समाचार

जागिरे श्रीमानका बेरोजगार श्रीमतीका पीडा!

पात्र १. ‘भन्छन् नि कुकुरको काम पनि छैन, फुर्सद पनि छैन मेरो जिन्दगी त्यस्तै छ। बाहिर देख्दा घरमै बस्ने त हो नि के काम छ र ? भन्नेजस्तो देखिन्छ आफूलाई भने एकैछिन फुर्सद हुँदैन’ , एक जना हाकिमकी श्रीमतीको गुनासो।केही काम परेर कहिलेकाहीँ श्रीमानको अफिसमा जाँदा उनलाई निकै खिन्न महशुस हुँदो रहेछ। घर नजिकै रहेछ अफिस। श्रीमानको केही सामान घरमा छुटे,उनैले पुर्याउने रहेछिन्।

एकदिन, श्रीमानको फाइल घरमै छुटेछ। उनले श्रीमतीलाई फाइल ल्याउन भनेछन्। जब अफिस पुगिन् हाकिम साबकी श्रीमती भनेर सबैले चाहिनेभन्दा बढी सत्कार गरेछन्। उनैलाई अप्ठ्यारो हुनेगरी।एकपटकको घटनाले भने उनको मनमा धेरै दिनसम्म बिझिरह्यो।अफिसको पेनड्राइभ घरमै बिर्सेछन् श्रीमानले, श्रीमतीलाई ल्याउन भने। जब अफिस पुगिन्, एक जना स्टाफले हाकिमलाई सोधे ‘सर म्याडम कुन अफिसमा काम गर्नुहुन्छ? श्रीमतीको मनमा चिसो पसिहाल्यो।

उनले सोचिन्, बेलैमा पढ्न पाएको भए त म पनि यो ठाउँमा हुन्थे होला नि ….। तर श्रीमानले नमज्जाले जवाफ फर्काए।‘कुनै जागिर सागिर गर्दिनन्। उनको अफिस घर जेजे भने पनि त्यही एउटा घरमात्रै हो। उनको कुनै काम छैन बस् घरमा बस्ने मात्र हो’।

यी सब कुरा सुनेपछि श्रीमती फनक्क घर फर्किइन्।त्यो घटनाले निकै सतायो उनलाई। बाटोमा मनभरि कुरा खेल्न थाले।‘जागिर गर्ने भन्दा घरमा धेरै काम हुन्छ नि। जागिर जानेले घरमा के हेर्नुपर्छ र! छोराछोरी, सासूससुरा,नन्द, भान्जी सबैको खानादेखि लुगा धुने जिम्मा,घरमा पाहुना आए सत्कार गर्ने जिम्मा, घरमा सरसफाइ गर्ने। के यी काम अफिस जानेको भन्दा बढी छैन र? बस् घरमै बस्ने मात्र हो रे ? अरूको अगाडि कसरी भन्न सकेका।

जागिरे श्रीमानका बेरोजगार श्रीमतीको पीडा सबैको मेरोजस्तै हुँदो हो कि? अरूका बुढाले कुरा बुझ्दा हुन्? केही नगरी घरमा बस्नेमात्र भए,घरको सारा काम कसरी चलेको छ ? यसको जवाफ मेरा श्रीमान जस्तै पुरूषले कसरी दिँदा हुन्?

पात्र २. तीन छोरा छोरीकी आमा अफिस जाँदिनन्। उनलाई हरेक दिन उतिकै चटारो हुन्छ। हरेक दिन बिहान चार बजे उठेदेखि रातिको दश बजेसम्म मुश्किलले एक दुई घण्टा मात्र आराम पाउँछिन् उनले।

लकडाउन अघिनै उनले आफ्नो पीडा सुनाएकी थिइन्। अहिले पो निषेधाज्ञा खुकुलो छ। स्कुलहरूले अनलाइन क्लास चलाएका छन्।

तर लकडाउनअघि त उनलाई भ्याइनभ्याइ हुन्थ्यो। बच्चालाई स्कुलको लागि तयार गर्न। त्यसपछि श्रीमानको लागि सब कुरा ठीक्क पारिदिनुपर्थ्यो। अलि ढिला भयो कि डाँको छोड्न थाल्थे।

‘आफूलाई काम गर्ने चटारो हुन्छ तर अहँ काम सघाएको कहिल्यै थाहा भएन,’ भन्थिन् उनी,‘बिहानै ओछ्यानमा दुई गिलास तातोपानी, त्यसपछि चिया, दैनिक घरमा आउने दुइटा पत्रिका पुर्याउँछु।’

श्रीमानले ती पत्रिका पढ्ने, दुई गिलास पानी र एक कप चिया खाने बाहेक अहिलेसम्म अरु काममा सघाएको थाहा छैन उनलाई।

अरूका श्रीमानले बराबरी सघाउँछन् भन्छन् मलाई त कथाजस्तै लाग्छ सुनाउँछिन् उनी।

घरको सरसफाइ, बच्चा स्कुलबाट आएपछि उनी स्याहारसुसार गर्दा दिन गएको पत्तै हुँदैन।

‘एकछिन ढाड सोझो नपारी काम गर्दा पनि घरको काम देखिँदैन। मेरो मात्रै समस्या होइन जागिरे श्रीमानका बेरोजगार श्रीमतीहरूको साझा पीडा हो यो?’

‘सानोमा पनि दिदी बहिनी आमाहरूले घरको काम गरे गर्नुपरेन, बिहेपछि मैले गर्दैछु गर्नैपर्छ भन्दिनँ तर कहिलेकाहीँ नसकेको बेलामा समेत सघाउनुपर्छ भन्ने ज्ञान छैन श्रीमानमा,’दुखेसो पोख्छिन् उनी।

काममा नसघाएकोमा कुनै गुनासो छैन तर कहिलेकाहीँ बाटोमा सँगै हिँड्दा उनका साथीभाइ भेटिँदा फ्याट्ट सोध्छन्- सर म्याडम कहाँ काम गर्नुहुन्छ नि ? नमिठो पाराले श्रीमानले जवाफ दिन्छन्, यिनको केही काम छैन घरमा बस्ने मात्रै हो।

यस्ता कुरा सुन्दा उनलाई साह्रै नमज्जा लाग्छ रे।

‘के घर बस्ने मजस्ता आइमाइको कुनै काम हुँदैन? बिहान चार बजेदेखि उठेर आधारातसम्म गरेको मेरो जस्तो काम कुनै काम होइन? जुतामोजा समेत खोजेर ठीक्क पारिदिएको चट्ट लगाएर, काम नभएकी श्रीमतीले पकाएको खाएर एउटा झोला बोकेर दश बजेदेखि पाँच बजेसम्म अफिसको कुर्सीमा बसेर आउनेको यत्रोविधि काम हुने! सयथरि काम गर्दागर्दा लखतरान हुने मजस्ता आइमाइको कुनै काम नहुने?’, उनी गुनासो पोख्छिन्।

‘हरेक काम पैसामा तुलना गर्ने हो भने बिहान चार बजेदेखि आधा रातसम्मको पारिश्रमिक कति हुन्छ? श्रीमानलाई मुख फोरेर भन्न मन छ तर जे जे भने पनि आफ्नो काम नगरी हुँदैन, घरमै बस्ने, कुनै काम नभएको भनिए पनि दिनमा मुश्किलले एक दुई घण्टा आराम पाइँदैन,’ उनले दुखेसो गरिन्।

यी प्रतिनिधि घटना मात्रै हुन्, यी पात्रजस्तै हजारौं लाखौं महिला जो घरको असल व्यवस्थापक बनेर बसेका छन्। उनीहरूको सामूहिक परिचय हुन्छ उनीहरू गृहणी हुन्। उनीहरूको अरू केही काम छैन, फगत घरमै बस्ने मात्र हो। आम महिलाहरूले पनि म गृहणी मात्र हुँ मेरो कुनै काम छैन भन्ने भावना हटाउन सक्नुपर्छ।

आयआर्जन गरिने काम मात्रै काम होइन, आर्जित रकमलाई सही ठाउँमा सही तरिकाले व्यवस्थापन गर्ने काम झनै महत्वपूर्ण हो।

पैसामा मात्रै हरेक कुराको तुलना गरिनु हुँदैन। पैसाकै कुरा गर्ने हो भने सबभन्दा बढी पारिश्रमिक यी प्रतिनिधि पात्र जस्ता महिलाहरूको हुनुपर्ने हो।

तर किन रातदिन घर परिवारकै लागि भनेर मरिमेट्दा पनि उनीहरूको कामको मूल्यांकन हँदैन ?

मेरी श्रीमती गृहणी होइनन् घरकी असल व्यवस्थापक हुन् भन्ने आँट जागिरे श्रीमानमा कहिले आउला?

पहिले आफ्नो सोच बदल्नु जरूरी छ। कामको मूल्यांकन घर होस् या अफिस दुवै ठाउँमा हुनुपर्छ।

श्रीमानले कमाएर पैसा ल्याउँछन् र खर्च टार्न सकिन्छ भने श्रीमतीले सही तरिकाले घर चलाएको भएर मात्रै आनन्दले अफिसको काम गर्न पाएकोमा जागिरे श्रीमानहरू खुसी हुन सक्नुपर्छ। ताकी भोलिका दिनमा यी महिला पात्र जस्ता अन्य कार्यालय नजाने तर घरको काममा व्यस्त हुने महिलाहरूले कुनै काम नभएको परिचय बोक्न नपरोस्।

गृहणी भन्ने परम्परागत परिभाषा परिमार्जन हुनु जरूरी छ। अमौद्रिक काममा रातदिन घोटिने आम महिलाहरूको सम्मानजनक परिचय हुनुपर्छ-गृह व्यवस्थापक।

भोलिका दिनमा कुनै जागिरे श्रीमानहरूले आफ्ना संगीसाथीको माझमा श्रीमतीको परिचय गराउँदा खिन्नता नदेखियोस्। छाती फुलाएर मेरी श्रीमती घरकी असल व्यवस्थापक हुन् भन्न सकून्।

मौद्रिक आय आर्जनमा प्रत्यक्ष संलग्नता नदेखिए पनि आफ्नो पर्दा पछाडिको भूमिका अहम् छ भन्ने कुरामा आत्मसम्मान मिलोस् महिलाहरूलाई, ताकी उनीहरूले जागिरे संगीसाथीको माझमा आफूलाई घरमै बस्ने केही काम नगर्ने वर्गमा समावेश नगरून्।

 

Related Articles

Back to top button
Close