समाचार

‘पूजा’का लागि भन्दै किन लगिँदैछ किशोरीहरू भारत?

मोरङ लेटाङ नगरपालिका-३ की २२ वर्षीया मनिका ढकाल सुनसरी रामधुनी नगरपालिका-५ झुम्कामा डेरा गरी बस्थिन्।उनी झुम्का बजारमा तरकारी व्यापार गर्थिन्। तर, लकडाउनयता उनको तरकारी व्यापार चौपट्ट भएको थियो।सप्तरीको विष्णुपुर गाउँपालिका-५ का २८ वर्षीय सुमितकुमार मण्डलसँग उनको तीन वर्षदेखिको चिनजान थियो। उनीहरू फेसबुकमार्फत् जोडिएका हुन्।

मेसेन्जरमा कुराकानीकै सिलसिलाबाट सुरू भएको सम्बन्धले दुवैलाई भेटघाटसम्म पुर्‍यायो। सुमितकुमार र मनिका यदाकदा सुनसरीमा भेटघाट गर्थे।आपत पर्दा मनिका सुमितलाई गुहार्थिन्। सुमितले घरीघरी पैसा दिएर सहयोग गर्ने गरेका थिए।मनिकालाई लकडाउनका कारण व्यापार प्रभावित भएपछि त्यस्तै ‘आपत’ आइलाग्यो। उनले सुमितलाई पैसा दिएर सहयोग गर्न अनुरोध गरिन्।

सुमितले आफूसँग पनि पैसा नरहेको तर, एउटा काम गरे पैसा पाइने भनेर मनिकालाई प्रस्ताव राखे- भारतको एउटा मन्दिरमा पूजा छ, त्यहाँ गएबापत् पैसा पाइन्छ।मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार सुमितले पहिला मनिकालाई नै उक्त ‘पूजा’मा सहभागी गराउन खोजे।
त्यसका लागि ५ फिट २ इन्च उचाइ हुनुपर्ने र शरीरमा चोटपटक नभएकी हुनुपर्ने बताए।

मनिकालाई आफ्नो उचाइ नाप्न लगाए। उनको उचाइ पुगेन। त्यसपछि सुमितले त्यति नै उचाइ भएकी अर्की युवती खोज्न अह्राए।अब मनिका त्यस्तो उचाइकी, शरीरमा चोटपटक नभएकी युवतीको खोजीमा लागिन्।

यहीबेला उनले सम्झिइन् ‘मामा-माइजू’।

झुम्का बसाइँको क्रममा उनले एक जोडीसँग मामा-माइजूको नाता लगाएकी थिइन्। उनीहरूकी १८ वर्षीय छोरीलाई मनिका ‘बहिनी’ भन्थिन्। मनिकाले तिनै किशोरीलालाई लैजाने योजना बनाइन्।

उनले किशोरीलाई विराटनगरमा पूजा रहेको र पूजामा एक जना कन्या खोजिएकाले जान अनुरोध गरिन्। पूजामा टीका लगाएर दक्षिणास्वरूप पाँच हजार रुपैयाँसहित नयाँ मोबाइल र एक जोर लुगा दिने भनेर फकाइन्।

मामा-माइजूको पनि सहमति लिइन्।

किशोरी मञ्जुर भएपछि मनिकाले उचाइ नाप्न असोज १ गते झुम्का बजार लिएर गइन्। त्यहाँको एक हार्डवेयर पसलमा ९० रुपैयाँमा इञ्ची टेप किनेर उनले किशोरीको उचाइ नापिन्। ती किशारी ‘योग्य’ रहेको कुरा सुमितलाई सुनाइन्।

त्यसपछि किशोरीलाई विराटनगर लैजाने प्रपञ्च रचियो। सुमित र मनिकाबीच मेसेन्जर कुराकानीमै असोज ४ गते किशोरीलाई हिँडाउने अन्तिम सहमति बन्यो।

यही योजनाअनुसार सुमित आइतबार झिसमिसै सप्तरीबाट इटहरी आइपुगेका थिए।

मनिका किशोरी लिएर बिहान सबेरै झुम्का बजारबाट अटो चढेर इटहरी हिँडिन्। इटहरीमा उनीहरूलाई पर्खिरहेका थिए, सुमित।

उनले साथमा दुई युवा लिएर आएका थिए। तीमध्ये तिलाठी कौलारी गाउँपालिका-१ का २० वर्ष प्रदीपकुमार मण्डल एक थिए। अर्का युवाको नाम खुलिसकेको छैन। उनी फरार नै छन्।

प्रहरी उपरीक्षक खड्काका अनुसार सुमितले प्रदीप र अर्का युवाको मोटरसाइकलमा मनिका र किशोरीलाई चढाएर पठाए।

उनी अर्कै मोटरसाइकलमा सीमावर्ती जोगबनी नाकामा पुगे। किशोरीलाई भारत लैजाने योजना साकार बनाउन उनी जोगबनी नाकामा आवश्यक चाँजो मिलाइरहेका थिए।

युवती आइपुगिन्। प्रदीप र अर्का युवालाई सुमितले नाकाबाट नेपालतिरै फर्काइदिए।

कोरोनाले गर्दा अहिले सीमा नाकामा कडाइ भएकाले सुमितले मनिका र ती किशोरीलाई जोगबनी नाका नजिकैको इस्लामपुरबाट भारत छिराउने योजना बनाए। यो एकीकृत जाँच चौकी नजिकैको बाटो हो।

विराटनगरमा पूजा गर्ने भनेर ल्याएकोमा भारतर्फको सीमा पुर्‍याएपछि भने किशोरी डराउन थालिन्। कहाँ लिएर गएको? भनेर मनिकालाई सोध्दा पारिसम्म जाने डराउनु पर्दैन भनी थुम्थुम्याइन्।

बोर्डर कटाएपछि उनलाई एउटा गाडीमा हालेर फारविसगञ्ज पुर्‍याइयो।

सुमितले भारतमा बस्ने भिनाजू नाता पर्ने (नाम नखुलेका) र उनका भाइ वीरेन्द्र मण्डलकहाँ पुर्‍याउने योजना बनाएका रहेछन्। दुवै भारत बिहारस्थित सहरसा जिल्ला बस्छन्। त्यहाँ निर्माणसम्बन्धी काम गर्छन्।

फारविसगञ्जमा लामो समय कुरे। तर, भिनाजू र मण्डल आइपुगेनन्। सुमितको मोबाइलमा नेपाली सिम मात्र थियो। फारविसगञ्ज पुगेपछि उनको मोबाइलमा नेटवर्क टिप्न छोड्यो।

धेरैबेरको पर्खाइपछि पनि मण्डल नआएपछि सुमितले दुवै युवतीलाई फर्काए।

‘अर्को दिन जानुपर्छ, अहिले तिमीहरू फर्क,’ सुमितले भने।

मनिका र किशोरी फर्किएर साँझ जोगबनी नाका आइपुगे। त्यहाँ प्रहरीले सोधीखोजी गर्‍यो। मनिकाले प्रहरीसामू सबै कुरा भनिदिइन्।

प्रहरी उपरीक्षक खड्काले भने, ‘ती दुवै जना युवतीलाई जिल्ला प्रहरीमा ल्याएपछि हामीले अनुसन्धान थाल्यौं। उनीहरूको कुरा सुनेपछि सुमित र प्रदीपलाई जोगबनी आसपासबाटै समात्यौं।’

किशोरी बिहार लैजाने घटनाका मुख्य योजनाकार सुमित नै हुन्।

किशोरीलाई नेपालबाट फारविसगञ्ज पुर्‍याएपछि भिनाजू र उनका भाइको जिम्मा लगाउने तयारी रहेको सुमितले बताएका छन्।
उनीहरूबीच सम्पर्क टुटेपछि किशोरीलाई जिम्मा लगाउने योजना असफल भएको देखिएको छ।

सुमितले अहिले पनि खुलेर बयान नदिएको प्रहरी उपरीक्षक खड्काले बताए।

युवतीलाई पूजामा बस्दा कालो लुगा लगाउनुपर्ने र कालो लुगाले छोप्दा डराउन नहुने भन्दै फकाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

बिहारमा ‘पूजा’का लागि युवती लैजाने घटना यदाकदा नेपालमा सार्वजनिक हुने गरेका छन्। पूजाका लागि भनेर किन त्यसरी किशोरीहरू भारत लगिँदै छ भन्ने खुलेको छैन।

तर जसरी निश्चित उचाइ पुगेका र शरीरमा खत नभएका किशोरीको खोजी हुने गरेको छ, त्यसले मानव ‘बलि’का लागि भारत लग्न कुनै खास गिरोह सक्रिय भएको आशंका प्रहरीले गरेको छ।

ती किशोरीलाई भारत पुर्‍याएबापत लाखौं रकम पाउने आशमा यो काम गरेको पक्राउ परेका सुमितले बयानमा भनेका छन्।
तर, ठ्याक्कै तोकेर रकम भनेका छैनन्।

‘किशोरीलाई पूजाको लागि भनेर बोलाउनू, उचाइ नाप्नु, महिनावारी भए-नभएको सोधिखोजी गर्नु, शरीरमा कुनै दाग नभएको हुनुपर्ने र विराटनगरमा पूजा छ भनेर बोलाएर भारततर्फ लैजानु रहस्यमय घटना देखिन्छ,’ प्रहरी उपरीक्षक खड्काले भने, ‘यसमा प्रहरीले अनुसन्धान गहन तरिकाले गरिरहेको छ, धेरै विषय खुल्न बाँकी छ।’

खड्काका अनुसार यो एक वर्षअघि विराटनगरमै भएको यस्तै घटनाको पुनरावृत्ति हो। त्यसैले, दुवै घटनाको प्रकृति र तालमेलबारे अनुसन्धान गरिरहेको खड्काले बताए।

‘एक वर्षअघि ठ्याक्कै यही तरिकाले युवती लैजान खोज्दा प्रहरीले बीचमै पक्राउ गरेपछि प्रयास असफल भएको थियो, यसपटक भारत पुर्‍याइसकेपछि गिरोहबीच तालमेल नमिल्दा यो घटना उद्घाटित भएको छ,’ खड्काले भने।

त्यो घटना एक वर्षअघि २०७६ पुस महिनाको ‍हो।

एक २२ वर्षीया युवतीलाई काठमाडौंबाट विराटनगर हुँदै बिहार पुर्‍याउने योजनामा संलग्नहरू पक्राउ परेका थिए।

महानगरीय प्रहरी परिसर काठमाडौंले झापा घर भएकी ती युवतीलाई विराटनगर पुगेर उद्धार गरेको थियो।

संलग्न समूहले ती युवतीलाई बिहारको एक मन्दिरमा लैजान खोजेका थिए। त्यहाँ लगेर तान्त्रिक पूजा गराउने योजना उनीहरूको योजना थियो।

पक्राउ पर्नेहरू नवलपरासी कावासोती हुप्सेकोट-१ मन २६ वर्षीय कृष्ण तामाङ, सप्तरी राजविराज नगरपालिका-१४ का ४० वर्षीय उमेश शाह, दाङ घोराही नगरपालिका-१० की २४ वर्षीया दिलकुमारी बुढामगर, सप्तरी सप्तकोसी नगरपालिका-११ का ३५ वर्षीय उमेश माझी, विराटनगर-८ का ५१ वर्षीय दिलीप पोद्दार, धादिङ खनियाबास गाउँपालिका-२ की ५१ वर्षीया प्रेमा तामाङ र सुनसरी गढी गाउँपालिका-१ का ३७ वर्षीय रञ्जितकुमार चौधरी थिए।

प्रेमा सीतापाइलाबाट पक्राउ परेकी थिइन्,जसले युवती खोज्ने काम गरेकी थिइन्।

सुरूमा ती युवतीलाई मोडलिङका लागि प्रस्ताव गरिएको थियो। मोडलिङका लागि छ फिट अग्लो हुनुपर्ने र शरीरमा कुनै घाउ-चोटको खत नभएको हुनुपर्ने भनी युवतीको शरीर परीक्षण गरिएको थियो।

शरीरको नाप र परीक्षणसमेत गरेपछि ती युवतीमा कोटेश्वरमा र्‍याम्पमा हिँडाउने भनिएको थियो।

दैनिक १२ हजार रुपैयाँ दिइने सर्तमा युवतीलाई मोडलिङमा समावेश गराउने भनिएको थियो।

मोडलिङका लागि तयार भएपछि उनीहरूले भारत जान प्रस्ताव गरेका थिए। भारतमा धेरै पैसा कमाइने प्रलोभन देखाएपछि युवती तयार भएकी थिइन्।

काठमाडौं बसेर मोडलिङ क्षेत्रमा काम गरिरहेकी उनलाई प्रलोभनले लोभ्याएको थियो।

युवतीको उचाइ नापेर भिडिओ विराटनगर पुगिसकेका उमेश माझीलाई पठाएकी थिइन्। उचाइमा एक इञ्च पनि तलमाथि हुन नहुने भनेर उनीहरूले फेरि शरीरको नाप लिएका थिए।

विराटनगर पुर्‍याएर उनलाई सिधै जलजलाचोकको काली मन्दिर धर्मशाखामा पुर्‍याइएको थियो। त्यसपछि बिहार लैजाने तयारी थालिएको थियो।

धर्मशालाको २०५ र २०६ नम्बर कोठा बुकिङ गरिएको थियो। धर्मशालामा पुगेपछि फेरि युवतीको शरीर जाँच गरिएको थियो।

प्रहरीका अनुसार शरीर जाँच गरेपछि उमेश र कृष्ण बाहिर निस्केर युवतीलाई सीमापारि लैजान र पूजा गराउन योजनालाई अन्तिम रूप दिन गइरहेका थिए। उनीहरूले तान्त्रिक पूजाको सामान किने। र, मोडलिङका लागि कपडा किन्न भन्दै युवतीलाई सीमा कटाउन खोजेका थिए।

राति १० बजेसम्ममा भारत पुर्‍याउने तयारी उनीहरूको थियो। प्रहरीले साढे ९ बजे नै धर्मशालाबाट उनीहरूलाई पक्राउ गरेपछि योजना विफल भयो।

उनीहरूले पूजाका लागि तयारी गरेको बुझिन्छ। उनीहरूले के पुजा गराउन खोजेका हुन्, किन गराउन खोजेका हुन् निकै ‘रहस्यमय’ थियो।

त्यहाँ पुर्‍याइएको भए युवतीको ज्यान जोखिममा पर्न सक्ने प्रहरीको आकलन छ। पूजाका लागि तयार गर्दा प्रहरीले ‘बलि’ चढाउन पो खोजिएको हो कि शंका गरेको थियो। भारतमा कतिपय भूमिगत समूहले ‘नरबली’को अभ्यास गर्छन् कि भन्ने आशंका प्रहरीको छ।

अहिलेको घटनामा पनि सोही शंका अनुसन्धानको ‘गर्भ’मा रहेको प्रहरी उपरीक्षक खड्काले बताए।

पहिलेको घटना अनुसन्धानमा संलग्न प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार ती महिलालाई ‘बलि’ चढाउनै खोजेको भन्ने अनुसन्धानबाट स्थापित हुन सकेन। तर, बिहारमा यस्ता घटना हुने गरेको र पूजा गराउने बहानामा ‘बलि’को सम्भावना चाहिँ अनुमान गर्न सकिन्छ।

प्रहरी प्रधान कार्यालयका अनुसार यो मानव बेचबिखनसम्बन्धी कसूर आकर्षित घटना हो। नेपाल प्रहरीमा मानव बेचबिखन ब्युरो नै छ।

‘पहिले-पहिले नुवाकोट र सिन्धुपाल्चोकबाट महिलाहरू बेखबिखनमा लैजाने गरिएको थियो, अहिले नाकामै माइती नेपाल र प्रहरीले कडाइसाथ चेक गर्ने गरेकाले घटना कम आउने गरेका छन्,’ प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले भने, ‘पूजापाठकै लागि लैजाने गरेको भन्ने चाहिँ एकदमै कम घटना छन्।’

प्रहरीको पछिल्लो तथ्यांकमा पूजापाठका लागि युवती बिहार लैजान खोजेका र बाहिर आएका घटना सम्भवत: यी दुई मात्र हुन्।
भारत गएर नेपाली युवतीहरू बेपत्ता भएका कतिपय घटना भने प्रहरीसम्म आइपुग्दैनन्। परिवारले पनि थाहा पाउँदैन।

अहिलेको घटनाको अनुसन्धानले थप पर्दा खोल्ने आशा प्रहरीको छ। त्यही अनुसार अनुसन्धानलाई प्रहरीले गहन रूपमा अघि बढाएको छ।

 

Related Articles

Back to top button
Close