समाचार

‘मरे पनि आफ्नै देशमा मर्छु’ भन्दै फर्किए नेपाली

भारतको विहारस्थित पूर्णियाको कम्प्यूटर पसलमा काम गर्दै आएका मोरङ बेलबारीका राजेश मिश्रा एक महिनाका लागि शुक्रबार घर फर्किए। गत दसैंमा घर आएका राजेश अर्को दसैंमा मात्रै घर आउने तयारीमा काममा गएका थिए तर कोरोना भाइरसको संक्रमण भारतमा समेत बढ्न थालेपछि उनी घर फर्किएका हुन्।

विराटनगरस्थित शुक्रबार जोगवनी नाकामा भेटिएका राजेशले भने, ‘भारतमा भाइरस फैलँदैछ, के थाहा आफूलाई पनि लागे न घर भेटिन्छ न त परिवार नै, मरे पनि घरमै मर्न पाइयोस् भनेर बिदा लिएर घर आएको हुँ।’ संक्रमण घटे एक महिनापछि काममा फर्कने नत्र कामै छोडिदिने उनी बताउँछन्। ‘भारतभन्दा नेपाल सुरक्षित लाग्यो, नेपालमा संक्रमण देखिएको छैन, बिरामी भइहाले पनि परिवारसँग भइन्छ’, उनले भने।

राजेशजस्तै भारतमा रहेर मजदुरी गर्ने नेपाली अहिले धमाधम नेपाल फर्कदैछन्। प्रदेश १ को सीमा नाका भएर नेपाल फर्कर्नेको लर्को देख्दा दसैं तिहारको जस्तो झल्को आएको विराटनगर ८ का स्थानीय सुरज पौडेल बताउँछन्। ‘जोगवनी समान किन्न गएको, बाटोमा फर्कनेको लाइन, त्यो पनि रेल आएको समयमा त यो ठाउँमा खुट्टा टेक्ने ठाउँसमेत हुँदैन’, उनले भने, ‘कोरोनाको डरले धेरै नेपाली काम छाडेर स्वदेश फर्किए।’

Related Articles

Back to top button
Close