स्वास्थ्य/ जिबनशैली

नेपालमा ४ सय ५० जनाको कोरोना नमूना परीक्षण, एकजना संक्रमित ६ जना आइसोलेसनमा

नेपालमा कोरोना भाइरसको आशङ्कामा ४ सय ५० जनाको नमूना परीक्षण गरिएको छ । तीमध्ये अहिले ६ जना मात्रै आइसोलेसनमा रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिलेसम्म नेपालमा एक जनामा मात्रै कोरोनाको सङ्क्रमण देखिएको र उनी पनि निको भएर घर फर्केको जानकारी दिएको छ ।स्वास्थ्य मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा‍ विकास देवकोटाले ४ जना टेकु अस्पताल र २ जना पाटन अस्पतालमा आइसोलेसनमा रहेको जानकारी दिनुभयो ।

यस्तै कोरोनाको आशङ्कामा निजामती अस्पतालमा एक जना बिरामी निगरानीमा रहेको तर अहिलेसम्म परीक्षण भइनसकेको पनि मन्त्रालयले जनाएको छ ।मन्त्रालयले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को मापदण्ड अनुसार नै सङ्क्रमण रोकथाम र नियन्त्रणका काम भैरहेको जनाएको छ । पूर्वतयारीको क्रममा सङ्क्रमण फैलिन नदिन उच्च जोखिममा रहेका ८ वटा देशहरु चीन, इरान, इटाली, दक्षिण कोरिया, जापान, फ्रान्स, जर्मनी र स्पेनबाट नेपाल आउनेहरुलाई रोग नभएको प्रमाणित कागजात लिएर आउने प्रावधान अनिवार्य गरिएको छ ।

उच्च जोखिम भएका देशहरुबाट आउने सबैलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्क्रिनिङ र फारम भर्ने काम पनि लागु गरिएको प्रवक्ता देवकोटाले बताउनुभयो ।विदेशबाट आउने व्यक्तिले आफैँ क्वारेण्टाइनमा बस्नेगरी नियम पालना गर्नु पर्नेछ । सरकारले चीन र भारतसँग सिमाना जोडिएका ४३ वटा नाकामा हेल्थ डेस्क राखेको उहाँले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणको निगरानी, रोकथाम र नियन्त्रणका लागि १८ जना करारका कर्मचारी खटाउने गरी तयारी भएको स्वास्थ्य सचिव यादव कोइरालाले बताउनुभयो ।उहाँले आवश्यक आइसोलेसन कक्ष, औषधि उपकरण र जनशक्तिको अनुमानसहित योजना तयार पारेको पनि जानकारी दिनुभयो ।

शङ्कास्पद बिरामीलाई आइसोलेसनमा राख्न र आवश्यक उपचार गर्न शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र एपीएफ अस्पताललाई तोकिएको छ । अरु अस्पताललाई पनि सूचीकरण गरिसकिएको मन्त्रालयले जनाएको छ । साथै जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डाक्टर रुना झाले २ वटा ल्याब तयारी अवस्थामा रहेको जानकारी दिनुभएको छ । तयारी अवस्थामा रहेका २ वटा ल्याबमध्ये अहिले एउटा मात्रै प्रयोग ल्याइएको पनि झाले बताउनुभयो ।

Related Articles

Back to top button
Close