समाचार

कलंकी-कोटेश्वर सडकखण्डमा नयाँ नियम, अटेरी गरे १५सय जरिवाना

उपत्यकाको सवारी आवागमनलाई सहज बनाउन कलंकी-कोटेश्वर सडकखण्डमा ट्राफिक प्रहरीले नयाँ नियम लागू गरेको छ। आइतबारबाट यो सडक खण्डमा यात्रुबाहक तथा मालबहाक सवारीसाधनलाई बायाँ सर्भिस लेनबाट र तीव्र गतिमा हुइकिने निजी तथा साना सवारीलाई दाहिने लेनबाट गुड्ने गरी नियम लागू गरेको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे र महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले संयुक्तरूपमा रिवन काटेर नयाँ नियमको सुरुवात गरेका हुन्।

सडक दुर्घटना न्यूनीकरणसँगै सडकमा रहेको लेनलाई अनुशासित एवं व्यवस्थित रुपमा पालना गराउन, सवारी आवागमनलाई सहजता ल्याउन र ट्राफिक नियम पालनाको प्रवृत्ति बसाउन उक्त नियम लागू गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए।

कार्यक्रममा प्रहरी अधिकृत, यातायात व्यवसायी,हाँस्य कलाकार जितु नेपाल, केदार घिमिरेलगायतको उपस्थित थियो।ट्राफिक नियम सचेतनाको लागि सारङ्गी टोलीले प्रस्तुति समेत दिएको थियो। पछिल्ला दिनमा यो सडकखण्डमा दुर्घटना धेरै हुने र लेन अनुशासनको समेत पालना नहुने देखिएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले यो नियम लागू गरेको हो।

यो सडकखण्डमा स्पिड लिमिट ५० भन्दा माथि भए ट्राफिक प्रहरीले जरिवाना गर्दै आएको छ।सचेतनाका लागि प्ले कार्ड सबै नागरिकलाई लेन प्रयोगसम्बन्धी जानकारीका ३० भन्दा बढी जानकारीमूलक बोर्डहरू राखिएका छन् । उक्त सडकखण्डका चोकमा लेन प्रयोगसम्बन्धी प्ले कार्डसहित ट्राफिक प्रहरीले जानकारी समेत दिइरहेका छन्।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले सडक सुरक्षा र त्यसको प्रयोग सम्बन्धी सबै स्थानीय तहलगायत अन्य सरोकारवाला निकायलाई जिम्मेवारपूर्ण नियम पालना गर्न ट्राफिक प्रहरी खट्टाइएको बताए।नियम नमान्ने सवारीसाधनलाई ट्राफिक प्रहरीले एक हजार पाँचसयसम्म जरिवाना गर्न सक्नेछ र सोभन्दा बढी भएमा यातायात व्यवस्था कार्यालयमार्फत कारबाही हुने उनले बताए।

Related Articles

Back to top button
Close