिलेशनको काम सकेपछि पानी काठमाडौं लान सकिने उनको भनाइ छ । हेलम्बुको अम्बाथानबाट २६ किलोमिटर लामो सुरुङमार्फत मेलम्ची खोलाको दैनिक १७ करोड लिटर पानी पहिलो चरणमा सुन्दरीजल पुर्‍याउने आयोजनाको लक्ष्य छ ।

करिब दुई दशकअघिबाट निर्माण सुरु भएको आयोजना पटक-पटक म्याद सार्दै आगामी असोज मशान्तभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाबाट १७-१७ करोड गरी कुल ५१ करोड लिटर पानी राजधानी लाने आयोजनाको लक्ष्य छ । दोस्रो चरणको योजनाका लागि जग्गा अधिकरण र प्रवेश मार्ग निर्माणको काम सुरु गरिएको छ ।

Related Articles

Back to top button
Close