समाचार

उपचार सम्भव नभएपछि अस्पतालले अन्तिम अवस्थामा पुगेका बिरामीलाई घर फर्काउँछ । विश्वास हुनेहरू पशुपतिस्थित वैद्यकहाँ जान्छन् । यहाँ पुर्‍याइएका केही भने निको भएर खुसी हुँदै घर फिर्ता हुन्छन् ।

राजधानीको एक अस्पतालले ललितपुरका मिठाबहादुर खड्काको उपचार सम्भव नभएको भन्दै घर फर्काइदिएपछि परिवारले पशुपतिस्थित आर्यघाट सेवा केन्द्र पुर्‍याए । केन्द्रका वैद्यसँग केही दिन उपचार गरेपछि २०७४ कात्तिक १७ गते घर फर्काइयो । अस्पतालले उपचार गर्न नसक्ने भन्दै फर्काइएका खड्का अहिले स्वस्थ छन् ।

घाट वैद्यकहाँ उपचार गराउँदा खड्का ८९ वर्षका थिए । ‘त्यति वृद्ध उमेरकालाई पनि हामीले सफल उपचार गर्‍यौं,’ घाट सेवाका प्रमुख सुवर्ण वैद्यले भने, ‘अन्त उपचार गरेर केही नलागेपछि यहाँ आउँछन् । आएका मध्ये केही निको भएर फर्कन्छन् ।’

अस्पतालले घरमा फिर्ता गरिदिएको दुई दिनपछि खड्कालाई घाट वैद्यकहाँ लगिएको थियो । ‘आईसीयूमा राखेर उपचार गर्दा पनि ठिक नभएपछि परिवारको सल्लाहमा हामीले आर्यघाट सेवा केन्द्रमा ल्याएका थियौं,’ छोरा मनोहरले घाट सेवाको आगन्तुक पुस्तिकामा लेखेका छन्, ‘यहाँ ल्याएपछि सुवर्ण वैद्य बाको हेरचाह र धेरै औषधिसम्बन्धी जानकारी पाइयो । बुबालाई क्रमिक सुधार भएको र वैद्य बाको सल्लाहअनुसार घर लैजाने निर्णय गरियो ।’

नेपालगन्ज उपमहानगरपालिकाका आशा शाहलाई पनि अस्पतालले घर पठाइदिएपछि घाट सेवा लगियो । आइसीयूमा सात दिन र वार्डमा पाँच दिन राखेपछि उनलाई अस्पतालले घर लैजान सुझाव दिएको थियो । २०७५ साउन १६ मा अस्पतालले उनलाई घर पठाइदियो । परिवारको सल्लाहपछि भदौ २ गते ६८ वर्षीय शाहलाई घाट सेवा पुर्‍याइयो । केही दिनको उपचारपछि उनी घरै फर्किए । वैद्य सुवर्णका अनुसार माया मारेरआएकाहरू आफ्ना मान्छे घर फर्काएर लैजाँदा निकै खुसी हुन्छन् ।

केन्द्रका अनुसार २०६८ मा अन्तिम अवस्थाका ५ सय ७८ जना ल्याइएको थियो । त्यसमध्ये ४ सय ८१ को मृत्यु भयो भने ९७ जना घर फर्के । २०७२ वैशाखमा ३५ जना आएकोमा २८ जनाको मृत्यु भयो, ७ जना फर्किएका थिए । यस्तै, २०७५ चैतदेखि २०७६ माघसम्म यहाँ आउनेको संख्या ३ सय १२ थियो । २ सय ४२ जनाको पशुपतिमै दाहसंस्कार गरियो, ७० जना घरै फर्किए । आएका मध्ये कमैमात्र फिर्ता हुने गरेका छन् ।

Related Articles

Back to top button
Close