समाचार

कोरोनाले नभई चिकित्सककाे लापरबाहीले ज्यान गएको भन्दै धर्ना

पश्चिम नवलपरासीमा राजनीतिक दलका प्रतिनिधि र केही स्थानीय तहका पदाधिकारीहरुले सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन्।नेपाली कांग्रेस नवलपरासीका उपसभापति सुवासचन्द्र गिरीको गत भदौ १ गते भएको मृत्युबारे यथार्थ छानविन गर्न माग गर्दै उनीहरुले प्रशासन गेटअगाडि धर्ना दिएका हुन्।

साउन २३ गते भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा पित्तथैलीको शल्यक्रिया गरिएका ३८ वर्षीय गिरीको भदौ १ गते मृत्यु भएको थियो।शल्यक्रियापछि कोरोना संक्रमण देखिएका गिरीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि थप उपचारको लागि ललितपुरस्थित पाटन अस्पताल लगिएको थियो।

उपचारको क्रममा भदौ १ गते पाटन अस्पतालमा उनको मृत्यु भएपछि कोरोना पुष्टि भएको थियो।तर मृतक गिरीका परिवार, आफन्त तथा शुभचिन्तकहरुले कोरोना संक्रमणबाट नभई शल्यकृया गर्दा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसले लापरवाही गरेका कारण गिरीको मृत्यु भएको दावी गर्दै छानविन गर्न माग गरेका छन्।

धर्नामा सत्तारुढ दल नेकपा, नेपाली कांग्रेससहित जिल्लामा क्रियाशिल राजनीतिक दल, प्रदेशसभा सदस्य बैजनाथ जयसवाल, जिल्ला समन्वय समितिका प्रमुख, रामग्राम नगरपालिकाका प्रमुख, उपप्रमुख, सरावल गाउँपालिकाका प्रमुख तथा नागरिक समाजका प्रतिनिधि समेत सहभागी थिए।

नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले कोरोना संक्रमण नियन्त्रणका लागि जिल्लाका राजनीतिक दल र जनप्रतिनिधिहरुको बैठकले गरेको निषेधाज्ञा निर्णय अवज्ञा गर्दै धर्नामा सहभागी हुनु गलत भएको बताए।

जिल्लामा कोरोना संक्रमितहरुको संख्या थपिँदै जान थालेपछि राजनीतिक दल, स्थानीय तहका प्रमुखसहित बसेको जिल्ला सुरक्षा समितिको बैठकको संक्रमण नियन्त्रणका लागि कुनैपनि भेला, जमघट र भिडभाड गर्ने कार्यलाई पूर्ण प्रतिबन्ध लगाउंदै निषेधाज्ञा गरेको थियो।

Related Articles

Back to top button
Close