स्वास्थ्य/ जिबनशैली

भारतबाट आएका कोरोना भाइरस आशंका गरिएका उच्च ज्वरोका रोगी बेवारिस

स्थानीय सरकार नेपालगन्ज उपमहानगरपालिकाले सीमा नाका जमुनाहामा कोरोना भाइरस (कोविड १९) सर्भिलेन्स तथा परामर्श केन्द्र राखेको छ। उसले भेरी अस्पतालमा बिरामी रिफर गरिरहेको छ। प्रदेश सरकारको मातहतमा जिल्ला स्वास्थ्य कार्यालय छ। पश्चिमकै सबैभन्दा ठूलो भेरी अस्पताल संघीय सरकारको मातहतमा छ।

जमुनाहामा गत शनिबारयता ७ जनालाई उच्च ज्वरो रहेको पाएपछि कोरोनाको आशंकामा थप उपचारका लागि स्वास्थ्यकर्मीले भेरी अस्पतालमा रिफर गरे। कोही पनि अस्पताल गएनन्। स्थानीय तहसँग उनीहरू अस्पताल पुगे नपुगेको कुनै रेकर्ड छैन। भेरी अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयको रेकर्डमा उनीहरू उपचार गर्न पुगेको रेकर्ड नै छैन।

नेपालगन्ज सीमा नाकामा सोमबार कोरोना जाँचका क्रममा ३ जनाको तापक्रम सय डिग्री एफ (फरेनहाइट) भन्दा बढी पाइयो। भारतको चण्डीगढबाट दाङ घर फर्कंदै गरेकी सरिता पुन र हरि विश्वकर्मा, हिमाञ्चल प्रदेशको शिमलाबाट बाँके घर आएका टीका रावललाई जाँच गर्दा सयदेखि १ सय ४ डिग्री ज्वरो पाएपछि स्वास्थ्यकर्मीले नेपालगन्जको भेरी अस्पताल रिफर गरे।

गत शनिबार भारतको मुम्बईबाट आएका अछामका साढे २ वर्षका अभिषेक चलाउने र ३ वर्षीया प्रियंका चलाउने, सुर्खेतका ३ वर्षीय जितेन नेपाली र २६ वर्षीय गणेश नेपालीको पनि सय डिग्रीभन्दा बढी तापक्रम थियो। उनीहरू सबैलाई भेरी अस्पतालमै रिफर गरिएको थियो। अस्पताल प्रशासनले कोही पनि उपचार गर्न नआएको जनाएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश थापाले रिफर गरेका कुनै व्यक्ति उपचार गर्न आएको आफूलाई जानकारी नभएको बताए। उनले भने, ‘कोही आफैं उपचार गर्न आएका हुन सक्छन्। रिफर गरेर उपचार गर्न आएकोबारे मलाई कुनै जानकारी छैन।’

यस्ता बिरामीका लागि निःशुल्क उपचार वा विशेष परीक्षणको व्यवस्था छैन। मेसु थापा काठमाडौंको टेकुबाहेक कतै पनि निःशुल्क उपचारको व्यवस्था नभएको र शंकास्पद व्यक्तिको रगत जाँच टेकुमा गर्न जिल्ला स्वास्थ्य कार्यालयमार्फत् हुने बताउँछन्। जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले पनि अहिलेसम्म कोही उपचार गर्न नआएको प्रतिक्रिया दिए। उनले भने, ‘हामीले उपमहानगरपालिकालाई सम्पूर्ण जिम्मा दिएका छौं।’

उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जाँच गर्दा उच्च ज्वरो भएकालाई अस्पतालमा रिफर गरिरहेको बताए। उपमहानगरका स्वास्थ्यकर्मीले भेरीमा जानु भनेकामध्ये कोही पनि अस्पताल पुगेका छैनन्।

इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख सइ माधव रिजाल सोमबार सीमामा कोरोना जाँच गरिरहेका उपमहानगरपालिकाका स्वास्थ्यकर्मीसँग आग्रह गर्दै थिए, ‘तपाईंहरूले अस्पताल जानुस् भनेका कोही पनि अस्पताल पुगेका छैनन् भन्ने गुनासो आएको छ। प्रहरीसँग सहकार्य गरेर अस्पताल पठाउन सकिन्छ। हामीलाई खबर गर्नुहोला।’

Related Articles

Back to top button
Close