समाचार

विदेशबाट नेपाल आउने सबैले १४ दिन अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने

काठमाडौँ । कोरोना भाइरसले संसारलाई आक्रान्त पारेपछि नेपालले पनि यसको सम्भावित जोखिम रोक्न भन्दै सतर्कता अपनाउन थालेको छ ।सरकारद्धारा गठित उच्चस्तरीय समन्वय समितिकाे बिहीबार बसेको बैठकले विदेशबाट आउने सबैलाई क्वारेन्टाइनमा बस्न निर्देशन दिएको छ। मार्च १४ तारिख शनिबारदेखि स्वदेश फर्कने नेपाली, गैरआवासीय नेपाली र विदेशीहरुले १४ दिनसम्म अनिवार्य रुपमा सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने भएको हो ।सरकारले सेल्फ वा होम क्वारेन्टाइनमा बस्ने के गर्ने, के नगर्ने भनेको छैन ।

तर, विश्वभर यसको मापदण्ड एउटै हुन्छ ।जनस्वास्थ्य विज्ञ समीरमणि दीक्षितका अनुसार होम क्वारेन्टाइनमा बस्नेहरुले अनिवार्यरुपमा सर्जिकल मास्क लगाउनुपर्छ । यसले हाँच्छ्यू गर्दा जीवाणुहरु अन्य व्यक्तिसम्म पुग्न पाउँदैन ।विश्वव्यापी ट्रेण्ड र मृत्युको तथ्यांक हेर्दा विशेष गरी ६० वर्षमाथि र विभिन्न दीर्घरोगसँग लडिरहेकाहरु कोरोना संक्रमित भएको देखिएको छ । सोही कारण होम क्वारेन्टाइनमा बस्नेहरु दीर्घरोगी र ६० वर्ष कटेका मानिसहरुको नजिक जान नहुने दीक्षित बताउँछन् ।दीक्षितका अनुसार होम क्वारेन्टाइन बस्नेहरु छुट्टै कोठामा बस्नुपर्छ ।

शौचालय सकेसम्म छुट्टै प्रयोग गर्दा राम्रो हुन्छ । यो सम्भव नभए शौचालय गरेपछि ‘डिस–इन्फेक्सन स्प्रे’ छर्किनुपर्छ । हात धुने साबुन र स्यानिटाइजर पटक–पटक प्रयोग गरिरहनुपर्छ ।परिवारका अन्य सदस्यहरु क्वारेन्टाइनमा बसेको मानिस भन्दा ६ फिट टाढा बस्नुपर्छ ।कोठामा खाना लगिदिने मानिसले मास्क लगाएर जानुपर्छ भने क्वारेन्टाइनमा बस्नेहरुले छुट्टै भाडा प्रयोग गर्नुपर्छ ।चिकित्सकहरुका अनुसार कोरोना संक्रमण भयो भने सास फेर्न गाह्रो हुने तथा ज्वरो आउने हुन्छ । निरन्तर खोकी लाग्ने तथा खकार आउने हुन सक्छ ।

क्वारेन्टाइनमा बस्दा निस्केको खकारलाई छुट्टै नष्ट गर्नुपर्छ । साथै कोरोनाको संक्रमण भएको शंका लागेमा चिकित्सकलाई खबर गरेर अस्पताल जानुपर्छ ।‘क्वारेन्टाइनमा बस्नेले विशेष किसिमको लुगा लगाउनुपर्छ,’ दीक्षित भन्छन्, ‘घर परिवारका अन्य सदस्यहरु पनि सचेत हुनैपर्छ ।’

Related Articles

Back to top button
Close