समाचार

तिनाउमा आएको बाढीले घर बगायो, उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको आग्रह

बुटवल, ८ असोज । अविरल वर्षाका कारण तिनाउ नदीको बहाव बढेसँगै आएको बाढीले बुटवल–१७ रानीगञ्जमा एक घर बगाएको छ । बाढीले विहीबार दिउसो सवा २ बजेको समयमा प्रेम कुमारी खाँम्चाकी टिनले छाएको १ तले ब्लकको घर बगाएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी खडक बहादुर खत्रीका अनुसार बाढीले घर बगाएपनि मानवीय क्षति भने भएको छैन । त्यस्तै, उक्त क्षेत्रमा रहेको सुकुम्बासी बस्ती पनि बाढीको उच्च जोखिममा रहेको छ ।

पाल्पाको तिनाउ गाउपालिका, रुपन्देहीको बुटवल उपमहानगर, कन्चन गाउँपालिका, सियारी गाउँपालिका, सुद्धोधन गाउँपालिका, सिद्धार्थनगर नगरपालिकालगायतका स्थानीय तहहरुलाई छुने तिनाउ किनारमा झण्डै ३० हजार बढी घरपरिवार छन् ।

तिनाउ नदीले खतराको तह नाघेपछि तिनाउ नदीको तटीय क्षेत्र र आसपासमा रहेका नागरिकहरुलाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

अहिले पनि गुल्मी, पाल्पालगायत तिनाउ नदीको मुहान क्षेत्रमा निरन्तर बाढी आइरहेको हुँदा खतरा नतरेको पूर्वानुमान शाखाको भनाइ छ ।

 

Related Articles

Back to top button
Close